एपीएफ तिलोत्तमा गोल्डकपको उपाधि नजिक


बुटवल ।
विभागीय टोली नेपाल एपीएफ एफसी २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
देवीनगरस्थित एन्फा टेक्निकल मैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले संकटा एफसीलाई १–० ले हराएको हो । टोलीको जितमा युवराज खड्काले गरेको गोल नै निर्णायक साबित भयो ।

दुवै टोलीले निर्धारित ९० मिनेटको खेलमा केही उत्कृष्ट अवसर बुनेका थिए । तर, फिनिसिङमा चुक्दा गोल भने निकाल्न सकिएन । त्यसपछि खेल बराबरी हुँदै टाइब्रेकरतिर अग्रसर थियो । तर, थप गरिएको ६ मिनेटको इन्जुरी समयलाई युवराजले सफलता पूर्वक सदुपयोग गर्दै खेल टाइब्रेकरमा पुग्न रोके ।

युवराजले ९४औं मिनेटमा सुजन पुलामीसँग उत्कृष्ट तालमेल मिलाएका थिए । उनको छोटो पासलाई सुजन एक्लैले पेनाल्टी बक्सनजिक पु¥याएर लामो प्रहार गरेका थिए । तर, उक्त प्रहार संकटाका गोलकिपर विशाल केसीले राम्ररी बचाउन सकेनन् ।
विशालको हातबाट बल फुत्किएसँगै रिबाउन्डमा युवराजले गोल गरेका हुन् । योसँगै एपीएफको फाइनल यात्रा सुनिश्चित भयो । ‘म्यान अफ द म्याच’ युवराजले ११ हजार १११ रुपैयाँ प्राप्त गरे ।

अब एपिएफले उपाधिका लागि ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीचको विजेतासँग खेल्ने पक्का भएको छ । यी दुईबीचको दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।