ब्लाटर र प्लाटिनीले सफाइ पाए


लन्डन, (एजेन्सी) ।
फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र यूईएफएका पूर्व अध्यक्ष मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन् ।

स्विट्जरल्याण्डको मुटेन्जस्थित एक अदालतले ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्रान्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको हो । दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए ।
पहिलो पटक २०२२ मा यी दुईजनालाई ठगीको आरोपबाट सफाइ दिइएको थियो । तर स्विट्जरल्याण्डका संघीय अभियोजनकर्ताहरूले त्यो फैसलाविरुद्ध पुनरावेदन गरेका थिए । यो मुद्दा २०१५ बाट सुरु भएको हो ।

फिफा ठगी र भ्रष्टाचारको आरोप लागेपछि यसलाई फुटबल इतिहासकै सबैभन्दा ठूलो घोटाला मानिएको थियो । त्यो घटनाले ब्लाटरलाई राजीनामा दिन बाध्य पा¥यो भने प्लाटिनीको फिफा अध्यक्ष बन्ने आस समाप्त भएको थियो । सो फैसलापछि ब्लाटरले भने, ‘अन्ततः अदालतले न्याय दिएको छ । मेरो परिवार र साथीहरूका लागि यो ठूलो खुसीको कुरा हो । म अहिले अत्यन्तै भावुक भएको छु ।’
प्लाटिनीले भने, ‘मेरो पीडा अहिले पूर्ण रूपमा समाप्त भयो । आज मेरो इज्जत फर्किएको छ । अत्यन्तै खुसी छु ।’
प्लाटिनीका वकिलले यो फौजदारी कारबाहीको लागि जिम्मेवार व्यक्तिहरूविरुद्ध कानूनी कारबाही गर्ने योजना रहेको बताएका छन् ।