देश चलाउन नजान्ने, देशको माया नभएका, जनताको माया नभएकाको हातमा देश पर्न गएकोले देश चिन्ताजनक अवस्थामा छ । देशका होनाहार युवालाई विदेशिन बाध्य यिनैले पारेका हुन् । देशमा उद्योगधन्दा, व्यापार व्यवसाय, आम्दानीका स्रोतहरु सुक्दै गएको अवस्था छ ।
देशका शिक्षित वर्गले अनुभव र पढेर सिकेका विषय विदेशमा प्रयोग गरिरहेका छन् । देशमा कुनै कलकारखाना, उद्योगधन्दा नभएकाले शिक्षित जनशक्तिले आफूले सिकेका सीप स्वदेशमा प्रयोग गर्न पाएनन् । राजनीतिक नेताहरु विदेशीको इशारामा चलिरहेका छन् । वैदेशिक नीति समान देखिँदैन । दुई देशको तरुलको रुपमा बसेको सानो देशलाई ठूला देशले थिचोमिचो गरिरहेको अवस्था छ । राजनीतिक दलका प्रमुख नेताहरु देशको मायाभन्दा विदेशी दलाली गरेर पैसा आर्जन गर्ने धन्दामा लागेको देखिन्छ ।
विभिन्न सामाजिक संघसंस्था, अदालत, प्रहरी प्रशासन, विभिन्न कार्यालयहरुलाई मुठीमा राखेर प्रमुख नेताहरुले आफू अनुकूल विभिन्न निर्णय गराइरहेका छन् । आफ्नो हैकम चलाइरहेका छन् । वडादेखि केन्द्रसम्मका जनतालाई विभिन्न प्रलोभनमा पारेर भोट बटुलिरहेका छन् । गरिब जनता आज खाए भोलि के खाऊँ भन्ने अवस्थामा छन् । त्यसैले गरिब जनता बाँच्न सक्ने अवस्थै देखिँदैन । राज्यका विभिन्न क्षेत्रहरु बिचौलियाको हातमा चलेको छ । न्याय पाउने ठाउँमा न्यायका लागि अनुरोध गर्न जाँदासम्म आर्थिक चलखेल हुन्छ । त्यसैले गरिब जनता न्यायिक क्षेत्रबाट विमुख हुनुपर्ने अवस्था छ । त्यसैले देशको अहिलेको समग्र स्थिति दयनीय र चिन्ताजनक अवस्थामा पुगेको छ ।
टोल–टोलमा गुन्डागर्दी भइरहेको अवस्था छ । देशमा सामाजिक रुपमा विकृत हुँदै गएको छ । यदि देशले राम्रो व्यवस्था पाएको भए नेपाल स्वीट्जरल्यान्ड बन्ने थियो । खालि दलहरुले प्रजातन्त्रको नाममा, व्यवस्थाको नाममा जनतालाई ठगिरहेका थिए । अब पनि जनतालाई ठग्न गणतन्त्रको वकालत गरिरहेका छन् । त्यसैले अब जनता सधैँ झुक्किने छैनन् । हामी जनतालाई जगाइरहेका छौं । राजाले अब राज्यको जिम्मेवारी सम्हाल्न अनिवार्य भयो । देशमा भ्रष्टाचार भइरहेको, जनताले आँसु बगाइरहेको, बिचौलियाहरु अझ मजबुत भएको, गरिब जनताले न्याय नपाएको, विकास निर्माण ठप्प भएको, विदेश सम्बन्ध बिग्रँदै गएको बेला पूर्वराजा ज्ञानेन्द्र सक्रिय हुनु स्वाभाविक हो, जुन अहिले भइरहेको छ । यतिखेर अधिकांश जनताको चाहना पनि यही हो ।
वास्तवमा भन्नुपर्दा पृथ्वीनारायण शाहले बाइसे, चौबीसे राज्यलाई जोडेर नेपाल निर्माण गर्नुभएको सबैलाई सर्वविविदै छ । पृथ्वीनारायण शाहको आफ्नै सन्तान हुन् पूर्वराजा ज्ञानेन्द्र । आफ्नो बाउबाजेले आर्जन गरेको देश बिग्रिन लाग्दा पूर्वराजा ज्ञानेन्द्र सक्रिय हुनु स्वाभाविकै हो । अब नेताहरुको विदेशमा रहेको सम्पत्ति राष्ट्रियकरण गरी विकास निर्माणमा लगाउनुपर्छ ।
अब गणतन्त्रका नेताहरुको हातबाट सत्ता खोस्ने दिन आउँदै छ । राजसंस्था नफर्किने कुरै छैन । अब हाम्रो आन्दोलन निर्णायकरुपमा अघि बढ्दै छ ।
जनताले चाहे भने कुनै पनि बेला राजसंस्था फर्किनेछ । राजसंस्था पुनस्र्थापित नगरी हाम्रो आन्दोलन रोकिँदैन । पूर्वराजाले इमानदारीपूर्वक जनधनको क्षति नहोस् भनेर त्यति बेला राजगद्दी त्याग्नुभएको हो । अब त्यसरी नै शान्तिपूर्णरुपमा दलहरुले उहाँलाई श्रीपेच फिर्ता दिनुपर्छ । देशका युवाशक्तिलाई यहाँ काम गर्न नसक्ने वातावरण निर्माण गर्ने र यहाँ बसेका सोझा, निमुखा जनतालाई झुक्याएर भ्रष्टाचार गरिरहेका छन् । कलकारखाना यिनैले बेचेका हुन् । जताततै अराजकता यिनैले गर्दा भएको हो । हरेक विभिन्न निकायहरुमा यिनै गणतन्त्रवादीले लुटिरहेका छन् । त्यो लुटेको सम्पत्ति मात्र खर्च गर्ने हो भने देश विकास हुने थियो ।
जनतालाई सस्तो आश्वासनमा भुलाएर देशबाट लुटेका धन स्वीट्जरल्यान्डमा राख्ने गरेको अब जनताले बुझिसकेका छन् । देशको यो अवस्थामा जनता संगठित र आन्दोलित हुनुपर्ने अवस्था छ । जबसम्म जनताले बुझ्दैनन् तबसम्म सधैँ देश र जनताको भलो चिताउने राजसंस्था फर्किदैन । तबसम्म गणतन्त्रवादीहरुले देश यसरी नै लुटिनै रहनेछन् । शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, रोजगारी क्षेत्रलाई मजबुत पार्न पनि राजासहितको व्यवस्था आवश्यक छ । अब सनातन हिन्दुहरु आन्दोलित हुन आवश्यक छ । यदि उनीहरु आन्दोलित भए भने अब देशमा राजसंस्था र हिन्दुराज्य एकैपटक पुनस्र्थापना हुनेछ ।
देशमा आउने विभिन्न मेसिन, पार्टपूर्जा, कच्चा पदार्थहरु नेपालको बोर्डरबाट भन्सार तिरेर आयात गरिन्छ । त्यही सामग्रीको बढी मूल्य पर्ने हुन्छ तर त्यही मूल्यभन्दा सस्तोमा मालसामान छिमेकी राष्ट्रबाट चोरी निकासी भएर आउँदा सस्तोमा आउने भएपछि देशका उत्पादनकर्ताहरु धराशायी हुँदै टाट पल्टेको अवस्था छ । यसै गरी देशको कृषिमा काम गर्ने देशका युवाशक्ति विदेशिइरहेका छन् । देशमा उत्पादन नभएपछि विदेशबाट ल्याउनुपर्छ । त्यसले मूल्य बढ्नु स्वाभाविक हो । त्यसमाथि विदेशी खाद्यान्न नुन, तेल, चामल, फलफूलमा समेत केमिकलको प्रयोग गरेर मिसावट गरिएको पाइन्छ । त्यसको फलस्वरुप जनतालाई विभिन्न रोग लागिरहेको छ ।
गरिब जनता नुन, तेल, चामललगायतका वस्तु किन्न सक्ने अवस्थामा छैनन् । महँगी नियन्त्रण गर्न बनेका सरकारी संयन्त्र मुकदर्शक भइरहेको देखिन्छ । युवाशक्तिको विदेश पलायन, विभिन्न क्षेत्रमा महँगो कर, नेताहरुलाई जनताप्रति माया नहुनु, भ्रष्टाचार बढ्दै जानु, नेताका नातागोताले विभिन्न ठाउँमा पेवाको रुपमा सम्पूर्ण ठाउँमा कुकृत्य गर्नु, कुनै पनि ठाउँमा अनुगमन नहुनुजस्ता कारणले देश विकास नभएको हो । शिक्षा क्षेत्र अनुसन्धानमूलक नहुनु, व्यावहारिक नहुनु र राम्रो शिक्षाका लागि विदेश जानुपर्ने र यहीँ पनि निजी स्कुल, क्याम्पसमा पढाउनुपर्ने बाध्यता रहेको छ । त्यसमाथि देश हाँक्ने दलका नेताहरुको अदूरदर्शिताका कारण देश विकास नभएको हो ।
नेपालमा उत्पादन भएका जडीबुटीहरु सस्तोमा विदेश पैठारी हुनु तर विदेशबाट महँगोमा औषधि किन्न परिरहेको छ । त्यसैले स्वदेशमै औषधिजन्य वस्तुको उत्पादन गर्न नरम नीति ल्याउनुपर्छ । प्राकृतिक उपचार र प्राकृतिक शिक्षा नेपालमै हुनु आवश्यक छ । त्यसैले राजा नआई शैक्षिक नीति फेरिएलाजस्तो देखिँदैन । त्यसो त राप्रपा स्थापनाकालदेखि राजावादी र हिन्दुवादी पार्टी हो । अरु खोलिएका पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने बुझेर नै हाम्रो विधानमा पनि यही कुरा उल्लेख गरिएको हो । अब हामी हिन्दुराज्य र राजसंस्था पुनस्र्थापना गर्न सडक र सदनबाट आन्दोलित भइरहनेछौँ । हाम्रो सम्पूर्ण संयन्त्र आन्दोलनमुखी बनाइरहेका छौं । त्यति बेला जनताको बलमा गणतन्त्र आयो ।
अब जनताकै बलमा राजासहितको प्रजातन्त्र बहाली हुँदै छ । गणतन्त्र देश र जनताको हितमा थिएन भन्ने कुरा अहिले पुष्टि भएको छ । त्यसैले राप्रपाले टोल–टोल, वडा–वडा, क्षेत्र–क्षेत्र र जिल्ला–जिल्लाका जनतालाई राजसंस्थाबारे बुझाउँदै आएको छ । अब हामी अहिले भने निर्णायक आन्दोलनमा छौं । देश र जनताको माया गर्ने, शिक्षित व्यक्ति, अनुभवले परिपूर्ण भएको, स्थानीय जनताको समस्या बुझेको, निःस्वार्थ भावनाले देश बचाउनुपर्छ भन्ने असल भावना बोकेको व्यक्ति देशलाई आवश्यक छ । हाम्रो पार्टीका नेताहरु यसमा पर्नुहुन्छ ।
राजसंस्था र सनातन हिन्दुराज्य अहिलेको अपरिहार्य आवश्यकता छ । जनताको चाहना र समय परिस्थिति पनि यही छ । त्यसै कारणले देश बचाउनका लागि राजावादी सनातन हिन्दुवादी र राष्ट्रवादीहरुलाई राप्रपाको नेतृत्वमा हुने आन्दोलनमा सरिक हुन आह्वान गरिएको हो ।
(लेखक कार्की राप्रपाको केन्द्रीय सदस्य हुनुहुन्छ ।)
प्रतिक्रिया