–दुर्गा प्रसाईं सरकारको उच्च निगरानीमा
–बुधबारदेखि नै सादा पोसाकमा प्रहरी परिचालन
–थप ४१ प्लटुन सशस्त्र प्रहरी परिचालन गरिने
–ड्रोनद्वारा दुवैतर्फबाट हुने प्रदर्शनको अनुगमन गरिने
–नियमितबाहेक १ हजार १ सय थप प्रहरी परिचालन हुने
काठमाडौं ।
गणतन्त्रवादी र राजतन्त्र पक्षधरबीच हुने प्रदर्शनमा घुसपैठ हुने सम्भावना बढेको भन्दै सरकारले सुरक्षा निकायलाई हाइ अलर्टमा राखेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले गणतन्त्रको पक्ष र पूर्वपञ्चहरूको पार्टी तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितको टोलीले राजतन्त्र पुनःस्थापनाका लागि भोलि शुक्रवार राजधानीमा गर्ने प्रदर्शनलाई मध्यनजर राख्दै सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
सरकारले गणतन्त्र पक्षधर माओवादीसहितको विपक्षी मोर्चा र पूर्वपञ्चहरूको पार्टीबाट सुरक्षा थ्रेड नभए पनि विवादास्पद मेडिकल व्यवसायी प्रसाईंले अहिलेको अवस्थालाई उत्तेजित बनाउन आफ्ना कार्यकर्ता तथा समर्थकलाई शुक्रवारको प्रदर्शनमा हतियारसहित उपस्थित हुन निर्देशन दिएकाले सुरक्षा अवस्था तयारी अवस्थामा राख्न निर्देशन दिएको बताइएको छ ।
माओवादी, एमाले हुँदै राजावादीको कित्तामा उभिएका प्रसाईंले जे पनि गर्न सक्ने भएकाले उनीहरूको हर्कतका बारेमा उच्च सुरक्षा सतर्कता अपनाउन सरकारले निर्देशन दिएको एक सुरक्षा अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।
स्थानीय प्रशासनले शुक्रवारको प्रदर्शनलाई मध्यनजर गरेर राजावादीहरूलाई तीनकुने र गणतन्त्र पक्षधरहरूलाई भृकुटीमण्डपमा प्रदर्शन गर्न अनुमति दिएको छ ।
तर, विवादास्पद मेडिकल व्यवसायी प्रसाईंले भने अहिलेको राज्यले दिएको आदेश नमान्ने र आफूहरू सीधै राजदरबारतर्फ अघि बढ्ने भएकाले जस्तोसुकै परिस्थिति आए पनि सुरक्षा निकायसँग भिड्न आफ्ना कार्यकर्ता तथा समर्थकलाई निर्देशन दिएका छन् । राजधानीको सुरक्षा अवस्थालाई मजबुत बनाउन गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । दुवै संगठनले राजधानीको शान्ति सुरक्षालाई कायम राख्न आ–आफ्नो तर्फबाट अपनाउनुपर्ने सुरक्षा सतर्कता अपनाएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा योजना बनाएर उक्त दिन हुने दुवैतर्फको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा योजना नै बनाएर आज बिहीबारबाट लागू गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले शुक्रवार हुने प्रदर्शनलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना बनेको र उक्त सुरक्षा योजना कार्यान्वयनमा आइसकेको जानकारी दिनुभयो ।
प्रदर्शनलाई मध्यजनर गर्दै नेपाल प्रहरीले बुधबारदेखि नै सादा पोसाकका प्रहरी परिचालन गरिसकेको छ भने शुक्रवारको प्रदर्शनका क्रममा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै नेपाल प्रहरीले ड्रोनद्वारा दुवैतर्फबाट हुने प्रदर्शनको अवस्थाको बारेमा अनुगमन गर्ने भएको छ । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता खनालले हिंसात्मक घटना हुन नदिन प्रहरीले सुरक्षा योजना बनाएको जानकारी दिँदै शुक्रवार नियमितबाहेक १ हजार १ सय थप प्रहरी परिचालन हुने जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बलले शुक्रवारको प्रदर्शनलाई मध्यनजर गर्दै ४१ प्लटुन सशस्त्र प्रहरी बलका अधिकृत तथा जवान सुरक्षाका लागि परिचालन हुने बताएको छ ।
सो बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले शुक्रवारको प्रदर्शनलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले थप ४१ प्लटुन सशस्त्र प्रहरी बल परिचालन गर्न लागेको जानकारी दिनुभयो ।
शुक्रवारको प्रदर्शनलाई व्यापक बनाउन पूर्वपञ्चहरू र विवादास्पद मेडिकल व्यवसायी प्रसाईंले सामाजिक सञ्जालमार्फत आतंक नै मच्चने गरी प्रचारप्रसार गरिरहेका छन् भने गणतन्त्रवादीहरूले भने आन्तरिक रूपमा आफ्ना जनसंगठनहरूलाई परिचालन गरेर शुक्रवारको प्रदर्शनलाई उत्साहित बनाउने किसिमले लागिपरेका छन् । माओवादीसहितको विपक्षी मोर्चाले राजधानीमा एक लाख जनतालाई उतार्ने घोषणा गरेको छ । बुधबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको बैठकले उक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया