पूर्व मुख्य सचिव दामोदर गौतमको मेडिसिटीमा निधन

14.66k
Shares

काठमाडौं ।

नेपालका पूर्व मुख्य सचिव दामोदरप्रसाद गौतमको मंगलबार विहान ४ बजेर १५ मिनेट जाँदा मेडिसिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । झण्डै २ बर्ष देखि लिभरको समस्यामा रहनुभएका घिमिरे दुई साता देखि मेडिसिटी अस्पतालमा उपचार गराईरहनुभएको परिवारका सदस्यले जनाएका छन् ।

स्व.गौतमको पार्थिव शरिरमा उच्च पदस्त व्यक्तित्वहरुले पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिई मंगलबारै पशुपति आर्यघाटमा हिन्दुपरम्परा अनुसार अन्त्यष्टि गरिएको परिवारका सदस्यले जनाएका छन् । उहाँले तत्कालीन सरकारी सेवामा २०१८ सालमा सेक्सन अफिसरबाट शुरु गर्नुभएको थियो । त्यस क्रममा घरेलुको निर्देशक, इलामको चियाविकासका निर्देशक, पर्यटन मन्त्रालय, वाणिज्य मन्त्रालयको सचिव, अर्थ मन्त्रालयको अतिरिक्त सचिव हुँदै नेपालमा २०४६ सालको प्रजातन्त्र आए लगतै वि.स. २०४७ साल भाद्र २० गते देखि २०४९ साल कात्तिक २० गते सम्म मुख्य सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो ।


उहाँ मुख्य सचिव हुँदा काठमाडौँ विश्वविद्यालयको ऐन २०४८ पारित गराउन मुख्यसचिवका रूपमा ठूलो भूमिका खेल्नुभएको थियो र पछि उहाँले २ वर्षसम्म भिजिटिङ प्रोफेसरका रूपमा काठमाडौँ विश्वविद्यालयको सेवा पनि गर्नुभएको थियो । ऐन पारित गराउँने क्रममा काठमाडौ विश्व विद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मालाई निकै सघाउँनुभएको कुरा डा.शर्मा बताउँनुहुन्छ ।
स्व. गौतम १९९४ साल साउन शुक्ल त्रयोदशी तिथिमा पिता तिर्थराज गौतम र माता दुर्गादेवी गौतमका पहिलो सन्तानका रुपमा बारा जिल्लाको कलैयामा जन्मनुभएको थियो । उहाँ २०५५ साल देखि २०५७ साल सम्म संयुक्त राज्य अमेरिकाका लागि नेपालको राजदूत समेत भैसक्नु भएको व्यक्तित्व हुनुहुन्थ्यो ।
स्व.गौतमका धर्मपत्नी शान्ता ढकाल गौतम, छोरा सतिष गौतम र छोरी सविता गौतम ज्ञवाली र सुस्मिता गौतम बराल हुनुहुन्छ ।