ग्याङफाइटमा अभय गोलेको मृत्यु, १६ जना पक्राउ


काठमाडौं
थप्पड हानेको विषयमा दुई युवा समूहबीच झडप हुँदा कलंकीमा एक युवाले ज्यान गुमाएका छन् ।

ढुंगेअड्डाका अभय गोेले र स्युचाटारका रोहित खड्का समूहबीच सोमबार बेलुकी एलआरआई स्कुलनजिक भएको झडपमा गोलेको ज्यान गएको हो । झडपमा परेर घाइते हुने नागढुंगा बस्ने सन्दीप भुजेल, पुरानो नैकाप बस्ने पवन तामाङ ‘चक्रे’ र चन्द्रागिरिका पासाङ शेर्पाको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिल बोहोराले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।


घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् । रोहित खड्का समूहका खड्का, विनय लामा र पर्वित श्रेष्ठले हतियार प्रहार गरेका थिए । प्रहरीले उक्त घटनामा संलग्न रहेका १६ जनालाई पक्राउ गरी मंगलवार म्याद थप गरेर अनुसन्धान शुरू गरेको छ ।

हत्यामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा आशिष श्रेष्ठ, सुजन तामाङ, राज अर्याल, डेनियल विश्वकर्मा, निश्चल ब्लोन तामाङ, सुशान श्रेष्ठ, विनय आले मगर, खेमराज बहादुर मगर, रन्जित श्रेष्ठ, सांगे तामाङ, अजित बुढाथोकी, रोहित खड्का,प्रविन झेडी, गौतम कमर जोगी, प्रवेश गुरुङ र डेबिड घले रहेका छन् । उक्त घटनामा संलग्न रहेका केही युवा भने फरार रहेका छन् । आक्रमणमा संलग्न रहेकाहरूको उमेर समूह १८ देखि २८ सम्म रहेको छ ।

पहिलेदेखि नै दुस्मनी रहेको दुई समूह एक ठाउँमा भेटियो भने एकले अर्कालाई होच्याउने, मिलेसम्म आक्रमणसमेत गर्ने गरेका थिए । दुवै समूहमा संलग्न रहेका युवाहरू मादक पदार्थ तथा लागु औषधका दुव्र्यसनी थिए । एकले अर्कालाई देख्यो की आक्रमणको धम्की दिने गरेका ती दुवै समूह भाग्दै हिँड्ने गरेका थिए । गत फागुन २९ गते फागु पूर्णिमाका दिन अभय गोलेको समूहले स्युचाटारका खड्काको समूहलाई थप्पड हानेपछि दुवै समूहबीचको विवाद तीव्र रूपमा बढ्दै गएको थियो ।
दुवै समूहले सामाजिक सञ्जाल तथा व्यक्तिमार्फत सूचना पठाएर आक्रमणको धम्की दिने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

गोलेको समूहले आफ्नो समूहलाई थप्पड हानेपछि बदला लिने दाउमा रहेका रोहित खड्काले आफ्नो समूहलाई तयारी अवस्थामा राखेको बताइएको छ । ढुंगेअड्डाका स्थायी बासिन्दासमेत रहेका गोलेले पनि आफ्नो समूहलाई तयारी अवस्थामा रहन र पर्नासाथ जस्तोसुकै अवस्था आए पनि बोलाएको ठाउँमा आउन निर्देशन दिएको बताइएको छ । मादक पदार्थ र लागु औषधको कुलतमा फसेका दुवै समूहका नाइकेले मौका कुरेर बसेका थिए । आफू कमजोर जस्तो देखिए गोले समूह भाग्ने र रोहित खड्काको समूह पनि आफू कमजोरजस्तो देखिए गोले समूहलाई छोडेर हिँड्ने गरेका थिए ।

सोमबार बिहान दुवै समूहको जम्काभेट कालु पाण्डे चोकमा भएको थियो । बिहान दुवै समूहबीच भनाभन भएपछि स्थानीयको अवरोधपछि दुवै समूह त्यहाँबाट भागेका थिए । दुवै समूहले एक अर्कालाई सिध्याउने भन्दै सोमबार बेलुकी भिड्नका लागि एलआरआई स्कुल नजिकै आउन दुवै समूहले एकले अर्कालाई चेतावनी दिएका थिए ।

बेलुकी गोले केही साथी लिएर एलआरआई स्कुल नजिक पुग्नासाथ २० जनाको ग्याङ लिएर बसेको रोहित खड्काको समूहले आक्रमण गरेको थियो । गोले समूहका साथीहरू पनि थोरै भएको र हतियारसमेत कम भएका कारण खड्का समूहले गोलेको समूहमाथि निर्मम ढंगले आक्रमण गर्दा गोलेको घटनास्थलमा नै मृत्यु भएको थियो भने गोले समूहका ३ जना सख्त घाइते भएका थिए ।