काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रोपटक नियुक्त हुनुभएका हितेन्द्रदेव शाक्यले मंगलवार अबेर पदभार ग्रहण गर्नुभएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले कुलमान घिसिङलाई बर्खास्ती गर्दै शाक्यलाई चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
मंगलवार साँझ ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काबाट नियुक्ति पत्र बुझेलगत्तै शाक्यले प्राधिकरणमा गई पदभार ग्रहण गर्नुभएको हो । यसअघि २०७७ माघ २६ गते शाक्य प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो । तर, २०७८ साउनमा सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै कुलमान घिसिङलाई नियुक्त गरेको थियो ।
करिब ३० वर्ष प्राधिकरणमा काम गर्नुभएका शाक्यले भारतको दुर्गापुर विश्वविद्यालयबाट इन्जिनियरिङ, नर्वेबाट विद्युत् प्रणाली व्यवस्थापनमा स्नातक तथा काठमाडौं विश्व विद्यालयबाट स्नातकोत्तर गरी सोही विश्वविद्यालयबाट विद्यावारिधि गरिरहनुभएको छ ।
पदभार ग्रहण गरेपछि शाक्यले अघिल्लो कार्यकालमा आफूले गर्न खोजेका काम पूरा गर्ने भन्दै पर्याप्त बिजुली रहेको भन्दै अब लोडसेडिङ नहुने दाबी गर्नुभयो । उहाँले डेडिकेटेड तथा ट्रंकलाइनसम्बन्धी विवाद अर्धन्यायिक निकायबाट समाधान आइसकेको हुँदा त्यसलाई प्राविधिक रूपमा समाधान गर्ने बताउनुभयो ।
कुलमान कानुनी उपचारमा जाने
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्ती गर्ने सरकारको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने कुलमान घिसिङको तयारी रहेको छ । नेपाल समाचारपत्रसँग संक्षिप्त कुराकानी गर्दै घिसिङले सरकारको निर्णयविरुद्ध आफू कानुनी उपचारमा जाने बताउनुभयो । अहिले आफू कानुनी परामर्शमा रहेको भन्दै उहाँले छिट्टै कानुनी उपचारमा जाने बताउनुभयो ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई बर्खास्ती गर्ने निर्णय गरेको थियो । सञ्चार माध्यमहरूमा घिसिङलाई बर्खास्ती गरेको समाचार सोमबार राति नै आए पनि सरकारले भने मंगलवार अबेरमात्रै औपचारिक जानकारी दिएको थियो । घिसिङले आगामी साउनमा आफ्नो दोस्रो कार्यकाल पूरा गर्दै हुनुहुन्थ्यो ।
डेडिकेटर फिडर र ट्रंक लाइनको महसुल बक्यौता, भारतबाट विद्युत् खरिद गर्नेलगायतका विषयमा घिसिङको सरकारसँग मतभिन्नता रहेको थियो । सोही कारण सरकारले घिसिङसँग आधा दर्जन स्पष्टीकरण सोधेको थियो ।
प्रतिक्रिया