–कार्यपालिकाको बैठकमै कुरा राख्ने चेतावनी
–सचिवालयले दुःख दिएको सबैको गुनासो
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका १३ समितिका संयोजकको सवारीसाधनमा जीपीएस जडान गरी सचिवालयका सल्लाहकारले थर्काउन थालेपछि बबाल भएको छ । समितिका संयोजकले सवारीसाधनमा चिप्स जडान गरेको जानकारी पाएपछि मेयर साह माथि आक्रोश पोखेका छन् । ३ महिनादेखि कामपाको कार्यपालिका बैठक बोलाउन नसकेका मेयर साहले सल्लाहकार लगायतलाई सवारीसाधन दिएको विषय उठेपछि आफू बच्न संयोजकलाई क–कसले गाडी प्रयोग गरेका छन् सबै देखाइदिन्छौं भनेपछि नेपाली कांग्रेस निकट समितिका संयोजकसहित २३ जना कार्यपालिका सदस्यले मेयर साहलाई कार्यपालिका बैठक बस्न दबाब दिएका छन् ।
मेयर साह र सरकारबीचको टसलका कारण कामपा चरम आर्थिक संकट परेपछि कार्यपालिका बैठक बस्न दबाब दिने तरखरमा रहेका वडाअध्यक्षलाई मेयरको सल्लाहकारले धम्की दिएपछि वडाअध्यक्षले कार्यपालिकाको बैठकमा सबै विषय उठान गर्ने भन्दै आइतबार ज्ञापनपत्र बुझाएका छन् । कामपाको कार्यपालिकामा ४२ जना सदस्य छन् । तीमध्ये नेपाली कांग्रेसका २३, एमालेका १५, सामाजवादीका २, माओवादी निकट १ र रास्वपाका १ छन्् । तीमध्ये हिजो वडाअध्यक्षले मात्र ज्ञापनपत्र बुझाएका हुन् ।
करोडौंको बजेट चलाउन पाउने अधिकार बोकेका वडाअध्यक्षलाई कामपाको विषयगत समितिका संयोजकको हैसियतमा आधा करोड पर्ने विद्युतीय र अन्य सवारीसाधन उपलब्ध गराएका छन् । सवारीसाधनको दुरुपयोगको विषयमा करिब एक महिनाअघि नेपाल समाचारपत्रले समाचार प्रकाशित गरेको थियो । सवारीसाधन प्रयोग गरेको विषयमा आलोचना भइरहेका बेला मेयर सचिवालयका सल्लाहकारले वडाअध्यक्षमाथि नै आक्रोश पोखेका थिए । सोही विरोधमा वडाअध्यक्षले मेयर साहसँग आक्रोश पोख्दै कार्यपालिका बैठक बोलाउन माग गरेका छन् ।
एमाले निकट वडाअध्यक्षले सो विषयमा कुरा उठाइरहेका थिए, नेपाली कांग्रेस निकट अध्यक्षले ज्ञापनपत्र बुझाए । सबै वडाअध्यक्षले किन एकजुट हुन नसकेको हो भन्ने प्रश्नमा एक एमाले वडाअध्यक्षले भने– ‘हामीले मेयर साहको अनियमितताको विषयमा शुरूदेखि नै प्रश्न उठाएका छौं । अहिले नेपाली कांग्रेसका अध्यक्षज्यूहरूले ज्ञापनपत्र बुझाउनुभएको हो ।’ स्रोतका अनुसार मेयर साहलाई तत्काल कार्यपालिकाको बैठक राख्ने चुनौती छ । हरेक महिनामा राखिनुपर्ने बैठक मेयर साहले राख्न सकेका छैनन् ।
उल्टै सरकार, आफ्नै कर्मचारी र आवश्यकता नभएको विषयमा स्टाटस लेख्दै आलोचना गरेका छन् । आफ्नो गल्ती जोगाउन र नियमकानुनमा नभएको विषयमा मेयरले वडाअध्यक्ष खुसी पार्न समितिका संयोजकलाई सवारीसाधन उपलब्ध गराएका हुन् । १३ विषयगत समितिमध्ये ४ जना संयोजकले सुविधाको सवारीसाधन चढ्न इन्कार गरेका छन् । बाँकी ९ जनाले सुविधा लिएका छन् ।
उच्च स्रोतकाअनुसार मेयर साहले कार्यपालिकाको निर्णय पारित गराउन, समितिमा बजेट व्यवस्थापन गर्न र आफूअनुकूल काम गराउन समितिका सभापतिलाई सवारीसाधन उपलब्ध गराएकोमा आलोचना भएको छ । अब नेपाली कांग्रेसका वडाअध्यक्षले सवारीसाधनमा चिप्स राखेको विषय उठान गर्नेछन् ।
स्रोतका अनुसार समितिका संयोजकबाहेक स्वकीय सचिव भूपदेव साह र मेयरका प्राविधिक सल्लाहकार सुनिल लम्सालले कामपाको सवारीसाधन प्रयोग गरिरहेका छन् । अन्य सल्लाहकारले पनि कामपाको गाडी प्रयोग गरेका छन् । तर, तथ्याङ्क छैन । लम्साल र साहले नै अधिकांश कर्मचारीलाई देखाइदिन्छौं भन्दै धम्की दिन थालेको आरोप छ । मेयर साहले नियमविपरीत वातावरण व्यवस्थापन विभागमा कर्मचारीमा नियुक्ति गरेका भारतीय नागरिक अमित चौहानले वातावरण विभागको सवारीसाधन प्रयोग गरिरहेका छन् । सूचना प्रविधि संयोजक एवं प्रवक्ता नवीन मानन्धरले पेट्रोलबाट सञ्चालन हुने निसान जिप प्रयोग गर्नुभएको छ ।
कामपा–३२ का वडा अध्यक्ष एवं राजस्व समितिका संयोजक नवराज पराजुली, सुशासन समितिका संयोजक एवं वडा नं–२६ का अध्यक्ष ख्याम तिवारी, विपद् व्यवस्थापन समितिका संयोजक एवं कामपा–३ का अध्यक्ष प्रेम थापा, भौतिक पूर्वाधार समितिका संयोजक एवं कामपा–१ का अध्यक्ष राजेशकुमार श्रेष्ठ, कृषि तथा सहकारी समितिका संयोजक एवं कामपा–९ का अध्यक्ष रामजी भण्डारी, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं कामपा–८ का अध्यक्ष आशामान संगत, सामाजिक समितिका संयोजक एवं कामपा–१० का अध्यक्ष रामकुमार केसी र वातावरण समितिका संयोजक एवं कामपा–१२ का अध्यक्ष बालकृष्ण महर्जन गरी ९ जना वडा अध्यक्षले विद्युतीय सवारीसाधन प्रयोग गरिरहेका छन् ।
सुविधा नलिने समितिका संयोजकहरूमा सहरी व्यवस्थापन समितिका संयोजक एवं कामपा–११ का अध्यक्ष हीरालाल तण्डुकार, शिक्षा र स्वास्थ्य समितिका संयोजक एवं कामपा–२२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिका संयोजक एवं कामपा–२३ का अध्यक्ष मचाराजा महर्जन र वित्त समितिका संयोजक एवं कामपा–१५ का अध्यक्ष ईश्वरमान डंगोलले सवारी सुविधा लिएका छैनन् ।
३२ मध्ये ९ जनालेमात्र सवारीसाधन सुविधा लिएर महानगरको सम्पत्ति दुरुपयोग गरेको असन्तुष्ट वडा अध्यक्षको भनाइ छ । कामपाले सवारीसाधन सुविधा नलिएका वडाअध्यक्षलाई २० लिटर पेट्रोलको व्यवस्था गरेको छ । गाडी सुविधा इन्कार गरेका संयोजकले कामपासँग कुनै पनि सुविधा लिएका छैनन् ।
सवारी साधनमा चिप्स राखेको विषय उठान भएपछि एमाले वडाअध्यक्षको धारणा सार्वजनिक गर्न उपमेयर सुनिता डंगोल कुरिरहेका छन् । उपमेयर डंगोल आज हाजिर हुने सम्भावना छ । अधिकांश समय बैठक, उद्घाटन र समापन कार्यक्रममा व्यस्त हुने डंगोलको कामप्रति एमालेकै वडाअध्यक्ष सन्तुष्ट छैनन् । कर्मचारीले समेत उपमेयरको पछिल्लो गतिविधिप्रति असन्तुष्ट जनाएका छन् । कार्यपालिका बैठक बोलाउन दबाब दिनुपर्ने उपमेयर डंगोलले बेवास्ता गरेको आरोप छ ।
प्रतिक्रिया