करोडौंको लगानी बन्यो खरानी

दाङको प्लाइ उद्योगमा भीषण आगलागी

1.41k
Shares

देउखुरी दाङ ।

दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको देशको दोस्रो ठूलो प्लाइउड तथा दाङको गौरवको उद्योगका रूपमा लिइएको गणपति भेनियर तथा प्लाइउड उद्योग (सांग्रीला प्लाई) मा आगलागी हुँदा करोडौंको क्षति भएको छ प्रारम्भिक अनुमानअनुसार आगलागीका कारण करिब ५० करोड रुपियाँभन्दा बढी क्षति भएको छ ।

आइतबार राति करिब १ बजेदेखि लागेको आगो सोमबार राती करिब करिब नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
स्थानीय गेहेन्द्र बस्नेत र जितेन्द्र बस्नेतले सञ्चालन गरेको उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छ । उद्योगमा राति विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुन्धानका क्रममा देखिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचनाअधिकारी एवम् प्रहरी नायवउपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । यद्यपि, घटना के कति कारणले भएको हो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक शाहका अनुसार आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चापदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ । उद्योगमा आगलागी भएको थाहा पाएपछि दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लामा रहेको दमकलका साथै छिमेकी जिल्लाबाट तत्काल अन्य दमकलसमेत मगाएर आगलागी नियन्त्रणको प्रयास थाल्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारीको निर्देशनलगत्तै नेपाल प्रहरीसहित नेपाली सेना र सशस्त्र प्रहरीको टोली आगो नियन्त्रणका लागि निरन्तर रूपमा खटेका थिए । प्रमुख जिल्ला अधिकारी लम्सालले आगो नियन्त्रणका लागि दाङका घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकाका तीनवटा दमकलसँगै कपिलवस्तुको शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका र बर्दियाको ठाकरुबाबा नगरपालिकाबाट दमकल मगाएर आगो नियन्त्रण गरिएको जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक शाहका अनुसार उद्योगको सबै भागमा आगोले भेटाएकाले दमकल, स्काभेटर र ट्रक्याक्टरको सहायताले आगो निभाउने प्रयास जारी छ, दिनभरको प्रयासले ८० प्रतिशतजति आगो नियन्त्रणमा आएको छ । आइतबार उद्योगमा बिदा भएको र कामदार नभएका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । शुरूदेखि नै उद्योगमा लागेको आगो नियन्त्रणसँगै उद्योग नजिकै रहेको बस्तीलाई जोगाउने प्रयास गरेको हुँदा आगो बाहिर फैलिन नपाएको शाहले जानकारी दिनुभयो ।

उद्योगले प्लाई उत्पादन गरेर देशका विभिन्न स्थानसँगै भारतमा समेत निर्यात गर्दै आएको थियो । दाङमा वैशाखयता मात्रै साना ठूला गरेर ८० भन्दा बढी आगलागीका घटना भएका छन् । जसबाट ठूलो मात्रामा क्षति भएको छ ।
१८ वर्ष पहिले स्थापना भएको उद्योगमा दैनिक ७ सय जनाले रोजगारी पाएका थिए । उत्पादित सांग्रिला प्लाइ नेपालका सबैजसो जिल्लाका साथै पछिल्लो दुई वर्षदेखि भारत र चीनमा निर्यात हुँदै आएको थियो । ७ बिगाहा क्षेत्रफलमा फैलिएको उद्योग सानो कमजोरीले क्षणभरमै खरानी बनेको छ । आफैंमा ठूलो उद्योग र त्यहाँ रहेका ज्वलनशील पदार्थ, प्लाइ, काठजन्य वस्तु, मेसिन तथा औजारहरूका कारण सल्किएको आगो निभाउन नसक्दा अकल्पनीय क्षति भएको उद्योग सञ्चालक जितेन्द्र बस्नेतले बताउनुभयो । आगलागीका कारण उद्योगीले करोडौंको कारोबार गर्ने र राज्यलाई कर तिर्ने आधार गुमाएका छन् भने प्रत्यक्ष रूपमा ७ सय जनाले रोजगारी पनि गुमाएका छन् । उद्योग आसपास रहेका दुई वटा घर र एउटा गोठमा सामान्य क्षति पुगेको छ ।
बस्तीमा क्षति हुन बचायौं: प्रजिअ कृष्णप्रसाद लम्साल

आगलागी भएको थाहा पाएलगत्तै म घटना स्थल पुगेको थिएँ । आगोले पूरा स्वरूप लिइसकेको थियो । उद्योग ठूलो क्षेत्रफलमा फैलिएका कारण सावधानीपूर्वक जिल्लामा रहेका साधन स्रोतको प्रयोग गरेर आगो निभाउने प्रयास गरियो । तत्काल छिमेकी जिल्लाबाट बाँकी दमकल मगाएर नियन्त्रणको प्रयास थाल्यौं । आगो लाग्नासाथ पहिलो कुरा त आगलागी कसरी नियन्त्रणमा लिने भन्नेमै हामी केन्द्रित भयौं । त्यसपछि आसपासका बस्ती, जोखिम क्षेत्र पहिचान गरेर सुरक्षित स्थानमा सार्ने काम भयो । बस्तीमा क्षति हुन बचायौं ।

विपदलाई एकआपसमा मिलेर सामना गर्नुपर्छ भन्ने भावनाका कारण थप क्षति हुन पाएन । विपद पूर्वतयारीका कारण पनि आगलागी नियन्त्रणको प्रयासले केही हदसम्म सफलता पाएको छ तर, जे भए पनि यो निकै ठूलो क्षति हो । यसले म निकै दुखी भएको छु । उत्पादनमूलक उद्योगमा भएको यो क्षतिले धेरै ठाउँमा असर गर्छ ।