काठमाडौं ।
सरकार र सेयरधनीलाई गुमराहमा राखेर अपि पावर कम्पनी लिमिटेडका सञ्चालकहरूले आर्थिक अनियमितता गर्दै आएको तथ्य फेला परेको छ । कम्पनीअन्तर्गतका परियोजनाहरूमा प्रयोग हुने सामग्रीहरूको आपूर्तिमा आपूर्तिकर्तासँगकोे मिलेमतोमा नक्कली भ्याट बिल प्रयोग गर्दै आएको तथ्य फेला परेको हो ।
अपि पावर कम्पनी लिमिटेडका सञ्चालकहरूले कम्पनीमा आवश्यकताभन्दा बढी सामग्री महँगो मूल्यमा खरिद गरेको देखाउने, खरिद नै नभएको सामग्री पनि खरिद विवरणमा उल्लेख गर्ने तथा नक्कली बिलबिजक प्रयोग गरेर सेयरधनीको सम्पत्ति तथा सरकारी राजस्वमा ठगी गर्ने गरेको रहस्य खुलेको हो । स्रोतका अनुसार ठगी कार्यका निम्ति सोही कम्पनीका सहायक कम्पनीहरू अपि हाइड्रो मेकानिकल्स लिमिटेड, सूर्यकेन्द्र हाइड्रो इलेक्ट्रिक लिमिटेड, इङ्वा हाइड्रोपावर लिमिटेड तथा चन्दन आइरन स्टोर्सलगायत कम्पनी तथा व्यापारिक फर्मको नाममा ठूलो मात्रामा नक्कली बिलबिजकहरू प्रयोग गर्ने गरेको पाइएको छ ।
आर्थिक वर्ष २०८०-८१ मा मात्रै यसका सञ्चालकहरूले ५करोड रुपियाँभन्दा बढीको नक्कली बिलबिजक प्रयोगमा ल्याएको स्रोतको भनाइ छ । यसका निम्ति कम्पनीका प्रबन्ध सञ्चालक सञ्जीव न्यौपानेको भूमिका बढी रहेको छ । जलविद्युत् कम्पनीको सेयरमा भित्री कारोबार(इनसाइड ट्रेडिङ) गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भई २ वर्ष कैद र ३ करोड ९८ लाख रुपियाँ जरिवानाको सजाय निर्धारण भएका हाइड्रो टाइकुन गुरूप्रसाद न्यौपानेका परिवारका सदस्यहरू कम्पनी दोहन गर्ने सन्दर्भमा अग्रस्थान रहेका छन् ।
हाल कम्पनीको अध्यक्षमा सिर्जना खड्का, प्रबन्ध निर्देशक सञ्जीव न्यौपाने तथा सञ्चालक सदस्यहरूमा द्वारिकाप्रसाद न्यौपाने, मधुसूदन कोइराला तथा मिलन खड्का रहेका छन् । तर, कम्पनीमा भने गुरु न्यौपाने र सञ्जीव न्यौपानेको हालीमुहाली हुने गरेको छ । धितोपत्र बोर्डले २०७९ पुसमा १० वर्षसम्म कुनै पनि पब्लिक कम्पनीमा सञ्चालक हुन नपाउने गरी कारबाही गरेको तथा अदालतबाट कैद सजायसमेत पाएपछि प्रत्यक्षरूपमा गुरु न्यौपाने अपि पावरमा देखिँदैनन् । तर, परिवारका सदस्यहरूलाई सञ्चालकको मोहोरा बनाएर सेयरधनीलाई डुबाउने कार्यमा भने प्रत्यक्ष संलग्नता हुने गरेको स्रोतको दाबी छ ।
न्यौपाने रिडी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको अध्यक्ष हुँदा सेयर कारोबारमा चलखेल गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा उनीमाथि सजाय भएको थियो । रिडी हाइड्रोपावरको अध्यक्ष हुँदा शुद्धीकरण निवारण ऐन २०६४ ले निषेधित गरेको कार्य गरी न्यौपानेले १ करोड ९९ लाख १० हजार २ सय ५२ रुपियाँ प्राप्त गरेको तथा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबारमा चलखेल गरेको भन्दै धितोपत्र बोर्डले न्यौपानेलाई कारबाही गरेको थियो ।
अपि पावर लिमिटेडका सञ्चालकहरूले धितोपत्र ऐनको दफा १०१ तथा, राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन पहिलो संशोधन २०५२ को दफा ४ (क), (ख) दफा २३ को उफा १, दफा २३ को उपदफा १ को (ग) अनुसार कसुरजन्य कार्य गरेको भन्दै सेयर लगानीकर्ताले नियमक निकायको ढोका ढकढक्याउँदै छन् । हजारौंं जनतालाई सेयर बिक्री गरेर अर्बांै रुपियाँ संकलन गरी परियोजनाहरू निर्माण गरेको तथा नेपाल स्कट एक्सचेन्ज (नेप्से) मा कम्पनीका सूचीकृत भएपछि कम्पनीका आर्थिकलगायतका गतिविधिहरू पारदर्शी र लगानीकर्ताप्रति जवाफदेही हुनुपर्ने हुन्छ । तर, यसका सञ्चालकहरूले निजी कम्पनीमा जस्तै हालीमुहाली गर्दै आएको सेयर सदस्यहरूको आरोप छ ।
कम्पनीका गतिविधि र आर्थिक अपचलनको आरोपका बारेमा अपि पावर कम्पनी लिमिटेडका अध्यक्ष सिर्जना खड्कासँग नेपाल समाचारपत्रले सम्पर्क गर्ने प्रयास गरे पनि खड्का सम्पर्कमा आउन चाहनुभएन । कार्यालयमा समेत सन्देश पु¥याइएर सम्पर्क गर्न खोज्दा खड्काले फोन नै उठाउनुभएन ।
प्रतिक्रिया