बाघको त्रासबाट मुक्त गरियोस्

282
Shares

करिब एक हप्तादेखि भक्तपुरको सिपाडोलमा बाघ देखा पर्न थालेको छ । केही वर्षअघि पनि यस्तो समस्या आएको सुनिएको थियो । यस समस्याले गर्दा स्थानीय बासिन्दाहरु चिन्तित भई घाम छँदै ढोका लगाई बस्नुपर्ने बाध्यता देखिएको छ ।

जाडो महिना भएको कारण बिहान ६ बजे पनि अँध्यारो नै हुने गर्छ, जसले गर्दा कलेज जाने विद्यार्थीहरु पनि डरैडरमा बस कुरेर बस्न बाध्य छन् । एकान्त बाटो, अँध्यारो वातावरण र बाघको डरले आमाबुबा पनि छोराछोरीलाई बिहान पठाउन त्रसित हुने गर्छन् ।
शहरको छेउ भए पनि गाउँको वातावरण भएको सिपाडोलमा घरपालुवा जनावर पनि छन् । त्यस्ता घरहरुले अझ बढी बाघको डर भोगेका छन् । यस्ता पीडितमध्ये एक हुन् रामकला थापा । उनी भन्छिन्, ‘घर छोडेर माइतीमा एक्लै खेती किसानी गरी गाईवस्तु पालेर धेरै वर्षदेखि बसिरहेको छु ।

पुरानो माटोको घर भएकाले ढोका पनि खासै दरिलो छैन । केही महिनाअघि चितुवाले साँझमै बाच्छो मा¥यो । अहिले पनि त्यही समस्या दोहोरिँदा यी गाईवस्तु र आफ्नो ज्यान जोगाउन गाह्रो भएको छ । वरपर नजिकै घर छैनन् ।’ खानेकुराका लागि बाघले यसरी सताइरहेको अन्य गाउँलेको भनाइ छ । बाघले आफ्ना बच्चाहरू पनि सँगै ल्याउने गरेको स्थानीय बताउँछन् । मानिस मात्र नभई कुकुरहरु पनि त्रसित छन् । अहिलेको मौसममा खेतबारीमा खासै बालीनाली लगाइँदैन । मकै छरेपछि मकैको बोट झाँगिदा झनै समस्या देखा पर्न सक्छ । समयमै बाघको नियन्त्रण हुन सके गाउँबासी डराई–डराई बस्नुपर्ने थिएन ।

यसतर्फ वडा कार्यालयको ध्यान जानुप¥यो । वन्यजन्तु प्रशासनमा गई यसबारे छलफल गर्न पनि निकै जरुरी छ । यस विषयमा सिंगो सूर्यविनायक नगरपालिकाका साथै वडा नं. ८ सिपाडोलको ध्यान जान हतार भइसकेको छ । यो समस्या समाधान हुन सके वडाबासीको डर साम्य हुने थियो ।

सूर्यविनायक न.पा.–८, सिपाडोल, भक्तपुर ।