प्रेम शब्द निकै अनौठो रहेछ । कहिल्यै नसोचेको, कहिल्यै नदेखेको मान्छे पनि आफ्नो प्राणभन्दा प्यारो हुने रहेछ । कति मान्छे त्यही प्रेममा परेर मरेका छन्, कोही प्रेम पाउन दिनरात मन्त्र जप्छन् । कोही प्रेम पाएर पागल हुन्छन्, कोही प्रेम नपाएर पागल हुन्छन् । म प्रेममा डुबेर पागल भएँ ।
खै ! कसरी परेँ म प्रेममा ? पहिलो नजर, पहिलो भेटमै प्रेम ? अचम्म लाग्छ, आज आफूले आफैँलाई देखेर । ऊ मेरो पहिलो प्रेम त हैन तर आजको दिनसम्म मैले उसलाई भुल्न पनि सकेकी छैन । यति यादगार र न्यानो छ कि, जब राति सुत्ने बेला म आँखा चिम्लन्छु उसको मुहार मेरो आँखाअघि झलल आउँछ । त्यो दिन, त्यो समय अनि उसको त्यो मुहार सम्झँदा एकमन खुशी त एकमन रुन मन लाग्छ ।
वास्तवमा उसको र मेरो भेट सामान्य थियो । मैले उसलाई प्रहरीको तालिममा भेटेकी थिएँ । पहिलो भेटमै म ऊप्रति आकर्षित भएकी थिएँ ं। उसले पनि मप्रति माया देखाउँथ्यो । छोटो समयमै उसमा म पूर्णरुपमा डुबिसकेकी थिएँ । उसले पनि मलाई आफ्नो मान्छेझैँ हक जमाउँथ्यो । यसैमा म खुशी थिएँ । दिनहरु बित्दै गए । बल्ल त्यो दिन आयो, जुन दिन उसले मलाई पूर्णरुपमा आफ्नो बनाउनका लागि प्रेम प्रस्ताव राख्यो ।
म खुशीले गदगद भएँ, मेरो खुशीको सीमा नै रहेन । कति दिनको लामो पर्खाइपछि आज बल्ल मन शान्ति भयो । दोहोरो कुरा केही नसोची मैले उसको प्रेम प्रस्ताव स्वीकार गरेँ । मायाले बाँधेको हाम्रो सम्बन्ध निकै स्वस्थरुपमा अघि बढ्यो । उसले मलाई कान्छी बूढी भन्थ्यो । म पनि त्यत्तिकै ठट्टा गरेको होला भनेर खुशी हुन्थेँ । ऊ मलाई आफ्नो काम छाडेर पनि लुकी–लुकी भेट्न आउँथ्यो । म पनि उनी कहिले आउँछ होला भनी पर्खिरहन्थेँ ।
हाम्रो प्रेमको चर्चा पूरै चौकी, साथीभाइमा थियो । साथीसँग कुरा गर्दा पनि उसको नाम आएमा मेरो मुहार निकै उज्यालो र हर्षित देखिन्थ्यो । यसरी नै हाम्रो प्रेम सम्बन्ध शुरु भएको दुई महिना भयो र हाम्रो तालिम सकिएर आ–आफ्ना घरमा फर्किसकेका थियौँ । अब उसको र मेरो भेट कम हुन थाल्यो । कुराकानी म्यासेजमै सीमित रह्यो । जतिसुकै झगडा भए तापनि म ऊसँग खुशी थिएँ र ऊ पनि । तर त्यो खुशी धेरै समयसम्म रहेन ।
एकदिन अचानक ऊबाट मलाई म्यासेज आउन बन्द भयो । मैले गरेको म्यासेज र कलको पनि केही जवाफ आएन । लगातार सम्पर्क गर्न खोज्दा पनि केही सीप लागेन । बल्लतल्ल उठेको फोनबाट पनि रुखो स्वरमा बिरामी छु, सुत्छु भनी फोन काटियो । त्यही कुराले मनमा चिसो पस्यो । त्यो दिन मेरो मन निकै निराश थियो । दिउँसोभरि मलाई उसको कुरा मनमा खेलिरहेको थियो । बेलुकीपख करिब ५ बजेतिर उसको कल आयो, भेट्नका लागि । म केही नसोची तोकिएको स्थानमा भेट्न गएँ । उसले दोहो¥याएर केही कुरा गरेन र मैले पनि केही प्रश्न गरिन । चियाघरमा चिया पिएपछि उसले मलाई घरभन्दा अलिक तलतिर पु¥याइदियो । म आफ्नो घर गएँ, ऊ आफ्नो घरतर्फ लाग्यो ।
घर पुग्दा मलाई एक युवतीको म्यासेज आएको रहेछ । ब्लक पनि गरेको रहेछ । अरु समयमा त यस्तो म्यासेजको खासै मतलब लाग्दैनथ्यो तर त्यहाँ मेरो प्रेमीको नाम रहेकाले मनमा नानाथरीका प्रश्न आउन थाले । मैले मेरो साथीलाई त्यस युवतीले यसरी म्यासेज गरेकी रहिछ भनेर सो म्यासेज फरवाड गरेँ । साथीले आफ्नै प्रोफाइलबाट त्यस युवतीलाई म्यासेज गरिछ । त्यसपछि म साथीको म्यासेज कुरेर बसेँ ।
केही समयपछि मलाई मेरो साथीले म्यासेज पठाई । उक्त म्यासेज हेरेपछि म अक्क न बक्क भएँ । मन चिसो भयो । आँखाबाट बरर आँसुका धारा बहे । जसलाई मैले आफूभन्दा बेसी माया गरेँ, जोसँग मैले आफ्नो भविष्य साचेको थिएँ, ऊ त पहिले नै विवाहित रहेछ । अघि म्यासेज गर्ने युवती उसकी श्रीमती रहिछ, जसको पेटमा ५ महिनाको बच्चा पनि रहेछ । त्यस्तो म्यासेज देख्नासाथ मैले आँखा चिम्म गरेँ ।
त्यसै–त्यसै निस्सासिएर सास फेर्न गाह्रो भयो । मन भारी भयो । तर भर्खरै म मेरो प्रेमीलाई भेटेर मात्र घरभित्र पसेकी थिएँ, फेरि उसलाई भेट्न मन लाग्यो । तर त्यस रात उसले एकपल्ट पनि सम्पर्क गरेन । मलाई पनि उसलाई कल गर्न आँट आएन । मनमा अनेक कुरा खेलिरहेको थियो । त्यसपछि उसले मलाई तीन–चार दिनसम्म पनि कल गरेन । एकदिन उसले मलाई फेरि भेट्न बोलायो । हामी भागेर जाऔँ भन्न थाल्यो । एउटी गर्भवती श्रीमतीलाई छाडेर कसरी जाने सोचेको होला ? अझै थाहा छैन । ज्यान सिरिङ्ग भएर आयो । त्यस बेला मेरा आँखा बन्द भएजस्तो भयो ।
मनमनै सोचेँ, यदि उनीहरू खुशी छैनन् भने उनीहरु छुटेको राम्रो लाग्थ्यो । यदि ऊ मलाई लिन आयो भने जान्छु भनी बसेँ । उसले मलाई बेलाबेलामा म्यासेज गरिरह्यो । मुखले तँसँग जान सक्दिन भने तापनि मन भने ऊतिरै थियो । निकै लामो समयपछि अचानक एकदिन फेरि उसको र मेरो भेट भयो । हाम्रो योजनाअनुसार भेट भएको भने थिएन ।
सो भेटमा उसले मलाई घुम्न जाऊँ भन्यो । हामी नालागुम्बा घुम्न गयौँ । त्यहाँ घुम्दा मैले आफ्नो दुःख र उसले दिएको धोकाबारे चिन्ता प्रकट गरेँ । उसले मेरो कुरा सुनेर अँधेरो अनुहार बनाउँदै पहिला नै मैले तिमीलाई भेटेको भए आज यस्तो हुने थिएन भन्यो ।
अहिले पनि म तिमीलाई त्यति नै माया गर्छु, हिँड मसँग भन्यो । त्यो कुरा सुनेपछि मलाई ऊप्रति झन् माया लागेर आयो । तर म ऊसँगै जान भनी हिम्मत गर्न सकिन । दिउँसोको ४ बजेतिर उसले मलाई मेरो घरसम्म पु¥याइदियो र ऊ फर्कियो ।
म त्यो मान्छेसँग घर आएको दिदीले देखेकी रहिछे ।
दिदीले मलाई घर छिर्नेबित्तिकै गालामा एक झापड हानी र बेस्सरी गाली गरी । अबउप्रान्त ऊसँग भेटेको, बोलेको थाहा पाएमा बाबालाई भनिदिन्छु भन्दै मलाई सम्झाई । मैले पनि त्यो कुरालाई धेरै सोचेँ । आफ्नी गर्भवती श्रीमतीलाई छाडेर जान सक्ने मान्छेले मलाई पनि छोड्न के बेर भन्ने लाग्यो । उसका लागि मनभरि रहेको त्यो माया त्यही दिनदेखि त्याग गरिदिएँ । त्यसपछि हाम्रो बोलचाल र भेटघाट कहिल्यै भएन ।
प्रतिक्रिया