१५ गतेबाट स्ववियु काम चलाउ

3.38k
Shares

–रेक्टर र विद्यार्थी कल्याण निर्देशनालयमा लागेको ताला अझै खुलेन
–शुल्क घटाउन माग गर्दै उपकुलपतिको कार्यकक्षमा तालाबन्दी
–कुलपतिको सहमतिमा निर्देशिका तयार गरेको प्रस्टोक्ति

काठमाडौं

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को उम्मेदवारी मनोनयन दर्तासँगै यही १५ गतेबाट स्ववियु कामचलाउ हुने भएको छ । अर्थात् ३ दिनपछि स्ववियु कामचलाउ हुनेछ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार निर्वाचन शुरू हुनु २१ दिनअघि स्ववियु काम चलाउ हुनेछ ।


निर्देशनालयका निर्देशक एवं निर्वाचन समितिका सदस्यसचिव प्राडा पशुपति अधिकारीले निर्वाचन निर्देशिकामा निर्वाचन हुनु २१ दिनअघि तालिका सार्वजनिक गर्ने उल्लेख थियो । सोही आधारमा २१ दिनअघि कामचलाउ भएको हो । त्रिवि कानुनी सल्लाहकार नारायण खनालका अनुसार निर्देशिकामा उल्लेख भएअनुसार २१ दिनअघिदेखि स्ववियु कामचलाउ भएको हो । ‘२१ दिनमात्र होइन कार्यतालिका सार्वजनिक भएपछि कामचलाउ भइसकेको छ’ – सल्लाहकार खनालले भन्नुभयो ।

उहाँका अनुसार कामचलाउ स्ववियुले अनिवार्य दैनिकबाहेक अन्य महत्वपूर्ण र दूरगामी असर पर्ने काम गर्न वर्जित छ ।
कार्यतालिकाअनुसार २६ गते मनोनयनपत्र वितरण गरेपछि २७ गते समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले फागुन १९ गतेदेखि चैत ५ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको हो । फागुन १९ गते दिउँसो तीनबजेसम्म संघ र संगठन र समूह दर्ता गर्ने अन्तिम समय तोकिएको छ । २१ गते मतदाता सूची प्रकाशित गरिने, २५ गते मतदाता सूचीउपर दाबी विरोध गर्ने, मतदाता सूचीउपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।


त्रिविले प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म र त्यसपछि मौन अवधि शुरू हुनेछ । मौन अवधि शुरू भएपछि उम्मेदवारले निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न निषेध गरेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा त्रिविका शिक्षाध्यक्ष एवं निर्वाचन प्रमुख रेक्टर खड्ग केसी र विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक एवं निर्वाचन समितिका सदस्यसचिव पशुपति अधिकारीको कार्यकक्षमा लागेको ताला खुलेको छैन । त्रिविले तालाबन्दी जारी राख्दा पनि निर्वाचन गराएरै छाड्ने स्पष्ट पारेको छ ।

निर्देशिका जारी भई निर्वाचन कार्यतालिका आउने अन्तिम तयारी भइरहँदा दुई अध्यक्षले शिक्षाध्यक्ष र निर्देशनालयमा तालाबन्दी गरेको हो । त्रिविले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेको छ । त्रिविका तीनैजना पदाधिकारीले कुलपति एवं प्रधानमन्त्री केपी ओली, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग पटकपटक छलफलगरी निर्देशिका र कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिकाप्रति नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को अध्यक्षको विमति छैन । तीनवटै पार्टीका केही स्ववियु सभापतिले कार्यकाल लम्ब्याउन तालाबन्दी गरेको आरोप छ । तालाबन्दी गर्ने स्ववियु सभापतिमध्ये ३ त्रिवि सभासदस्य र २ जना निर्वाचन परिषद् सदस्य हुन् । कार्यकारी परिषद् बैठकले कार्यविधि जारी गर्दै २०७९ मा निर्वाचित स्ववियु कार्यसमितिको कार्यकाल २०८१ चैत्र ४ गतेदेखि स्वतः समाप्त हुने उल्लेख छ । परिषद् सदस्यद्वयले सो विषय संशोधन गर्न माग गरेका छन् ।

कार्यविधिमा निर्धारित मितिमा कुनै कारणबस निर्वाचन स्थगित भएमा निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचन स्थगनगरी १५ दिनभित्र कुनै मिति तोकेर तोकिएको चरणबाट अघि बढाई निर्वाचन गर्नुपर्ने व्यवस्था उल्लेख छ ।
निर्देशिकाको दफा १३ को उपदफा ४ मा स्ववियु निर्वाचन सम्पन्न भएको वा नभएको दुवै अवस्थामा २०७९ मा निर्वाचित स्ववियु कार्यसमितिको कार्यकाल यही चैत ४ गतेदेखि स्वतः समाप्त भएको मानिनेछ भन्ने व्यवस्थाको विपरीत छ ।

त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियमको नियम ३४९ को ‘घ’ मा कुनै कारणले निर्धारित मितिमा निर्वाचन हुन नसकेमा त्रिवि कार्यकारी परिषद्ले बढीमा ६÷६ महिनाका लागि थप गर्न सक्ने व्यवस्था उल्लेख छ । त्रिवि निर्वाचन समितिका संयोजक एवं रेक्टर प्राडा खड्ग केसीले कार्यकारी परिषद्को बैठकले निर्णय गरी जारी गरेको कार्यविधि कार्यान्वन आइसकेको अवस्थामा परिवर्तन हुन नसक्ने बताउनुभयो ।

उता, प्राइभेट कार्यक्रममा मनोमानी ढंगेले शुल्क बढाएको विरोधमा त्रिवि विद्यार्थी संघर्ष समितिले उपकुलपति प्राडा केशरजंग बरालको कार्यकक्षमा तालाबन्दी गरेका छन् । समितिका अध्यक्ष सिकेन्द्र रोकायालगायत विद्यार्थी नेताले माग सम्बोधन नभएसम्म तालाबन्दी फिर्ता नलिने जनाएको छ । समितिले हिजो उपकुलपतिको प्रवेशद्वारमा मागपत्र टाँसेर तत्काल शुल्क नघटाए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।