काठमाडौं ।
विश्व परिदृश्यमा देखिएको पछिल्लो घटनाक्रमलाई नेपाली सेनाले नजिकबाट नियाल्दै त्यसको विश्लेषण गरी रहेको बताएको छ ।
खासगरी अमेरिकामा डोनाल्ड ट्रम्पको पुनः उदयसँगै विश्व राजनीतिक परिदृष्यमा देखिएको उतारचढावले शक्तिशाली मुलुकहरु नै विभाजित भइरहेको बेला नेपाली सेनाले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
महाशिवरात्री तथा सेना दिवसका अवसरमा जंगी अड्डामा आयोजित अन्तरक्रिया कार्यक्रममा सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले पछिल्लो विकसित घटनाक्रमलाई नेपाली सेनाले विभिन्न कोणबाट विश्लेषण गरिरहेको बताउनुभयो ।
हिजोसम्म सत्रु भनेर चिनिएका मुलुकहरू अहिले एकआपसमा मिलेर आफ्नो व्यापारलाई मजबुत बनाउन लागि अघि बढ्ने घोषणा गरेसँगै शक्ति राष्ट्रहरू विभाजित अवस्थामा पुगेका छन् । यसले विश्वलाई नै विभाजित गरेको छ । अमेरिकाको पछिल्लो निर्णयले नेपालजस्ता गरिब मुलुकहरूलाई प्रत्यक्ष रूपमा प्रभाव पारेको छ भने शक्ति राष्ट्रहरूले क्याम्प परिवर्तन गरेपछि विश्वमा अस्थिरता बढ्ने अन्तर्राष्ट्रिय विश्लेषकहरूले विश्लेषण गरिरहेका बेला नेपाली सेनाले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
नेपाली सेनाले राष्ट्रिय सुरक्षा र प्रतिरक्षा मामिलामा ‘थिंक ट्यांक’ का रूपमा काम गर्ने गरी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभरसिटी एनडीयू) सञ्चालन गर्न चाहिने विधेयकको मस्यौदा तयार भएको र केही दिनमा नै उक्त मस्यौदालाई विधेयकको रूपमा रक्षा मन्त्रालयले संसद्मा पेस गर्ने भएको छ ।
विसं २०८३ को अन्त्यबाट सञ्चालनमा ल्याउने तयारीका साथ भौतिक पूर्वाधारको निर्माण भएको र अहिलेसम्म ३० प्रतिशतभन्दा बढी काम भएको पनि सेनाले जनाएको छ । राष्ट्रिय सुरक्षा र प्रतिरक्षा सुदृढीकरण गर्न नेपालको राष्ट्रिय आवश्यता र महत्वलाई समेत ध्यान दिएर विश्वविद्यालयको परिकल्पना गरिएको सेनाले गठन गरेको कार्यदलले तयार पारेको प्रस्तावमा उल्लेख छ ।
राष्ट्रिय रणनीति, सुरक्षा तथा प्रतिरक्षा विषयमा नेपालमा नेपालमा अध्ययन नहुने भएकाले यसका लागि सेना तथा प्रहरीका उच्च अधिकारी विदेशमा नै जानुपर्ने बाध्यता छ । त्यहाँ केवल रणनीतिक तथा अपरेसनल तहमा काम गर्न सक्ने प्राविधिक जनशक्तिमात्र उत्पादन हुन्छन् ।
द्रुतमार्ग समयमा नबन्ने
नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुँदै आएको काठमाडांै–तराई मधेस द्रुतमार्ग तोकिएको समयमा पूरा नहुने भएको छ । आउँदो २०८३ सालभित्र पूरा गर्ने लक्ष्य राखिएको थियो । विभिन्न कारणले समयमा नै आयोजना सम्पन्न हुने अवस्था नदेखिएको बताइएको हो ।
सो आयोजनाका प्रमुख उपरथी कमलविक्रम शाहले तोकिएको समयका आयोजना पूरा हुने कुरामा संशय रहेको बताउनुभयो । उक्त आयोजनाको भौतिक प्रगति ३८ प्रतिशत रहेको छ । यही गतिले काम हुने हो भने अझै ६ वर्ष लाग्ने देखिन्छ ।











प्रतिक्रिया