काठमाडौं ।
नित्यनाथ सत्तलको शिलान्यास भएको छ । काठमाडौं महानगरपालिका वडा नं ८ नवाली टोलमा रहेको सत्तलको १९औँ शताब्दीमा निर्माण भएको मानिएको छ । हिजो बिहीबार पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, वडाध्यक्ष आशामान संगत, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र वडा सदस्यहरूले एकैपटक भवनका ५ ठाउँमा जग पूजा गर्नुभएको हो ।
सत्तल पुनःनिर्माणका लागि करबाहेक करिब २ करोड २७ लाख रुपियाँमा निर्माण पक्षसँग सम्झौता भएको छ । तीनतले सत्तलको पहिलो तलामा पुस्तकालय हुनेछ । दोस्रो तलालाई सामाजिक कार्य तथा भोजका लागि उपयोगमा ल्याइनेछ । तेस्रो तला अर्थात् बुइँगलमा नित्यनाथको मन्दिर स्थल रहनेछ ।
परम्परागत वादन तथा गायनजस्ता विषयमा शिक्षा लिन पहिले नित्यनाथको पूजा गर्नुपर्ने प्रचलन छ । यसरी गरिने पूजामध्ये पनि बिहीबारको पूजालाई विशेष मानिन्छ । यही मान्यताअनुसार बिहीबारको दिन पारेर शिलान्यास गरिएको हो । शिलान्यासपछि पूर्वमन्त्री थापाले महानगरपालिकाको नेतृत्वमा प्रशंशा योग्य काम भएको उल्लेख गर्नुभयो ।
‘सम्पदा संरक्षण गर्ने काममा, जन सरोकारका काममा यसअघि संघ र प्रदेश सरकारको लगानी माग्नु पथ्र्यो । अहिले महानगरपालिकाले लगानीको अभाव महसुस हुन दिएको छैन’ –उहाँको भनाइ थियो । त्यसक्रममा पशुपतिसँग स्थानीय बस्तीलाई छुट्याएर होइन । जोडेर लैजानुपर्नेमा जोड दिनुभयो ।
विसं २०९० सालको भूकम्पले जीर्ण अवस्थामा रहेको सत्तल २०३९ सालमा सुवर्ण वैद्य वडाध्यक्ष भएका बेला ढलान गरेर पुनःनिर्माण गरेको थियो । त्यसमा तला थप गरेर सन्ध्या पुस्तकालय सञ्चालन गरिएको थियो । संरचनाको पूर्वअवस्थाका विषयमा जानकारी दिँदै वडाध्यक्ष संगतले भन्नुभयो– ‘सांस्कृतिक सहरको पहिचान कायम गराउन नेपाली परम्परागत शैलीमा सत्तलको पुनःनिर्माण गर्न लागिएको हो । भवन बन्नु संरचनामात्र थपिनु होइन, यसले स्थानीय जनजीवनसँग जोडिएका सामाजिक तथा सांस्कृतिक चालचलनलाई पनि जोड्छ ।’
सत्तलको ऐतिहासिक पृष्ठभूमिका विषयमा जानकारी दिँदै सम्पदा तथा पर्यटन विभागका प्रमुख राईले निर्माण कसले गराए, किन गराए, जीर्ण भएका बेला क–कसले पुनःनिर्माण गराए भन्ने विवरण अभिलेखमा नदेखिएको बताउनुभयो । ०९० सालको भूकम्पले भत्किएर एकातिर जीर्ण भएको संरचनामात्र अभिलेखन रहेको राईले जानकारी दिनुभयो । विभागका इञ्जिनियर रूपा डंगोलका अनुसार सत्तलको हरेक तला करिब ८१३ वर्गफिट छ ।











प्रतिक्रिया