· पशुचिकित्सा परिषदको चेतावनी: विवरण नबुझाए कानुन अनुसार कारबाही गछौ
· विश्वविद्यालयमै अस्थानी कार्यक्रम
· प्रगति विवरण पेशगर्न परिषद्को अनुरोध
काठमाडौं ।
नेपाल पशु चिकित्सा परिषद्ले कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा प्राध्यापकले गरेको आन्दोलन र पछिल्लो अवस्थाको बारेमा चासो देखाएको छ । सोमबार पक्लिहवा क्याम्पसका निर्देशकसहित ७ जनाले राजीनामा दिएर पेनडाउन गरेका थिए । पेनडाउनको कारण विभिन्न तहको परीक्षा स्थगित भएको छ ।
परिषद्ले पेनडाउनको विषयबारे डीन कार्यालयलाई प्रश्न गर्दै यदि यस किसिमको परिस्थिति सिर्जना भएको हो भने के कति कारणले हो सोको ३ दिनभित्र जानकारी दिन पत्राचार गरेको छ । परिषद्ले दिएको मापदण्ड पूरा नगरे सो क्याम्पसको विषय नै खारेज हुन सक्छ । परिषद्ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्टारलाई समेत उक्त पत्रको बोधार्थ पठाएको छ । त्रिविका यसअघि र हालका पदाधिकारीकारी र डीनको कारण सो क्याम्पस लथालिङ्ग अवस्थामा छ ।
परिषद्ले भेटेनरी कार्यक्रमको स्वीकृत दिएको छ । क्याम्पसको पाठ्यक्रमलगायत सबै विषयमा स्वीकृत दिने स्थायी निकाय परिषद् हो । अस्थायी स्वीकृत दिएर संस्थानले भेटेरिनरी कार्यक्रम सञ्चालन गरिरहेको छ । परिषद्ले पठाएको पत्रमा क्याम्पसबाट परिषद्मा पेस गरेको एकेडेमी क्यालेन्डरअन्तर्गत पठनपाठन भए नभएको, विद्यार्थीको हाजिरी विवरण क्यालेन्डर परिवर्तन भए सोको प्रतिलिपि, स्वीकृत पाठ्यक्रम, कोर्स बुलेटिन र हालसम्म भएका प्रगति विवरण ३ दिनभित्र पेस गर्न अनुरोध गरेको छ ।
‘दुई कार्यक्रमको न्यूनतम मापदण्डअनुसार काम नभए वा सर्तनामाहरू उल्लंघन भएमा परिषद्को कानुनअनुसार हुने व्यहोरासमेत जानकारी गराइन्छ’ –पत्रमा उल्लेख छ । सो पत्रको आधारमा संस्थानका डीन डा. किशोर दाहालले आज शुक्रवार परिषद्का पदाधिकारीसँग छलफल गर्नुहुने भएको छ । डीन दाहालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सो विषयमा परिषद्सँग आज बैठक गर्दै छु । त्यसपछि के हुन्छ सोहीअनुसार गर्नेछौं ।’ क्याम्पसमा पेनडाउन भएका कारण डीन कार्यालयले कुनै पनि विवरण पठाउन सकेका छैनन् ।
परिषद्ले संस्थानबाट सञ्चालित दुई विषयलाई चालू शैक्षिक सत्रमा ५० जना विद्यार्थी भर्ना गरी बीभीएचसी र एएच कार्यक्रम सञ्चालन गर्न सशर्त अस्थायी मान्यता दिएको थियो । परिषद्ले माग गरेको विवरण डीन कार्यालले बुझाउन नसके कानुनअनुसार कारबाही गर्ने जनाएको छ । यसअघि परिषद्ले कार्यक्रम कार्यान्वयन तथा प्रगतिको विवरण मागे पनि हालसम्म कुनै पनि विवरण बुझाउन सकेको छैन ।
पेनडाउनको कारण भेटेनरी कार्यक्रमअन्तर्गत दोस्रो, चौथो र नवौं सप्ताहान्तको परीक्षा अवरुद्ध भएको छ भने कोर्स बुलेटिनसमेत प्रकाशित हुन सकेको छैन । त्यसै गरी स्नातकोत्तर तहको एम भीएस्सी (थेरियोजेनोलोजी) अन्तर्गतको परीक्षा स्थगित भएको छ । सो विषयको परीक्षा हिजो बिहीबार थियो । उक्त विषयको आन्तरिक मूल्याङ्कनको अंक नआएको कारण परीक्षा स्थगित भएको डीन कार्यालयले जनाएको छ । प्राध्यापकको माग पूरा नभएसम्म कुनै पनि परीक्षा सञ्चालन गर्न सक्ने अवस्था छैन ।
परिषद्ले चार दिनअघि डीन कार्यालयलाई पत्राचार गरी पक्लिहवा क्याम्पसमा देखिएको समस्याबारे जानकारी गराउँदै सोको विषयमा संस्थानलाई सोधेको थियो । डीन कार्यालयले बेवास्ता गर्दा पठनपाठन र परीक्षाको सबै कार्यक्रम बिथोलिएको छ भने संस्थानको विश्वसनियतामाथि नै प्रश्न उठेको छ ।
यही ५ गते पक्लिहवा क्याम्पसका निर्देशक र कीर्तिपुरस्थित स्नातकोत्तर तहको संयोजक निर्देशकसहित ७ जनाले सामूहिक राजीनामा दिएका थिए । माग सम्बोधन नगरेपछि सबै निर्देशकसहित सहायक क्याम्पस प्रमुख, संयोजक, तीन विभागीय प्रमुख र छात्रावास वार्डेनसहित सबै पदका प्राध्यापकले राजीनामा दिएका हुन् ।
साउन ३ र पुस २५ गते राखेको मागप्रति बेवास्ता गरेपछि आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । प्राध्यापकले चालू आर्थिक वर्षमा दुईवटा स्नातक कार्यक्रमको नयाँ भर्नाका लागि गठित भर्ना समितिमा दुईमध्ये भेटेरिनरीको शिक्षक समावेश गरी तत्काल पुनर्गठन गर्र्नुपर्ने, अध्ययन संस्थानअन्तर्गतका विकास परिषद्, विद्यापरिषद्, कार्यान्वयन र परीक्षा समिति तथा डीन, सहायक डीन, निर्देशक र संयोजकजस्ता पदीय जिम्मेवारीमा समानुपातिक प्रतिनित्वि सुनिश्चित हुनुपर्ने छन् ।
त्यस्तै, भेटेरिनरी संकायतर्फ एकमात्र विषय समितिलाई बढाएर तत्काल विषय समिति थप गर्नुपर्ने र दुरगामी महत्वसहित स्नातक र स्नातकोत्तरतह सञ्चालन गर्न भेटेरिनरी क्याम्पस स्थापना गर्नुपर्ने उल्लेख छ । पक्लिहवा क्याम्पसका प्राध्यापकले तीनैजना पदाधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।
उता, संस्थानका डीन दाहालले वार्ता गर्न पत्राचार गर्नुभएको छ । डीन दाहालले हिजो बिहीबार आन्दोलनरत पशु चिकित्सकसम्बन्धी शिक्षकहरूको नाममा पत्राचार गर्दै आन्दोलनको विषयमा आवश्यक छलफल गर्नुपर्ने भएकोले दुईजना प्रतिनिधि डीनको कार्यालयमा आउनुहुन अनुरोध गर्नुभएको छ । डीन डा. दाहालले वार्तामा बोलाएको जानकारी दिनुभयो । तर, आन्दोलनरत प्राध्यापकले डीन पक्लिहवास्थित क्याम्पसमै वार्ता गर्ने जनाएका छन् ।
‘हामी किन जाने ? डीनलाई यहीँ आएर वार्ता गरौं भनेर प्रस्ताव गरेका थियौँ, उहाँले फेरि काठमाडाैंमै आन्दोलनरत दुईजना शिक्षकमात्र आउनु भन्नुभएको रहेछ’ –आन्दोलनरत सहायक क्याम्पस प्रमुख एवं कीर्तिपुरको स्नातकोत्तर कार्यक्रमअन्तर्गत थेरियोजेनोलोजी विभाग संयोजक डा. शम्भु साहले नेपाल समाचारपत्रसँग भन्नुभयो । आन्दोलनरत पक्षले आन्दोलन गरेकै स्थानमा डीनसँग मात्र वार्ता गर्ने जनाएका छन् । मागपत्र पेस गर्दा पनि डीनसँगै वार्ता गर्ने उल्लेख गरेको स्मरण गराउँदै एक निर्देशकले भन्नुभयो– ‘हामीलाई अपहेलना गर्न दुई जनालाई मात्र काठमाडौं बोलाएको सुनेका छौं मान्दै मान्दैनौं ।’















प्रतिक्रिया