–भेप तस्करीमा संलग्नविरुद्ध ४ करोड ६६ लाखको मुद्दा
–भारतीय कपडा चोरी पैठारी गर्नेविरुद्ध ७ करोड २९ लाखको मुद्दा
–६० किलो चाँदी तस्करी गर्ने ३ विरुद्ध पनि कारबाही
–सुन तस्करीविरुद्ध पनि धमाधम करोडौंका मुद्दा
काठमाडौं ।
राजस्व छली गरेर अवैध रूपमा सुन ल्याउने र विद्युतीय चुरोट (भेप) को तस्करी गर्ने तस्करहरूको माथिसम्मकै जालो खोज्न थालिएको छ । राजस्व अनुसन्धान विभागले भेप र सुन तस्करीको जालो माथिसम्मै फैलिएको हुन सक्ने भन्दै अनुसन्धानलाई तीव्रता दिएको छ ।
यसैक्रममा विभागले बिहीबार भेपको अवैध ओसारपसारमा संलग्न रहेको भन्दै मुस्ताङका व्यवसायी घ्याप्चो गुरुङविरुद्ध ४ करोड ६६ लाख १२ हजार बिगो र बिगो बराबरको जरिवाना माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । सो तस्करीमा प्रत्यक्ष सहयोग गरेको पाइएपछि भन्सार कार्यालय मुस्ताङका कार्यालय सहयोगी टासी नर्वु गुरुङविरुद्ध मुख्य अभियुक्त घ्याप्चोलाई हुने सजायको आधा सजायको माग दाबी गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
यसै गरी विभागले बिहीबार नै भारतीय कपडा चोरी पैठारी गरी राजस्व छली गर्ने झापा भद्रपुरका सोनु कानुविरुद्ध ७ करोड २९ लाखको बिगो र बिगो बराबरको जरिमाना माग गर्दै मुद्दा दायर गरेको छ । यसै गरी विभागले बिहीबार नै ६० किलो चाँदीको अवैध ओसारपसार गरी राजस्व छली गर्ने बारा कलैया बस्ने कर्मा साहविरुद्ध ९६ लाख ६० हजार बिगो र बिगो बराबरको जरिवाना माग गर्दै उच्च अदालत जनकपुरमा मुद्दा दायर गरिएको छ ।
सोही तस्करीमा संलग्न रहेका वीरगञ्ज बस्ने शंकरप्रसाद सोनार र कलैया बस्ने इन्द्रकुमारी परियारविरुद्ध पनि राजस्व छलीमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । राजस्व छलीविरुद्ध मुद्दा दायर गर्ने क्रम बढाए पनि विभिन्नखाले हस्तक्षेप हुन सक्ने भएकाले सुन र भेप तस्करीको मुख्य योजनाकार खोज्न भने विभागका अनुसन्धान अधिकृतहरूलाई हम्मे पर्ने देखिएको छ । यद्यपि, विभागले पछिल्लो समयमा भेप र सुन तस्करी गर्नेविरुद्ध अनुसन्धान गरी मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको हो ।
विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले सुन र भेप तस्करीको जालो तोड्ने गरी अनुसन्धान केन्द्रित पारिएको दाबी गर्नुभयो । घिमिरेले सरकारका सरोकारवाला सबै निकाय तस्करी रोक्न कडाइका साथ लाग्ने हो भने तस्करीका सबै प्रकारका जालाहरू सहजै तोडिने बताउनुभयो । उहाँले भेप तस्करीविरुद्ध आक्रामक कारबाही र अनुसन्धान थालिएको जानकारी दिनुभयो । साथै विभागले पछिल्लो समय सुन तस्करी गर्नेहरूविरुद्ध पनि लगातार मुद्दा दायर गर्दै आइरहेको छ । ‘सुन र भेपका तस्करहरूलाई निस्तेज पार्न सरकारका सबै सरोकारवाला निकाय याक्सनमा उत्रनुपर्छ’ –महानिर्देशक घिमिरेले नेपाल समाचारपत्रसँग भन्नुभयो ।
विभागले केही समय अघिमात्रै ललितपुरको महालक्ष्मी नगरपालिकास्थित इमाडोलको एक गोदामबाट ८६ हजार थान भेप बरामद गरेको थियो । महानिर्देशक घिमिरेले ८६ हजार भेप बरामद भएको विषयलाई गम्भीर रूपमा लिएर अनुसन्धानलाई तीव्रता दिइएको र संलग्न पक्षको खोजतलासलाई व्यापक पारिएको बताउनुभयो । उहाँका अनुसार यस प्रकरणमा पनि अभियुक्त पत्ता लगाएर छिट्टै मुद्दा दायर गरिने छ ।
विभागले केही समयअघि पथलैयाबाट १५ हजार र बुटवलबाट ४ हजार थान भेप बरामद गरेको थियो । अहिले पनि विभिन्न स्थानमा भेप तस्करी गरी भारततर्फ पठाउने गरिएको अनुमान विभागका अनुसन्धान अधिकारीहरूले गरेका छन् । ‘तस्करहरूले नेपाललाई भेप तस्करीको ट्रान्जिट बनाउन खोजेको देखिन्छ, त्यसैले त्यसविरुद्धको अनुसन्धानलाई तीव्रता दिएका हौं’ –विभागका एक अनुसन्धान अधिकृतले नेपाल समाचारपत्रसँग भने ।
विभागका अनुसार चीनबाट मुख्यतया रसुवागढी र तातोपानी नाकामार्फत भेप आयात हुँदै आएको थियो । तर, अहिले भने तस्करहरूले कोरला नाकाको पनि प्रयोग गरेका छन् । विभागले केही समय अघिमात्रै सुन तस्करीमा संलग्न रसुवाका ५ जनाविरुद्ध १९ करोडको मुद्दा दायर गरेको थियो ।
विभागले पछिल्लो डेढ महिनामा मात्रै बिलबिजकबिना सुुन तस्करी गर्ने विभिन्न व्यक्तिहरूविरुद्ध ५० करोड ६० लाखभन्दा बढी र हदैसम्मको कैद सजायको माग दाबी लिई अन्य व्यक्तिहरूविरुद्ध पनि मुद्दा दायर गरेको थियो । यसै अवधिमा विभागले भन्सार जाँचपास भई आएका र ट्रान्सपोर्टका ढुवानी साधनको चेकजाँच गर्दा मूल्यांकन, वर्गीकरण, गुणस्तर, परिमाण, फरक पारी राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्मलाई ८ करोड ३८ लाख जरिवाना तिराइएको जनाएको छ ।











प्रतिक्रिया