काठमाडौं ।
पाकिस्तानले करिब २९ वर्षपछि आईसीसीको प्रमुख प्रतियोगिताको आयोजना गरेको छ । पाकिस्तान पछिल्लो पटक सन् १९९६ मा आईसीसी विश्वकपमा संयुक्त आयोजक राष्ट्र बनेको थियो । यसपछि सन् २००९ मा श्रीलंकाको क्रिकेट टोलीमाथि आतंकवादीको हमला भएपछि पाकिस्तानमा कुनै प्रतियोगिता आयोजना गर्न अधिकार दिएको थिएन ।
पछिल्लो पटक २०१७ मा आयोजना भएको यस प्रतियोगिता करिब ८ वर्षपछि पुनः आयोजना भयो । आईसीसीले यस पटक च्याम्पियन्स ट्रफीको आयोजना गर्ने जिम्मा गत संस्करणको विजेता पाकिस्तानलाई दियो । पाकिस्तानमा कडा सुरक्षाका साथ बुधबारदेखि च्याम्पियन्स ट्रफी शुरु पनि भइसकेको छ ।
यसमा एकदिवसीय क्रिकेटको वरियतामा शीर्ष ८ स्थान पाउने टोलीहरूको सहभागिता रहेको छ । यसमध्ये एक टोली भारतले भने पाकिस्तानमा खेल्न अस्विकार गरेको छ । जबकी भारत र पाकिस्तान एकै समूहमा परेको छ ।
भारतले पाकिस्तानमा नखेल्ने भएपछि आईसीसीले भारतका खेलहरू तटस्थ भूमि संयुक्त अरब इमिरेट्स (यूएई) मा खेलाउने भएको छ । यी दुई टोलीबाहेक अन्यमा न्युजिल्यान्ड, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अस्टे«लिया, अफगानिस्तान, बंगलादेशका टोलीहरू रहेका छन् । अफगानिस्तान च्याम्पियन्स ट्रफीमा नयाँ टोली हो ।
पाकिस्तान पराजित
बुधबारदेखि शुरु भएको च्याम्पियन्स ट्रफीमा आयोजक राष्ट्रको टोली पाकिस्तान पराजित भएको छ । कराची रंगशालामा भएको उदघाटन खेलमा पाकिस्तान न्युजिल्यान्डसँग ६० रनले पराजित भएको हो । पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २० रन बनायो । जसमा, ओपनर विल योंग (१०७) र टम लाथम (११८ नटआउट) शतक प्रहार गर्न सफल भएपछि न्युजिल्यान्डले विशाल लक्ष्य तेर्साउन सफल भयो ।
जवाफमा पाकिस्तानको टोली २ सय ६० रन बनाएर अलआउट भयो । टोलीका लागि मध्यक्रमका ब्याटर खुशदिल शाहले सर्वाधिक ६९ रन बनाए । पूर्व कप्तान बाबर आजम ६४ रन बनाएर आउट भएपछि खुशदिलले टोलीमा जित्ने आस ब्युँताए । तर, उनी आठौं विकेटको रूपमा २ सय २९ स्कोरमा आउट भएपछि पाकिस्तानको जित्ने आस सबै सकिएको थियो ।
यो हारले पाकिस्तानलाई कठिन मोडमा समेत पु¥याएको छ । यदि, भारतसँग हारेमा पाकिस्तान समूह चरणबाटै बाहिरिने संभावना बढेको छ । यस समूहमा पाकिस्तान, भारत, बंगलादेश र न्युजिल्यान्ड रहेका छन् ।











प्रतिक्रिया