रियल अन्तिम १६ मा, सिटी बाहिरियो

0
Shares

लन्डन ।

स्पेनी क्लब रियल मेड्रिड युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । बुधबार राति रियलकै मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीलाई ३–१ ले हराउँदै घरेलु टोली अन्तिम १६ मा पुगेको हो । रियललाई जिताउन फ्रेन्च स्ट्राइकर क्लियन एम्बाप्पले ह्याट्रिक गरेका थिए ।


समग्रमा रियल मेड्रिडले इंग्लिस क्लब सिटीविरुद्ध ६–३ को अग्रता बनाएको हो । सिटीकोे मैदानमा भएको पहिलो लेगमा रियल ३–२ ले जितेको थियो । यस खेलमा एम्बाप्पेले एक गोल गरेका थिए । योसँगैं एम्बाप्पेले दुई खेलमा चार गोल गरेका छन् ।
रियलले अन्तिम १६ मा स्पेनकै एट्लेटिको मेड्रिड वा जर्मनीको बायर लेभरकुसेनविरुद्ध खेल्ने छ । सिटीको भने यो च्याम्पियन्स लिगमा खराब प्रदर्शन साबित भयो । यसअघि सन् २०१२ र २०१३ को सिजनमा सिटी समूह चरणबाटै बाहिरिएको थियो । यस सिजनमा भने सिटी नकआउट चरणबाटै बाहिरियो ।

पीएसजी पनि अन्तिम १६ मा
फ्रान्सको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पनि च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनायो । पीएसजीले फ्रान्सकै क्लब ब्रेस्टमाथि दोस्रो लेगमा ७–० को जित हासिल गरेको हो । समग्रमा १०–० को अग्रता लिएको थियो । पीएसजीले अर्को चरणमा बार्सिलोना वा लिभरपुलसँग खेल्नेछ ।

पीएसजीको जितमा सातै गोल सात खेलाडीले गरेका हुन् । जसमा, ब्रादली बार्कोला र काभात्सकेलियाले पहिलो हाफमा गोल गरे । यस्तै, दोस्रो हाफमा भितिन्हा, दोउ, नुनो मेन्डिस, गोन्सालो रामोस र युवा खेलाडी सेनी मायुलुले गोल गरेका थिए ।