लोकप्रिय हास्य कलाकार तथा किरण केसी छोराका साथ चेस खेलको प्रवर्धनमा जुटेका छन्।
यसै क्रममा केसीले आफ्ना जेठो छोरा सुदीप केसीको पहलमा हालै राजधानीको थापाथलीस्थित चेसपार्कमा फ्रेन्ड्ली चेस म्याच नामक मैत्रीपूर्ण चेस प्रतियोगिता आयोजना गरे।
बौद्धिक खेल मानिने चेस प्रतियोगितामा चेस खेलका राष्ट्रिय विजेता खेलाडीदेखि बालबालिकासम्म सहभागी थिए। किरणले चेस खेलाडीलाई हौसला दिन र चेस खेलेर पनि खान पुग्छ भन्ने हौसला दिनका लागि यो खेलको आयोजना गरिएको बताए।
‘कलाकार, संगीतकार, वाद्यवादकले परिवार पाल्न सक्छन्, तर चेस खेलेर पनि परिवार पाल्न सक्छन् भन्ने हिसाबले धनराशी सहित नया तरिकाले यो कार्यक्रम आयोजना गरिएको हो’ किरणले जानकारी गराए, “५ पटकसम्म नेसनल च्याम्पियन भएका, लेडिजमा पनि फस्ट भएका, बालिबालिकामा नेसनलच्याम्पियन भएकालाई खेलाइएको छ।
किरणले आफ्नो छोरा सुदीप र छोराका साथी पारस अधिकारीको सहकार्यमा चेस जेन २ नामक चेस खेल सम्बन्धी वेबसाइट समेत तयार पारिरहेको बताए। बच्चाहरूलाई मोबाइलमा अन्य खेल खेलाउनुभन्दा चेस खेलाउन सके बौद्धिक विकास र धैर्यता रहने उनले बताए। किरण र सुदीपले चेस खेललाई पाठ्यक्रममा राख्नसमेत सरकारसँग माग गरे।
अमेरिकामा बस्दै आएका केसीका छोरा सुदीपले बुवा र साथीभाइको सहयोगमा आफूले नेपालमा चेसको प्रवर्धन थालेको बताए। ‘चेस हराएको छैन।चेसको लोकप्रियता बढ्दै गइरहेको छ।
यो धेरै खेलिने अनलाइन गेम हो र हामी चेस खेललाई प्रवर्धन गर्न आएका हौँ र हामीले आफ्नो स्टाइलले प्रवर्धन गर्दैछौँ। चेस खेलेर जीविका चलाउन चाहन्छु भनेर आएको हो’ उनले भने। समारोहमा चेस टु डटकम नामक पोर्टल पनि लन्च गरिएको थियो।
प्रतिक्रिया