आर्थिक चुनौतीका चाङलाई कसरी छिचोल्न सक्लान् ?

युवा प्रशासक उपाध्यायले सम्हाले अर्थको प्रशासनिक कमान्ड

3.67k
Shares

काठमाडौं ।

अर्थ मन्त्रालयको प्रशासनिक नेतृत्वको कमान्ड युवा प्रशासक घनश्याम उपाध्यायले सम्हाल्नुभएको छ । उपाध्यायले मंगलवार मन्त्रालयमा पदभार ग्रहण गर्दै प्रशासनिक नेतृत्वको कमान्ड सम्हाल्नुभएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव उपाध्यायलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो । सोमबार सरुवा भएका उपाध्यायले मंगलवार नै मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । त्यस क्रममा उपाध्यायलाई स्वागत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न उपाध्यायको नेतृत्वमा रहेको अर्थ प्रशासनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।


अर्थको प्रशासनिक कमान्ड सम्हालेका उपाध्यायले यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव, वागमती प्रदेशको प्रमुख सचिव तथा काठमाडौं र ललितपुरको प्रमुख जिल्ला अधिकारीको रूपमा सफलतापूर्वक भूमिका निर्वाह गरिसक्नुभएको छ । कुशल, दक्ष र इमानदार प्रशासकको छवि बनाउँदै आउनुभएका उपाध्यायले अर्थ मन्त्रालयको प्रशासनिक नेतृत्वको रूपमा आर्थिक क्षेत्रमा देखिएका संकट तथा विभिन्नखाले चुनौती निवारणका लागि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।

नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ अनुसार अर्थ मन्त्रालयको ४३ वटा कार्यजिम्मेवारी रहेका छन् । ती कार्यजिम्मेवारी अनुसार काम गर्दै सबल, वित्तीय र आर्थिक व्यवस्थापनको माध्यमद्वारा दिगो फराकिलो तथा उच्च दरको आर्थिक वृद्धि हासिल गरी समग्र अर्थतन्त्रको क्षमता अभिवृद्धि गर्ने तथा समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने गरी अर्थतन्त्र सुधारका लागि अहोरात्र खट्नुपर्ने चुनौती उपाध्यायको काँधमा आएको छ ।


अर्थतन्त्रको संरचना, सार्वजनिक खर्च, बैंकिङ क्षेत्र, बाह्य क्षेत्र र अर्थतन्त्रबारे विभिन्न खाले चुनौतीहरू विद्यमान छन् । मुद्रास्फीति र मूल्यवृद्धि आकासिँदो रहेकाले उपभोक्ताको जीवनयापन कठिन भइरहको छ । यस्तो अवस्थामामा सुधार गरेर मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने र नागरिकलाई राहत दिनुपर्ने दायित्व उपाध्यायलगायतको अर्थ मन्त्रालयको प्रशासनिक टिमको जिम्मेवारीमा आएको छ । अर्थतन्त्रमा साधन उपलब्धता अनुपातमा आर्थिक क्षेत्रको वृद्धि कम हुनु, बचत, उपभोग र लगानी वृद्धिदर न्यून रहनु अर्थ प्रशासनको थप चुनौती रहेको छ ।


वित्तीय क्षेत्रको साधन स्रोत पर्याप्त मात्रामा उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसक्नु, आयात÷निर्यात अनुपात उच्च रहनु अर्थ प्रशासनको चुनौतीको रूपमा रहेको छ । आर्थिक वृद्धि अस्थिर तथा न्यून रहनु, बढ्दो लगानी आवश्यकता र न्यून कुल गार्हस्थ बचतलाई समेत अर्थ प्रशासनको चुनौतीका रूपमा हेरिएको छ ।


यस्तै, आर्थिक वृद्धिमा उत्पादनशील क्षेत्रको योगदान कमजोर रहनुसमेत अर्थ प्रशासनको थप चुनौती रहेको देखिन्छ । सार्वजनिक ऋण बढेर २५ खर्ब २६ अर्बभन्दा बढी पुग्नु अर्को चुनौती रहेको छ । व्यापार घाटा अत्यधिक रहनु, आयातमा निर्भरता उच्च रहनु र निर्यात कमजोर हुनु अर्थ प्रशासनका लागि चुनौती रहेको बताइएको छ ।

सचिव उपाध्यायले यस्ता चुनौतीलाई समाधानका लागि आवश्यक पहल गर्नुपर्ने तथा रोजगारीको अवसर सिर्जना गरी जनशक्ति पलायन रोक्न आवश्यक नीति बनाउनुपर्ने आवश्यकता देखिएको छ । नीतिगत स्थिरता नहुँदा वैदेशिक लगानी आकर्षणमा समस्या आएको विषयमा पनि उपाध्याय नेतृत्वको अर्थ प्रशासनले समस्याको समाधान खोज्नुपर्ने चुनौती देखिएको छ । यसै गरी पुँजीगत खर्च हुन नसकी विकास कार्य अवरुद्ध भएको अवस्था पनि चुनौतीपूर्ण रहेको छ ।

पदभार ग्रहण गर्दे नवनियुक्त अर्थ सचिव उपाध्यायले आर्थिक क्षेत्रमा देखिएका चुनौतीहरू समाधान गर्न आफू हरपल खटिने र चुनौती समाधानका लागि पहलकदमी लिने प्रतिबद्धता जनाउनुभयो । उपाध्यायले सरकारले विश्वास गरेरै आफूलाई अर्थ सचिवको जिम्मेवारी दिएकाले सो विश्वासलाई मूर्त रूप दिन राजस्व वृद्धि, पुँजीगत खर्च प्रवद्र्धन, अनावश्यक खर्च नियन्त्रण, उत्पादन वृद्धि तथा लगानीमैत्री वातावरण सिर्जना गर्न आफू नेतृत्वको टिम सक्रिय भएर कार्यथलोमा खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मंगलवार नै मन्त्रालयमा निर्वतमान सचिव डा. रामप्रसाद घिमिरेको पनि बिदाइ गरिएको छ । सो अवसरमा बोल्दै अर्थ मन्त्री पौडेलले यसअघि पनि अर्थ सचिवका रूपमा डा. घिमिरेले अर्थतन्त्रलाई अनुशासन र गतिशीलतासहित अगाडि बढाउन महत्वपूर्ण योगदान पु¥याएकोमा धन्यवाद दिँदै मन्त्रालयले आगामी दिनमा पनि उहाँको अनुभव र मार्गदर्शनलाई अवलम्बन गरेर अघि बढ्ने बताउनुभयो ।


कार्यक्रममा निवर्तमान सचिव डा. घिमिरेले सरकारको विश्वास पाएर राजस्व सचिव र अर्थ सचिवका रूपमा जिम्मेवारी सम्हाल्न पाएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि नेपालको अर्थतन्त्रलाई सबल र गतिशील बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न उपाध्यायको नेतृत्वमा रहेको अर्थ प्रशासनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छु ।
विष्णुप्रसाद पौडेल
अर्थ मन्त्री

सरकारले विश्वास गरेरै अर्थ सचिवको जिम्मेवारी दिएकाले सो विश्वासलाई मूर्त रूप दिन राजस्व वृद्धि, पुँजीगत खर्च प्रवद्र्धन, अनावश्यक खर्च नियन्त्रण, उत्पादन वृद्धि तथा लगानीमैत्री वातावरण सिर्जना गर्न सम्पूर्ण टिमलाई सक्रिय भएर कार्यथलोमा खटाउने छु ।
घनश्याम उपाध्याय
सचिव, अर्थ मन्त्रालय