काठमाडौं ।
प्राधिकरणलाई विभाजन गरी स्वार्थ समूह हाबी गराउने उद्देश्यले ल्याइएका दुई विधेयक स्थगन गर्न सरोकारवालाले सरकारसँग जोडदार माग गरेका छन् ।
नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,२०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्न नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक,२०८१ को नेपाल नागरिक उड्डयन प्राधिकरण,लोकतान्त्रिक कर्मचारी संघले विरोध गरेको हो ।
आज संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई मन्त्री क्वाटरमा पुगेर ज्ञापन पत्र बुझाएको नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघका अध्यक्ष गणेश प्रसाद भुसालले जानकारी दिए । प्रतिनिधि सभाको मिति २०८१-१०-१९ गतेको दर्ता नम्बर ४ र ५ को विधेयक सरोकारवाला,बौद्धिक वर्ग, आम कर्मचारी, प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरु र पेसागत संघ सङ्गठनहरु सँग कुनै छलफल नै नगरी प्राधिकरणलाई विभाजन गरी स्वार्थ समूह हाबी गराउने उद्देश्यले ल्याएको विधेयक स्थगन नगरे सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । यो विधेयकले उड्डयन क्षेत्रको सामान्य जानकारी समेत नभएको व्यक्तिले नेतृत्व गर्न सक्ने र स्वार्थ समूहले प्राधिकरण धरासायी बन्ने सरोकारवालाको भनाई छ ।
‘समग्र कर्मचारी र संस्थाको हित विपरीत पेस भएको विधेयक अघि बढेमा कानुनले दिएको अधिकार प्रयोग गरी चरणबद्धरुपमा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने एवं नेपाली आकाशको सम्पूर्ण हवाई सेवा ठप्प हुँदा पर्ने दूरगामी असरलाई नजरअन्दाज नगरियोस्’, मन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ । नेपालको हवाई क्षेत्रको एक मात्र सक्षम सबल एवं समृद्ध संस्थालाई अन्य विकल्प हुँदाहुँदै सरोकारवाला,बौद्धिक वर्ग, आम कर्मचारी, प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरु र पेसागत संघ सङ्गठनहरुलाई बेवास्ता गरी कुनै अमुक संस्थाले दिएको प्रतिवेदनको सुझावलाई मात्र सैद्धान्तिक आधार लिई दर्ता गरिएको प्रस्तावित विधेयकमा स्वार्थ समूहको वर्चस्व हुने नेपाल नागरिक उड्डयन प्राधिकरण,लोकतान्त्रिक कर्मचारी संघले निष्कर्ष निकालेको छ ।
‘उक्त विधेयकलाई तत्काल स्थगन गर्न लोकतान्त्रिक कर्मचारी संघको जोडदार माग गर्दछ’, त्रापन पत्रमा भनिएको छ– ‘विगतमा आएको यस्तै आशयको विधेयकको विषयलाई लिएर १५ दिनसम्म संघको नेतृत्वमा सशक्त आन्दोलन पश्चात् स्थगन भएको पनि स्मरण गराउन चाहन्छौ ।’ नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघका अध्यक्ष गणेश प्रसाद भुसालको नेतृत्वमा गएको टोलीले मन्त्री पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो । ‘क्यान भित्र रहेको सरोकारवालाहरुको युनियनलाई बेवास्ता गर्दै र त्यहाँ संलग्न कर्मचारीहरूको भविष्यमाथि खेलबाड गर्दै बिना छलफल मन्त्रालयबाट क्यान टुक्रयाउने प्रक्रिया प्रारम्भ गरेकोमा हाम्रो घोर आपत्ति रहेको छ’ अध्यक्ष भुसालले भनेका छन् ।











प्रतिक्रिया