नेपाल लाइफको लाभांश पारित


काठमाडौं ।

नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न भएको छ ।
साधारण सभाले आव २०८०-८१ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २१ दशमलव ०५ प्रतिशतले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख बराबर लाभांशको रूपमा प्रदान गर्ने जसमा १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर सहित) प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

अध्यक्ष संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यावसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीहरू बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

२५औँ वार्षिक साधारण सभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले आव २०८०-८१ मा आएका चुनौतीहरूलाई अवसरहरूमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धि र भावी योजनाहरू बताउनु भयो ।


असोज मसान्तसम्ममा कम्पनीको लगानी २१५ अर्ब रुपियाँ रहेको छ भने जीवन बीमाकोष २०८ अर्ब रुपियाँ र शेयरधनी कोष १२ अर्ब बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९५ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले हालसम्म २८८ अर्ब रुपियाँ बीमाशुल्क आर्जन गरेको छ भने ८४ अर्ब जम्मा दावी भुक्तानी गरेको छ ।