चम्पादेवी केबलकार परियोजनालाई छिटो अघि बढाउन स्थानीयकाे माग



काठमाडौं ।

चम्पादेवी केबलकार परियोजनाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ । चम्पादेवी केबलकार परियोजनालाई छिटो अघि बढाउन स्थानीहरुले माग गरेका छन् ।

स्थानीय प्रतिनिधिहरुले यो परियोजना कीर्तिपुर र वरपरका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन्। केबलकार सञ्चालनमा आएपछि नगर र राष्ट्रले कर प्राप्त गर्ने, व्यवसाय फस्टाउने, रोजगारी सिर्जना हुने, पर्यटनको प्रवर्द्धन हुने र कीर्तिपुरको सांस्कृतिक तथा धार्मिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन मद्दत गर्ने उनीहरुले बताएका छन् ।

स्थानीय युवाहरुले रोजगारीको प्राथमिकता पाउनु पर्ने, स्थानीय लगानीकर्ताहरूलाई सेयरको पहुँच सुनिश्चित गर्नुपर्ने, पर्यटन प्याकेजहरू विकास गर्नुपर्ने र स्थानीय व्यवसायलाई समृद्ध बनाउन केबलकारले सघाउने कुरामा जोड दिए। सुनुवाइ कार्यक्रममा सहभागीहरूले निर्माणको क्रममा भौगोलिक संवेदनशीलतालाई विशेष ध्यान दिनुपर्ने भन्दै पहिरो रोकथाम, मलबा व्यवस्थापन, र फोहोर व्यवस्थापन जस्ता विषयलाई गम्भीर रुपमा समेट्नुपर्ने बताए।

वन तथा वातावरण संरक्षणका उपायहरु अवलम्बन गर्दै परियोजनालाई अगाडि बढाउनुपर्ने उनीहरुको सुझाव थियो। स्थानीयले मलबा व्यवस्थापन योजनामा स्पष्टता ल्याउनुपर्ने, पर्यटनलाई दीर्घकालीन रुपमा प्रबर्द्धन गर्ने खालका वातावरणमैत्री नीति अपनाउनुपर्ने, र स्थानीय समुदायलाई परियोजनामा प्रत्यक्ष संलग्न गराउनु पर्ने माग गरेका छन् ।

कार्यक्रममा संघीय सांसद राजन कुमार के.सी. प्रदेश सांसद माननीय पुकार महर्जन, कीर्तिपुर नगरप्रमुख कृष्णमान डंगोल, वडा नं.४ का अध्यक्ष राजेन्द्र बानियाँ, विभिन्न समितिका प्रतिनिधिहरू तथा स्थानीय व्यवसायी, पर्यटन क्षेत्रका सरोकारवाला र स्थानीय समुदायका सदस्यहरूको उपस्थिति थियो।