हिन्दु धर्ममा वर्जित सगोत्री विवाहको रहस्य


विश्वमा विभिन्न धर्म मान्ने मानिसहरू छन् र सबैले आफ्नो धर्मलाई उत्कृष्ट भएको दाबी गर्दै त्यसको हर तरहले बचाउ समेत गर्ने गरेका छन् ।
विश्वमा मानिने धर्म मध्ये हिन्दु धर्म अग्रपङ्क्तिमा आउँछ । हिन्दु धर्मको आधार ग्रन्थ वेद हो । हिन्दु धर्मलाई पूर्वीय सभ्यताको मानक पनि मान्ने गरिएको छ । हिन्दु धर्मले सगोत्रीबीचको विवाहलाई वर्जित गरेको छ । गोत्र भनेको वंश र कुल परम्परा हो भन्ने मान्यता छ ।

गोत्रले नै पुस्तालाई आज सम्म जोड्दै आएको पाइन्छ । हिन्दु धर्मका गोत्र ऋषिहरूको कुलबाट उत्पत्ति भएको मानिन्छ । हिन्दुहरूले मान्दै आएको वेद र पुराणमा सप्तऋषिका सन्तान हिन्दु धर्मावलम्बी भएको उल्लेख गरेको पाइन्छ । सप्तऋषिका सन्तान नै उक्त गोत्रधारी भएको विश्वास गरिएको छ ।

एतान्भावानधीयाना ये चैते ऋषयो मताः ।

सप्तैते सप्तभिश्चैव गुणैः सप्तर्षयः स्मृताः ।।

दीर्घायुषो मन्त्रकृत ईश्वरा दिव्यचक्षुषः ।

वृद्धाः प्रत्यक्षधर्माणो गोत्रप्रवर्तकाश्च ये ।।

सप्तऋषि भनेर विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम, अत्रि, वशिष्ठ, अगस्त्य र कश्यपलाई चिन्ने गरिएको हिन्दु धर्मको पुराना ग्रन्थहरू धर्मशास्त्र पुराणमा उल्लेख गरिएको छ ।

कश्यपोत्रिर्भरद्वाजो विश्वामित्रोथ गौतमः ।

जमदग्निर्वसिष्ठश्च सप्तैते ऋषयः स्मृताः ।।

यिनै ऋषिका सन्तानहरू नै हुन् हिन्दु धर्म मान्ने मान्छेहरू । दुई व्यक्तिको गोत्र एकै छ भने त्यसको अर्थ उनीहरू एउटै कुलमा जन्मेका हुन् । यसरी उनीहरूकाबीच पारिवारिक सम्बन्ध रहको मानिन्छ ।

हिन्दु धर्ममा एकै गोत्रका मानिसलाई विवाहको अनुमति दिइएको छैन । एकै कुल र गोत्रमा विवाह गर्ने मानिसको बुद्धि भ्रष्ट हुने र उनीहरूको सन्तान पनि चाण्डाल हुने भन्ने मान्यता रहेको पाइन्छ ।

हिन्दुहरूको पुरानो ग्रन्थ मनुस्मृतिमा सत्पुरुष वा विद्वान् भएको कुल र क्षयरोग, मिर्गीरोग तथा कुष्ठरोग लागेको कुलमा आफ्नो सन्तानलाई बिहे गराउनु हुँदैन । जानीबुझी एउटै गोत्रकी केटीलाई बिहे गरेमा केटो जातिभ्रष्ट हुन्छ । एकै गोत्रका स्त्री पुरुष भाइबहिनी हुन्, उनीहरूकाबीच विवाह हुनु हाडनाता करणी हो भन्ने उल्लेख गरेको पाइन्छ ।

हिन्दु धर्मशास्त्र अनुसार कुन गोत्रसँग विावाह गर्ने विषयमा फरक फरक मान्यता रहेको पाइन्छ । हिन्दु धर्मले विवाह गर्दा सकेसम्म तीन गोत्र छोडेर विवाह गर्नु पर्ने उल्लेख गरेको छ । हिन्दु धर्मले आफ्नो गोत्र, आमाको गोत्र र हजुरआमाको गोत्र छोडेर मात्रै विवाह गर्नु पर्ने उल्लेख गरेको छ ।

सगोत्रीसँग विवाह गर्न नहुने कुरालाई विज्ञानले समेत मानेको पाइन्छ । एउटै गोत्र वा कुलमा विवाह गर्ने दम्पतीको सन्तानमा आनुवंशिक दोष हुने र त्यसरी जन्मेको बच्चामा बाबु आमाको जस्तै विचार हुने र उनीहरूको विचारमा शून्यता आउन सक्ने उल्लेख गरेको पाइन्छ ।

हिन्दु धर्ममा एउटै गोत्रमा विवाह गरिँदैन । त्यसैले बेहुला र बेहुली पक्षको गोत्र फरक पारेर मात्र विवाह गर्ने गरेको पाइन्छ । खासगरी नेपालका हिन्दु ब्राह्मण समुदायमा यस किसिमको प्रचलन अझै बढी रहेको पाइन्छ । हिन्दु धर्म मान्ने तर मामा चेला फुपु चेली विवाह गर्ने समुदाय पनि रहेको छ । ती समुदायमा विभिन्न प्रकारका समस्या देखिने गरेको पाइन्छ ।

यदि बेहुला र बेहुली दुबैको अन्तरजातीय विवाहबाट जन्मिएका सन्तानमा तीक्ष्ण क्षमता हुने गरेको पाइन्छ । सामान्य बच्चामा भन्दा उनीहरूमा केही गुणहरू बढी हुने गरेको पाइन्छ ।