भारतीय दूतावासले मनायो ७६औं गणतन्त्र दिवस


काठमाडौं ।


काठमाडौंस्थित भारतीय राजदूतावासमा आज भारतको ७६ औं गणतन्त्र दिवस मनाएको छ ।

नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्रको दिवसको अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरुलाई पनि शुभकामना व्यक्त गरे।

कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेकाे सम्बोधन प्रसारण गरिएको थियो । कार्यक्रममा भारतीय समुदायका सदस्यहरूको ठूलो संख्यामा उपस्थिति थियो।

राजदूतले भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड रकम वितरण गरी सम्मान गरेका थिए । यसका साथै, भारतीय सशस्त्र बलका २१९ जना मृतक सदस्यका श्रीमती र निकटतम नातेदारलाई नेरु। २३।२९ करोड रकम पनि वितरण गरिएको छ। यस भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रम अन्तर्गत वर्ष २०२४ का लागि डेथ-इन-सर्भिस, एक्सटेन्डेड इन्स्योरेन्स र एजीआई परिपक्वता भुक्तानी लगायतका लाभहरु समावेश छन्। राजदूतले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरु समावेश गरिएको भूपू–२०२५ पत्रिकाको पनि लोकार्पण गरे।

दूतावासले नेपालका ६ वटा प्रदेशमा फैलिएका २९ वटा शैक्षिक संस्थाहरुलाई २३.५ लाख बराबरका पुस्तकहरु प्रदान गरियाे । यस पहलको उद्धेश्य नै दुर्गम क्षेत्रमा रहेका विद्यार्थीका विशेष आवश्यकता र अनुरोध उपर प्रतिक्रिया जनाउदै उनीहरुलाई शैक्षिक सामग्री प्रदान गर्नु हो।

मिति २०८१ कार्तिक २६ गतेदेखि मंसीर २६ गतेसम्म आयोजित भारत को जानिए (बीकेजे) क्विजमा नेपालका शीर्ष ५० स्कोररहरुलाई सर्टिफिकेट्स अफ अचिभमेन्टु प्रदान गरेर सम्मान गरियो। बीकेजे क्विजको उद्धेश्य विदेशी नागरिक तथा विदेशमा बस्ने भारतीय समुदायको भारतबारे ज्ञान एवम् बुझाइलाई थप वृद्धि गर्ने रहेको छ।

पुरस्कारको अंशको रूपमा, विश्वभरका क्विजका शीर्ष ३० विजेताहरूलाई यस महिनाको सुरुवातमा दुई हप्ते बीकेजे यात्राको लागि भारत आमन्त्रित गरिएको थियो। विजेताहरूमध्ये नेपालका श्री निखिल कुमार दास पनि थिए जसले भारतको यो विशेष यात्राको हिस्सा बन्ने मौका प्राप्त गरेका थिए।

कार्यक्रममा विगतका वर्षहरुमा भारत-नेपाल सम्बन्धमा भएको प्रगतिबारे विस्तृत जानकारी भिडियोमार्फत प्रस्तुत गरिएको थियो।

उक्त कार्यक्रममा काठमाडौंको दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए। दूतावासको सामाजिक सञ्जाल प्लाटफर्ममार्फत उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको थियो।