बुटवल ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा बिहीबार पनि पूरा भएन। विहिवार लामिछानेका वकिलहरुको पालो आएन ।
मुद्दामा रवि लामिछानेका तर्फबाट आधा दर्जनभन्दा बढी वकिलहरुले बहस गर्ने तयारी गरेका छन् । विहिवार सरकारी वकिलहरु र जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले बहस गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा वरिष्ठ अधिवक्ता त्रिपाठीले यसअघि काठमाडौं जिल्ला अदालतमा पनि रविविरुद्ध बहस गरेका थिए । बहस सकेर निस्किँदा उनीमाथि हातपात भएको थियो ।
सो घटनामा तीजना पक्राउ समेत परेका छन् । त्रिपाठी बहसका लागि बुधवार रुपन्देही आएका थिए । विहिवार सरकारी वकिलहरुको बहस सकिएपछि उनले पालो पाएका हुन् । आफ्नो बहसका क्रममा त्रिपाठीले रवि लामिछानेलाई थुनामा पठाउनैपर्ने माग गरे । उनले सहकारी प्रकरणलाई राजनीतिको अपराधीकरणका रुपमा अथ्र्याए । ‘स्मार्ट ठगी’ को संज्ञा दिए ।
रविप्रति आक्रोश पोख्दै त्रिपाठीले भने, ‘प्रबन्ध सञ्चालक भनेको संस्थाको माइन्ड हो । सहकारीको पैसा उहाँकोमा आएको छ । तर उहाँले थाहा छैन भन्नु हुन्छ । यस्तो पनि हुन्छ ?’ त्रिपाठीले आफूमाथि भएको हातपातको प्रसंग पनि निकालेका थिए । रास्वपा कार्यकर्तातर्फ ईंगित गर्दै उनले न्यायिक प्रक्रियामा वाधा पुर्याउने काम भइरहेको आरोप लगाए । आफूमाथि हातपात भएको घटनामा काठमाडौं जिल्ला अदालत नबोलेको भन्दै गुनासो पोखे ।‘न्यायमा निरन्तर अवरोध गर्नुभएको छ ।
कहिले विज्ञप्ति निकालेको छ, कहिले सांसदहरु नै आन्दोलनमा उत्रेका छन् । न्यायाधीशको फोटोसहित प्रचार गरियो । बहस गर्ने वकिललाई गालीगलौज गरियो । काठमाडोंमा त मलाई आक्रमण नै भयो । तर आदेश गर्दा अदालतले नोटिसमै लिएन’, त्रिपाठीले भने । बिहीबार सरकारी वकिलका तर्फबाट प्रेमराज पौडेलसहित अन्य अधिवक्ताहरूले लामिछानेलाई हिरासतमै राखी थप अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।
प्रतिवादीको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीसहितका अधिवक्ताहरू बहस गर्ने छन्। बहसपछि पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने विषयमा आदेश आउनेछ । यसअघि बुधबार जिल्ला अदालतमा लामिछानेको बयान लिइएको थियो। सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहित २८ जनाविरुद्ध ५५ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ। साथै, लामिछाने र अन्य व्यक्तिहरूबाट व्यक्तिगत रूपमा समेत करोडौं बिगो दाबी गरिएको छ ।
गत माघ २ गते काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँ र पुस २५ गते कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा लामिछानेलाई रिहा गरेका थिए।











प्रतिक्रिया