भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

जिल्ला अस्पताल बझाङबाट काठमाडौं रिफर

40.98k
Shares

बझाङ ।

जंगली भालुको आक्रमणबाट बझाङको खप्तडछान्ना गाउँपालिकामा एक महिला गम्भीर घाइते भएकी छिन्। खप्तडछान्ना गाउँपालिका–४, माझी गाउँकी २८ वर्षीया अंगिरा रोकायालाई बुधबार बिहान ८ बजेको समयमा भालुले आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार रोकाया वेडेभुवा जंगलमा घाँस काट्ने क्रममा भालुको आक्रमणमा परेकी हुन्। भालुको आक्रमणबाट उनको अनुहार र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ।

गम्भीर घाइते भएकी रोकायलाई तत्कालै जिल्ला अस्पताल बझाङमा उपचारका लागि पुर्‍याइएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर भए पनि चिकित्सकको टोलीले आवश्यक उपचार गरि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

स्थानीयका अनुसार यस घटनापछि स्थानीयले उक्त वन क्षेत्रमा घाँस दाउरा गर्न जान डर मान्न थालेका छन्।