रुपन्देहीमा रवि लामिछानेको मुद्दा न्यायाधीश प्रल्हादको इजलासमा

0
Shares

बुटवल ।
सहकारी ठगी एवम संगठित आरोपमा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछाने बयानको लागि रुपन्देही जिल्ला अदालतमा उपस्थित भएको छन् ।

लामिछानेको बयान आजै हुने र बयान लगत्तै थुनछेक बहस सुरु हुने भएको छ । गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेपछि मुद्दाको प्रतिवादका लागि उनी अदालतमा उपस्थित भएका हुन् ।

वयानको लागि लामिछानेको रुपन्देहीको ५ नम्बर इजलाशमा न्यायधिश प्रल्हाद कुमार योगीकोको अगाडी बयान हुने भएको । रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार अहिले बयान लिने अधिकृतले मिसिल अध्ययन गरिरहने भएको छ । अध्ययन लगत्तै उनको बयान सुरु हुने छ ।

नारायण बहादुर पहराई समेतको जाहेरीले नेपाल सरकार वादी रहेको सहकारी ठगी र संगठित अपराध मुद्दामा रविना रिमालसमेत २२ जना प्रतिवादी छन् ।

लामिछानेको बयान लगत्तै आजै थुनछेक बहस सुरु हुने सम्भावना रहेको छ । बहसको लागि सुरुमा जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका सरकारी वकिलले बहस गर्नुहुनेछ भने त्यसपछि प्रतिवादी बनाइएका रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शुसिल पन्त सहितका कानून व्यवसायीहरुले बहस गर्ने छन् ।

रवि लामिछाने सहितलाई लगाईएको यो पुरक मुद्दा हो । रुपन्देहीको सुप्रिम सहकारीको बचत अपचलनको अभियोगमा गोर्खा मिडिया प्रालीका तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने सहित २२ जना विरुद्ध माघ ६ गते मुद्दा दर्ता गरिएको थियो ।

सरकारी वकिलको कार्यालयले १४ जना विरुद्ध नया र ८ जना विरुद्ध पुरक अभियोग दर्ता गरेको छ । २२ जना विरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैया सामुहिक विगो दावी गरिएको छ । लामिछाने विरुद्ध व्यक्तिगत २ करोड रुपैया दावी छ ।

यस अघि पुस २५ गते कास्की जिल्ला अदालतले र माघ ३ गते काठमाण्डौं जिल्ला अदालतले धरौटी लिई रवि लामिछानेलाई मुद्दा लड्ने सुविधा प्रदान गरेको थियो ।

रुपन्देहीको हकमा भने आदेश आउन बाँकी रहेको छ । बयानको लागि लामिछाने कार्यालय समयमै उपस्थित भए पछि अहिले रुपन्देही जिल्ला अदालत आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ । अदालत अगाडी रविका समर्थकहरुको बाक्लो उपस्थिति रहेको छ भने अदालत परिसरमा सञ्चारकर्मि समेतलाई प्रवेशमा रोक लगाईएको छ ।