काठमाडौं ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा सोमबारदेखि खो खो खेलको पहिलो विश्वकप शुरू भएको छ । पुष २९ गतेदेखि माघ ६ गतेसम्म (१३ जनवरीदेखि १९ जनवरी) संचालन हुने प्रतियोगितामा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ । नेपाली टिम दिल्ली पुगिसकेको छ ।
प्रतियोगितामा भारत गएर खेल्ने तय भए पनि भिषाको कारण पाकिस्तान टोलीले नखेल्ने भएपछि पुरुषतर्फ २० र महिलातर्फ १९ टोली हुनेछ । क्यानडाको पुरुष टोलीले पनि प्रतियोगिताबाट नाम फिर्ता लिएको छ । यसको कारण क्यानडा र भारतबिचको चिसो सम्बन्ध रहेको जनाइएको छ ।
पहिलो पटक आयोजना हुने खो–खो विश्वकपमा नेपालबाट पुरुष र महिला दुबै टोलीले प्रतिस्पर्धा गर्नेछ । पुरुष टोलीका कप्तान हेमराज पनेरु र मुख्य प्रशिक्षक बिक्कीराज महर्जन हुन् भने महिला टोलीमा कप्तान सरस्वती कडायत र मुख्य प्रशिक्षक लक्ष्मी नारायण वैद्य हुन् ।
नेपालले १२ औं र १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत खो–खोमा पदक जितिसकेको छ । नेपालमा भएको १३ औं सागमा नेपाली महिला टोलीले भारतसँग हार्दै रजत पदक जितेको थियो । यसैले पनि नेपाली महिला टोलीकी कप्तान सरस्वतीले रजत जित्ने लक्ष्य लिएकी छन् ।
तर, नेपाली पुरुष टोलीले भने १३ औं सागमा कांस्य पदक जितेको थियो । नेपालले श्रीलंकालाई हराएर तेस्रो स्थान हासिल गरेको थियो । यो विधामा पनि भारतले नै स्वर्ण जितेको थियो । पुरुष टोलीका कप्तान हेमराजले पदक जित्ने सक्ने बताएका छन् ।
भारतीय पुरुष टोलीका भारतीय प्रशिक्षक अश्विनी कुमारले एक टेलिभिजनलाई भारतको टोलीका लागि नेपाली टोली सबैभन्दा चुनौतीपूर्ण हुन सक्ने बताएका छन् ।
समूहमै नेपालको सामना भारतसँग
प्रतियोगितामा पुरुषतर्फको समूह ए मा नेपालसहित आयोजक भारत, पेरु, ब्राजिल र भुटान रहेका छन् । यस्तै, समूह बी मा नेदरल्यान्डस्, दक्षिण अफ्रिका, इरान, घाना र अर्जेन्टिना छन् । समूह सी मा अमेरिका, दक्षिण कोरिया, बंगलादेश, श्रीलंका र पोल्यान्ड छन् भने समूह डी मा जर्मनी, इंग्ल्यान्ड, अस्ट्रेलिया, मलेसिया र केन्या छन् ।
यसैगरी नेपाली महिला टोली महिलातर्फको समूह सी मा भुटान, श्रीलंका, जर्मनी र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । समूह ए मा आयोजक भारत, इरान, मलेसिया र दक्षिण कोरिया छन् । समूह बी मा इंग्ल्यान्ड, अस्टे«लिया, केन्या, युगान्डा र नेदरल्यान्डस् छन् । समूह डी बाट दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पोल्यान्ड, पेरु र इन्डोनेसियाले खेल्नेछन् ।
प्रतिक्रिया