बबल टी, जसलाई बोबा टी पनि भनिन्छ, हाल युवा पुस्ताको निकै लोकप्रिय पेय पदार्थ बन्दै गइरहेको छ । विशेषगरी काठमाडौंका शहरबजारमा युवायुवतीहरू मात्रै होइन, बालबालिकाहरू समेत हातमा बबल टी लिएर घुमिरहेको देख्न सकिन्छ ।
ताइवानबाट शुरू भएको पेयमा दूध, चिया, विभिन्न फ्लेभर र टपिङको रूपमा ट्यापिओका सानासाना दानाहरू हालिएका हुन्छन् । नेपाली बजारमा यसको माग बढ्दै जानुका पछाडि विशेषगरी क्याफे कल्चरको वृद्धि प्रमुख हो । यसका साथै नेपालमा कोरियाली, जापानी, र ताइवानी खानाको प्रभाव बढ्दै गएकाले पनि नयाँपन र अन्तर्राष्ट्रिय प्रभावस्वरुप बबल टी ट्रेन्डमा आएको हो ।
स्ट्रबेरी, म्याङ्गो, चकलेट, ग्रीन टी लगायतका विभिन्न स्वाद र फ्लेभरमा पाइने बबल टी युवा पुस्ताको रोजाइमा पर्नुको अर्को कारण भने यसको रंगीन र आकर्षक लुक्सका कारण सामाजिक संजालमा पोस्ट गर्न लहर चलेकोले पनि हो । यो पेय युवा पुस्तामा फोटो खिच्न योग्य पेय अझ भनौं ‘इंस्टाग्रामेबल ड्रिंक’ को रूपमा परिचित छ ।
के हो त बबल टी?
बबल टी एक विशेष पेय पदार्थ हो, जसमा चिया वा दूधको आधारमा विभिन्न फ्लेभरहरू मिलाएर तयार गरिन्छ । यसको मुख्य आकर्षण भनेको ट्यापिओका दाना वा पपिङ बोबा हो, जसले यसलाई अन्य चियाभन्दा फरक अनुभव दिन्छ । यसलाई आफ्नो इच्छाअनुसार विभिन्न स्वाद तातो वा चिसो दुबै रूपमा पिउन सकिन्छ ।
बबल टीको शुरूवात १९८० को दशकमा ताइवानबाट भएको मानिन्छ । ताइवानका चिया पसलहरूमा नयाँ स्वाद र शैली अपनाउने क्रममा यो पेय विकास भएको थियो । बबल टीको पहिलो आविष्कार कसले गरेका थिए भन्ने बारे कुनै ठोस प्रमाण छैन, तर दुई भनाइहरू प्रचलित छन् ।
एउटा ताइवानको चुन सुई टाङ्ग नामक चिया पसलले पहिलो पटक ट्यापिओका दाना मिसाएर नयाँ पेयको रूपमा यसलाई प्रस्तुत गरेको थियो । अर्काे भनाइ अनुसार हानलिन टी रुम नामक पसलमा पहिलो पटक बबल टी बनाइएको थियो ।
प्रतिक्रिया