वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता: अस्ट्रेलियन ओपन

0
Shares

टेनिस खेलतर्फ हरेक वर्ष चार वटा ग्रान्डस्लाम प्रतियोगिता आयोजना हुन्छ । जनवरीमा अस्ट्रेलियन ओपन, मे–जुनमा फ्रेन्च ओपन, जुलाइमा विम्बल्डन र सेप्टेम्बरमा यूएस ओपन आयोजना हुन्छन् । अहिले सोही तालिकाअनुसार मेलबर्न पार्कमा अस्ट्रेलियन ओपन शुरू भइसकेको छ । अस्ट्रेलियन ओपनबारे केही तथ्यहरू यहाँ प्रस्तुत छ ।

-अस्ट्रेलियन ओपन सबैभन्दा पछि आयोजना भएको ग्रान्डस्लाम प्रतियोगिता हो । प्रतियोगिता सन् १९०५ देखि शुरू भएको हो ।

-अन्य तीन ग्रान्डस्लाम प्रतियोगिता १८ औं शताब्दीमा शुरू भएको हो । जसमा, विम्बल्डन १८७७, यूएस ओपन १८८१ र फ्रेन्च ओपन १८९१ देखि शुरू भए ।

-सन् १९०५ मा अस्ट्रेलियन ओपन प्रतियोगिता क्रिकेट मैदानमा संचालन गरिएको थियो ।

-उक्त मैदानलाई वेयरहाउसम्यानस् क्रिकेट ग्राउन्ड भनिएको थियो । हाल यो ग्राउन्ड अल्बर्ट टेनिस सेन्टर नामले परिचित छ ।

-अस्ट्रेलियन ओपन सन् १९८७ सम्म ग्रास कोर्टमा भएको थियो । यसपछि हालसम्म प्रतियोगिता हार्ड कोर्टमा भइरहेको छ ।

-१९८७ सम्म डिसेम्बरमा हुने सो प्रतियोगिता यसपछि जनवरीमा लगातार आयोजना भइरहेको छ ।

-पहिले अस्ट्रेलियन च्याम्पियनसिपको नाममा संचालन भएको यस प्रतियोगिता सन् १९६९ देखि अस्टे«लियन ओपनको नामले संचालन भइरहेको छ ।

-हरेक वर्ष प्रतियोगितामा लगभग ५० हजार बल प्रयोग हुन्छ ।

-बल ब्वाय र गर्ल करिब ३ सय जना परिचालन गरिएको हुन्छ ।

-सबैभन्दा बढी दर्शक सन् २०२४ को संस्करणमा रह्यो । त्यतिबेला लगभग ११ लाख दर्शक रहेको अस्टे«लियन ओपनको आयोजकले जनाएको थियो ।

-तर, एक खेलमा सर्वाधिक दर्शकसंख्याको रेकर्ड चाहिँ २०२३ को संस्करणमा बन्यो । त्यतिबेला एक खेलमा उपस्थित दर्शकसंख्या झण्डै ९५ हजारको रेकर्ड निर्धारित भएको हो ।

-अस्ट्रेलियन ओपनमा उपाधि जित्नेमा सबैभन्दा युवा खेलाडी मार्तिना हिंगिज हुन् । सन् १९९७ मा यो उपाधि जित्दा उनी १६ वर्षकी थिइन् । अहिलेसम्म यो उमेरमा ग्रान्डस्लाम उपाधि जित्न सकेका छैनन् ।

-अस्ट्रेलियन ओपनमा उपाधि जित्नेमा सबैभन्दा पाको खेलाडी केन रोजवेल हुन् । उनले सन् १९७२ मा ३७ वर्षको उमेरमा उपाधि जितेका थिए । उनी पुरुष खेलाडीमा उपाधि जित्नेमा सबैभन्दा युवा खेलाडी समेत हुन् । उनले सन् १९५३ मा १८ वर्षको उमेरमा उपाधि जितेका थिए ।

-अस्ट्रेलियन ओपनमा सबैभन्दा लामो खेल सन् २०१२ मा भएको फाइनल खेल थियो । जसमा, नोभाक जोकोभिच र राफायल नाडालले उपाधिको लागि ५ घण्टा ५३ मिनेटसम्म संघर्ष गरे र विजेता बने सर्बियाका जोकोभिच ।

-सर्वाधिक अस्ट्रेलियन ओपन जित्ने सूचीमा अस्टे«लियाकी मार्गारेट कोर्ट स्मिथ शीर्ष स्थानमा छिन् । उनले ११ पटक उपाधि जितेकी हुन् । उनलाई नोभाक जोकोभिचले पछ्याइरहेका छन् । जोकोभिचले १० पटक यो उपाधि जितेका छन् ।