–चिनियाँ सरकारद्वारा ८ सम्पदा पुनर्निर्माण शुरू
–४५ महिनामा तलेजु र साततले दरबारको निर्माण सक्ने योजना, बाँकी चरणबद्ध गर्ने तयारी
–निर्माण सम्पन्न भएपछि साँचोमात्र नेपाल सरकारलाई बुझाइने
काठमाडौं ।
सरकारसँग सम्झौता गरेको ९ वर्षपछि चिनियाँ सरकारले नुवाकोट दरबारक्षेत्रका ८ सम्पदा पुनर्निर्माण शुरू गरेको छ। हनुमानढोका दरबारक्षेत्रस्थित वसन्तपुर दरबार पुनर्निर्माण गर्ने टोलीले नुवाकोट दरबार पुनर्निर्माण शुरू गरेको हो।
२०७२ साल वैशाख १२ को भूकम्पले ध्वस्त र क्षतिग्रस्त ८ वटा सम्पदा पुनर्निर्माण गर्न चीन सरकारले नेपाल सरकारसँग सम्झौता गरेको थियो । त्यस बेला हनुमानढोकाको वसन्तपुर र नुवाकोटका ७ सम्पदा पुनर्निर्माण गर्न चीन सरकारसँग सम्झौता भएको थियो ।
चिनियाँ एड परियोजनाअन्तर्गत निर्माण हुन लागेका ८ सम्पदा ‘टर्न कि’ अर्थात् निर्माण सम्पन्न भएपछि साँचो हस्तान्तरणमात्र हुनेछ । निर्माण सम्पन्न गर्न कति लागत लाग्ला भन्दा पनि निर्माण सक्ने जिम्मा चीन सरकारले लिएको हो– स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा नुवाकोटका प्रमुख सुनील पाण्डेले भन्नुभयो ।
उहाँका अनुसार पहिलो चरणमा दुई र बाँकी सम्पदा चरणबद्ध रूपमा सम्पन्न गर्ने सम्झौता भएको छ । चीन सरकारले पृथ्वीनारायण शाहको साततले दरबार, तलेजु, गारद घर, रंग महल, लामपाटी, सेतोपाटी र विष्णुको मन्दिर पुनर्निर्माण शुरू गरेको छ ।
‘पहिलो चरणमा साततले र तलेजु मन्दिरको पुनर्निर्माण सक्ने गरी तयारी भएको छ । ‘सबै काम चाइनिजले गर्नेछ, सम्पदाको अवस्था हेरेर पाताल बनाएर पुनर्निर्माण गर्ने कि जीर्णोद्धार गर्ने भन्ने विषय पुरातत्व विभाग र ठेकेदार टोलीले गर्नेछ’ –कार्यालय प्रमुख पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो। विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले स्काफोल्डिङ गरेर संरक्षण गरिएको सबै सम्पदाको पुनर्निर्माण शुरू भएको बताउनुभयो।
उहाँले भन्नुभयो– ‘लामो समयको प्रतीक्षापछि निर्माण शुरू भएकोमा खुसी लागेको छ।’ हनुमानढोकास्थित वसन्तपुर दरबार पुनर्निर्माण गरेको चाइनिज टोली नुवाकोटको सबै सम्पदा पुनर्निर्माण र जीर्णोद्धार गर्न पुगेको छ।
वसन्तपुरस्थित नौतले दरबारको पुनर्निर्माण सकिसकेको छ। केही दिनमा उद्घाटन गर्नुअघि चिनियाँ टोली नुवाकोट गएको हो। ८ वर्षअघि नुवाकोट दरबार पुनर्निर्माण गर्ने सम्झौता गरेपछि चाइनिज टोलीले सबै सम्पदामा स्काफोल्डिङ गरेको थियो । लामो समयसम्म काम हुन नसकेपछि सरकारले चीन सरकारसँग कुराकानी गरेको थियो । दुवै सरकारबीच पुनर्निर्माण गर्ने विषयमा निर्णय भएपछि मंसिर २७ गते क्षमा पुजा भएको थियो ।
पुरातत्व विभागका महानिर्देशक प्रधानाङ्ग र विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले सम्पदा पुनर्निर्माण गर्न क्षमा पुजा गरेका थिए । कार्यक्रममा नुवाकोट दरबार अड्डाका प्रमुख पाण्डेलगायतको चिनियाँ कम्पनीका ठेकेदार र स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो । शिलान्यासपछि करिब एक दर्जन चाइनिज ठेकेदार र कामदार नुवाकोटमा बसेका छन् ।
प्रतिक्रिया