भक्तपुर ।
सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरको भुईतलामा कोठाभित्र मृत अवस्थामा फेला परेका बाबु र कान्छो छोराको हत्या जेठा छोराले गरेको खुलेको छ । भक्तपुरमा हिजो राति मृत भेटिएका बाबु र भाइको हत्या आफूले गरेको प्रहरी समक्ष जेठा छोरा मिलन भन्ने रुपेश आचार्यले स्वीकार गरेका हुन् ।
जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र कान्छा छोरा प्रवीण हिजो बालकोटमा भाडाको कोठामै मृत भेटिएका थिए । उनीहरूको हत्या आफूले नै गरेको भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले आज महाराजगञ्ज प्रहरी वृत्तमा आत्मसमर्पण गरेका प्रहरीले जनाएको छ ।
हत्या पछि फरार भएका मिलन भन्ने रुपेशलाई मंगलबार प्रहरीले महाराजगञ्जबाट नियन्त्रणमा लिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए । रुपेश पक्राउ परेको जानकारी दिँदै उनले मिलनलाई प्रहरीले महाराजगञ्जबाट नियन्त्रणमा लिएर सोधपुछ गरी थप अनुसन्धान र कारबाही प्रक्रिया अगाड बढाइएको बताए।
उनका अनुसार प्रारम्भिक अनुसन्धान र बयानमा लोकसेवामा पटक पटक असफल भएको तथा बाबु र भाइबाट आफूमाथि तनाव बढेकाले हत्या गरेको स्वीकार गरेका छन् । हत्या पछि आफूले आत्महत्या गर्न खोजेको तर नसकेपछि फरार भएको अनुसन्धानमा खुलेको छ । थप जानकारी विस्तृत अनुसन्धानबाट आउने एसएसपी भट्टराईले जानकारी दिए ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीले थप अनुसन्धानको लागि प्रहरी वृत्त ठिमी भक्तपुरमा ल्याई अनुसन्धान भइरहेको बताए ।काठमाण्डौं महानगरपालिका वडा नं. ४ महाराजगन्ज भाटभटेनीबाट कालो झोला भिरी हिडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले आजै उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ ।
प्रहरी अनुसन्धानमा प्रवीण कुलतमा फसेको, बाबुले पनि डिप्रेशनको औषधि खाने गरेकाले आफूलाई तनाव बढ्दै गएपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । प्रहरीसँग बयानको क्रममा मिलनले यसअघि बुवा र आमाको हत्या प्रयास गरेको बयान दिएका छन् ।गत दशैंमा दुवैलाई मार्ने योजना बनाए पनि असफल भएको उनको भनाइ छ।
हत्यापछि म भक्तपुरकै बिरुवा गएँ । गलबन्दीको पासो लगाएर रुखमा झुन्डिएँ । तर गलबन्दीको गाँठो फुस्कियो । भगवानले मलाई ‘नमर’ भनेजस्तो लाग्यो । बुवा र भाइ मरेपछि मैले आमाको रेखदेख गर्नुपर्छ भन्ने सोचेँ – भन्दै प्रहरीमा बयान दिएका छन् । उनको घाँटीमा समेत पासोको दाग रहेको प्रहरीको भनाई छ ।
हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट ६ दिनअघि मात्रै जेठा छोरा मिलन र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरको बालकोटमा रहेको भाडाको घरमा आएका थिए ।
बाबु कुलप्रसाद र प्रवीणको शव छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएको थियो । कुलप्रसादको हत्या पछि सिरक ओढाएर छोडिएको र भान्छा कोठामा सुतेका प्रवीणको भने बीभत्स तरिकाले टाउँकोमा सिलौटाको बच्चोले पटक पटक प्रहार गरी अनुहारनै चिन्नै नसकिने अवस्थामा छाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शनिवार बिहानदेखि कोठाबाहिरबाट बन्द थियो। सोमबारसम्म पनि ढोका नखुलेपछि प्रहरी बोलाएर सोमबार खोल्दा दुई जनाको शव भेटिएको हो।
शनिवार साँझ मासु भात पकाएर बाबुलाई खाना खान बोलाएका मिलनले पारिवारिक विवादकै कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
दुईभाई छोरा मध्ये जेठा छोरा मिलन बिए पास गरेर लोकसेवाको तयारी गर्दै गरेको र कान्छो प्रवीण भने अमेरिका जाने तयारीमा सूचना प्रबिधि विषयमा अध्ययन गरिरहेको पारिवारिक श्रोतले बताएको छ । बाबुछोराको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको र आजै परिवारले प्रहरी वृत्त थिमिमा जाहेरी दिएका छन् ।
कुलप्रसादका दुई छोरा र दुई छोरी मध्ये जेठी छोरी लुभुमा श्रीमान्संगै छिन् भने कान्छी छोरी तिहार लगत्तै अध्ययनका लागि अस्ट्रेलियामा गएकी छिन् ।
प्रतिक्रिया