काठमाडौं ।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसदबाट निलम्बित भएका छन्। सहकारीको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएका लामिछानेलाई सभामुख देवराज घिमिरेले निलम्बन गर्नुभएको हो। उहाँ यसै संसद्बाट एकपटक सबै पद खारेजी र एकपटक संसद् निलम्बन गरी दुईपटक कारबाहीमा पर्नुभएको हो।
उहाँ २०७९ सालको आम निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएर उपप्रधान तथा गृहमन्त्रीसहित पहिलोपटक सरकारमा सहभागी हुनुभएको थियो । उपप्रधान तथा गृहमन्त्री बहाल रहेकै अवस्थामा २०७९ माघ १३ गते नेपाली नागरिकता प्रकरणमा दोषी ठहर हुनुभएका लामिछानेको सबै पद गएको थियो।
सर्वोच्च अदालतको संवैधानिक इजलासले उहाँलाई नागरिकता प्रकरणमा दोषी ठहर गरेसँगै पार्टी सभापतिसमेतको पदबाट च्यूत भएका लामिछानेको यो घटना पहिलो इतिहास हो । फेरि नागरिकता बनाएर उपनिर्वाचनबाट चितवन–२ बाटै सांसद बन्नुभएको थियो । त्यसयता पनि उहाँ छोटो समय उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा पुग्नुभयो ।
अहिले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारी प्रहरीले सभामुख देवराज घिमिरेलाई आइतबार साँझ नै पत्र पठाएको थियो। उक्त विषयमा केही निर्णय दिँदै सभामुख घिमिरेले निलम्बनको पत्र टाँस गर्नुभएको हो। प्रतिनिधिसभा नियमावलीअनुसार संसद् अधिवेशन नरहेको अवस्थामा निलम्बनको पत्र टाँस गर्नुपर्ने व्यवस्था रहेको छ।
डीपी अर्याल कार्यवाहक सभापति
रास्वपाले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। सोमबार बसेको रास्वपा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो ।
सभापति रवि लामिछानेले पार्टीको कार्यवाहक सभापति अर्याललाई दिने पत्र पठाएको र उक्त प्रस्ताव पार्टीको सचिवालय बैठकले अनुमोदन गरेको रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिनुभयो। भर्चुअल रूपमा बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक चाँडै बस्नेबारे छलफलसमेत गरेको उहाँको भनाइ छ।
प्रतिक्रिया