रविसहित ४४ जनाविरुद्ध ३ मुद्दामा पूरक अभियोग दर्ता

1.32k
Shares

–श्रीमती निकितासहित दुवैको सम्पत्ति जफत हुने
–सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा
–लामिछानेको सांसद पद निलम्बनमा

पोखरा ।

पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलगायत ४४ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार कास्की जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ ।

मुद्दा दर्ता गरिएका अन्यमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङलगायत छन्। कास्की जिल्ला अदालतका निमित्त श्रेस्तेदार ख्यामनारायण लामिछानेका अनुसार विभिन्न ८ वटा कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । त्यस्तै, ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिल कार्यालयको राय छ। समग्रमा ४४ व्यक्ति र कम्पनीलाई प्रतिवादी बनाइएको छ।

प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रुपियाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो। लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीमा गत वर्ष मुद्दा दायर भएका १९ जनाविरूद्ध कसुर र बिगो थप गर्दै पूरक अभियोगपत्र शुक्रवार नै अदालतमा दर्ता गरिसकेको छ। सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलाई संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनविरुद्धको कसुरमा मुद्दा चलाइएको छ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले तीन वटा मुद्दामा पूरक अभियोग दर्ता भएको जानकारी दिनुभयो।

‘पहिलाको सहकारी ठगीको कसुर त छँदै थियो तीबाहेक सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ’ –उहाँले भन्नुभयो । अभियोग पत्रमा लेखिएको छ, ‘प्रस्तुत पूरक अभियोगपत्रबाट कारबाही शुरू गर्न अनुरोध गरिन्छ ।’ आइतबार मुद्दा दर्ता भएपछि अब इजलाशबाट लामिछानेसँग बयान लिने काम हुनेछ । बयान सकिएपछि थुनछेकको बहस हुने र अदालतले सामान्य तारिख, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने प्रारम्भिक आदेश गर्नेछ ।

लामिछानेको सांसद पद अब निलम्बन हुने भएको छ । आइतबार तीनवटा मुद्दा दायर भएसँगै सांसद पद निलम्बनमा पर्ने अवस्था आएको हो । अब मुद्दा किनारा नलागेसम्म लामिछाने सांसद नरहने भएको हो । सम्पत्ति शुद्धीकरण ऐनअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बन हुनेछ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा (२७) बमोजिम लामिछानेको सांसद स्वतः निलम्बन हुने भएको हो । ऐनमा प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिने उल्लेख छ ।

२८ करोड बिगो दाबी

यसैबीच लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो दावीसहित मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीका अनुुसार गोर्खा मिडियाका पूर्वसञ्चालक एवं नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध ७४ करोड ३४ लाख ७१ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको छ।

अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको हो। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा र ३१ जनाविरुद्ध सहकारी ठगीमा आइतबार मुद्दा दायर गरिएको छ। सहकारी बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ पर्नुभएको थियो।