नर्भिकमा नेपालमै पहिलो पटक पेटको सुन्निएका रक्त नलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार


काठमाडौं ।

नर्भिक इन्टरनेशनल अस्पतालमा कलेजोका बिरामीमा देखा पर्ने पेटको सुन्निएको रक्त नली–ग्यास्ट्रिक फन्डल भ्यारेसको नेपालमै पहिलोपटक इन्डोस्कोपिक अल्ट्रासाउन्ड (इयुएस) गाइडेड ’क्वाइल एम्बोलाइजेशन’ प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलिस्ट तथा हेपाटोलोजिस्ट डा शेखर पौडेलको नेतृत्व तथा कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलिस्ट डा सन्दीपराज कुँवरको सहयोगमा इयुएस गाडडेड क्वाइल एम्बोलाइजेशन प्रक्रिया सम्पन्न भएको हो । 

ग्यास्ट्रिक फन्डल भ्यारेस पेटको सुन्निएका रक्त नली हुन्, जुन प्रायः कलेजोको रोगका बिरामीमा देखा पर्छ। यो अवस्था कलेजो रोग भएका बिरामीका लागि मृत्यु र गम्भीर स्वास्थ्य समस्याको प्रमुख कारणमध्ये एक मानिन्छ । समयमै उपचार नगरिएमा यी रक्त नलीहरू फाटेर जीवन जोखिममा पर्न सक्छ। नेपालमा कलेजोको समस्या दिनानुदिन बढिरहेको अवस्थामा यस्तो प्रविधिको आवश्यकता झनै महत्त्वपूर्ण बनेको चिकित्सकहरूको भनाइ छ । 

यो अत्याधुनिक प्रक्रियामा, क्यामेरा र अल्ट्रासाउन्ड प्रविधि जडित पातलो ट्यूबमार्फत् सुन्निएका रक्त नलीमा साना धातुका क्वाइल राखिन्छ। यी क्वाइलहरूले रक्त प्रवाह बन्द गरी भ्यारेसहरू फुट्नबाट बचाउँछन् । 

’क्वाइल एम्बोलाइजेशन’ को नेतृत्व गर्नु भएका डा. पौडेलले यो उपलब्धिले नेपालमा अत्याधुनिक उपचारको ढोका खोल्ने र धेरै जीवन बचाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, डा. कुँवरले यो सफलता नेपालको चिकित्सा क्षेत्रमा ठुलो उपलब्धि भएको बताउनुभयो । 

यो सफलताले अत्याधुनिक स्वास्थ्य सेवामा नर्भिक अस्पतालको नेतृत्वदायी भूमिकालाई अझ प्रस्ट बताएको अस्पतालले जनाएको छ ।