रोजगारी दिने शिक्षा प्रणाली बनाउनु पर्छ: प्रधानमन्त्री


काभ्रे ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताएका छन्।
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले प्रमाणपत्रले मात्रै दक्ष नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रस्ट्याउने बताए।

“अब जब दिने शिक्षा दिने हैन, जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढङ्गले जब दिने शिक्षातर्फ अघि बढ्ने छौँ, यसका निम्ति केयूलगायतका विश्वविद्यालय नमुनाका रूपमा अघि बढिरहेका छन्” प्रधानमन्त्री ओलीले भने ।

उनले विद्यार्थीलाई पढाईसँगै रोजागरीमा जोड्दै आत्मनिर्भर बनाउन देशका नमुना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उल्लेख गरेका छन् ।
 उनले भने, “सर्टिफकेट रोजगारीको एउटा आधार हो, दक्ष नागरिक हुन आचरण, व्यवहार, म्यानर र बोलीचालीले निर्धारण गर्छ ।”

प्रधानमन्त्री ओलीले सीप र उत्तरदायित्वबाट विद्यार्थीले देश र नागरिकको पहिचान कायम राख्नुपर्ने पनि बताए । “विद्यार्थीको आचारण, नैतिकता र सोच सकारात्मक हुनुपर्छ” उनलेले दीक्षित विद्यार्थीतर्फ इङ्गित गर्दै भने “विद्यार्थी मृदुभाषी, नम्र, मानवतावादी, शान्तिप्रिय र म्यानरतावादी हुनुपर्छ,  सफताका लागि अझ परिष्कृति म्यानर मिसाउनुपर्छ ।”