काठमाडौं विश्वविद्यालयमा पहिलो चरणको ३० औं दीक्षान्त समारोह सम्पन्न

13.63k
Shares

काभ्रे। 

काठमाडौं विश्वविद्यालयको ३० औं दीक्षान्त (पहिलो चरण) समारोह प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा सम्पन्न भएको छ । 

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिक्षा व्यवहारिक र प्राविधिकसहित जीवनोपयोगी बनाउन त्यही अनुसारका पाठ्यक्रम निर्माण गर्न विश्वविद्यालयलाई सुझाव दिए । विद्यार्थीहरुले पनि नेपाल र नेपालीहरुका लागि राष्ट्रियता, आवश्यकता र आयआर्जन उन्मुख कार्यमा सहभागी हुन कुलपति केपी शर्मा ओलीले विद्यार्थीहरुलाई अनुरोध गरे । उपकुलपति भोला थापाले सही सीप, प्रतिष्ठित डिग्री र बलियो मानसिकताबाट सुसज्जित भएकाले उच्च शिक्षामा न्याय र समानताका लागि महत्त्वपूर्ण कोसेढुङ्गा बनिरहेको बताए ।

शैक्षिक उत्कृष्टता, नवप्रवर्तन, सामाजिक प्रभाव र वैश्विक पहिचान निर्माण गर्न सम्पूर्ण ऊर्जा केन्द्रित गरेको उपकुलपति थापाले बताए । लक्ष्य हासिल गर्नका लागि स्थानीय र विश्वव्यापी बजारका बदलिँदा मागहरूलाई ध्यानमा राखी विशेष रूपमा तयार पारिएका कार्यक्रमहरू सञ्चालन गरेको उनले बताए । ज्ञानलाई लोकतान्त्रीकरण गर्ने काठमाडौँ विश्वविद्यालयको लक्ष्यअनुरूप हामीले उन्नत डिजिटल प्लेटफर्मद्वारा समर्थित सुलभ शैक्षिक विकल्प प्रदान गर्दै पहुँच बढाउने काम गरेको उपकुलपति थापाले बताए । वैश्विक रूपमा काठमाडौँ विश्वविद्यालयको ब्रान्ड मूल्यलाई बलियो बनाउनका लागि हामीले दृश्यात्मक र अनलाइन उपस्थिति निर्माण गर्दै आएको बताए । अनुसन्धानमा नवप्रवर्तन, शिक्षा र उद्योग, अन्तर्राष्ट्रिय सहकार्य र पहुँच गर्ने कार्यक्रमहरु अघि बढाइएको उनले बताए । 

काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ आर्ट्सको  मास्टर इन अर्वान स्टडिजमा ५ जना, मास्टर इन मिडिया स्टडिजमा १ जना र मास्टर अफ फाईन आर्टसमा २१ जनालाई पहिलोपटक उपाधि प्रदान गरिएको छ । त्यसैगरी स्कुल अफ एजुकेसनको मास्टर इन इनडिजाईनस एजुकेसन एण्ड डेभलपमेन्टमा १९ जना र मास्टर इन टे«ेनिङ्ग एण्ड डेभलपमेन्टमा १२ जनालाई पहिलोपटक उपाधि प्रदान गरिएको छ । स्कुल अफ इन्जिनियरिङको मास्टर इन हेल्थ इन्फरमेटिक्समा २ जना एम टेक इन इनर्जी सिस्टम ४ जनालाई पहिलो पटक उपाधि प्रदान गरिएको हो । स्कुल अफ मेडिकल साइन्सेजको ब्याचलर अफ साईन्स मेडिकल इमाईजिङ्ग टेक्नोलोजीमा ८ जना र ब्याचलर अफ साईन्स इन ल्यावोटरी मेडिसिनमा १० जनालाई पहिलोपटक उपाधि प्रदान गरिएको हो । तीसौं दीक्षान्त (पहिलो चरण) सम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४६ हजार ६ सय ९३ जना दीक्षित भएका छन् । तीमध्ये ५७ देशका ५ हजार ५ सय ४२ जना विदेशी विद्यार्थी रहेका छन् ।  दीक्षान्त समारोहअघि काठमाडौं विश्वविद्यालय सभाको ९८ औं बैठक प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विश्वविद्यालय परिसरमा बसेको प्रवक्ता एक्कुमाया पुनले जानकारी दिईन् । भारतीय प्रौद्योगिक संस्थान (इन्डियन इन्स्टिच्युट अफ टेक्नोलजी) पटनाका निर्देशक प्रा. डा. टी. एन. सिंहको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति विद्या भट्टराईको सहभागितामा उक्त हुने समारोह आयोजना गरिएको हो । 

समारोहमा विश्वविद्यालयका आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पीएचडी तहका ३ जना, पीजिडी तहका ५१ जना, एमफिल तहका ३३ जना, स्नातकोत्तर तहका ३ सय ८५ जना, स्नातक तहका ७ सय ८४ जना सहित जम्मा १ हजार २ सय ५६ जना विद्यार्थी दीक्षित हुनेछन् । तीमध्ये आर्टसका १११ जना, एजुकेसनका २५३ जना, इन्जिनियरिङका ७७ जना, लका ३९ जना, म्यानेजमेन्टका ४६५ जना, मेडिकल साइन्सेजका १८१ जना र साइन्सका १३० जना रहनेछन् । दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको सङ्ख्या ६ सय १५ (४८.९६ प्रतिशत) र महिलाको सङ्ख्या (६ सय ४१) ५१.०४ प्रतिशत रहनेछ । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू ६ प्रतिशत रहेका छन् । तीमध्ये भारत, चीन, श्रीलङ्का, बाङ्लादेश, बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स, इरान र भूटान गरी ९ देशका ७५ जना विदेशी विद्यार्थी रहनेछन् । तीमध्ये स्कुल अफ आर्ट्सका १७ जना, स्कुल अफ एजुकेसनका ५ जना र स्कुल अफ मेडिकल साइन्सेजका ५३ जना रहेका छन् ।