कार्साङले दिएको उत्साह


काठमाडौं ।

आगामी पुष २६ गते रिलिजमा आउने फिल्म कार्साङलाई लिएर यसको निर्माण युनिट उत्साहित छ। फिल्मको टिजरले उत्साहजनक प्रतिक्रिया पाइरहेकोले उत्साहित भएको यसका निर्देशकले बताएका छन्।

फिल्मको विषय, संस्कृतिको उठान र टिजरमा देखिएको सम्बन्ध र आम समुदायमा हुने व्यवहारलाई दर्शकले मन पराइरहेको निर्देशक यश शेर्पाले बताए।

‘विशेष गरी हामीले जुन समुदायको संस्कृति देखाएका छौँ। त्यसलाई दर्शकले मन पराइरहनु भएको छ। कमै मात्रै फिल्ममा देखिएको शेर्पा समुदायको कथा हेर्न पाइने भयो भन्ने प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ’ निर्देशक शेर्पाले भने, ‘आम नेपाली गाउ“ले जीवनको कथा र परिवेश हेर्न पाइने भयो भन्ने प्रतिक्रिया व्यक्तिगत रूपमा र सामाजिक सञ्जालमार्फत पनि आइरहेकोले हामी थप उत्साहित छौँ।

सामाजिक सञ्जाल र शुभेच्छुकहरूबाट आएको प्रतिक्रियाले पोष्टप्रोडक्सनमा रहेको फिल्ममा थप मिहिनेत गर्ने हौसला मिलेको उनले बताए। केही दिनअघि सार्वजनिक टिजरमा ग्रामीण परिवेश र शेर्पा समुदायको संस्कृति प्रस्तुत गरिएको छ। जसमा धामी बस्ने दयाहाङ राई र उनको गरिबीदेखि जितु नेपालका श्रीमान् श्रीमतीको सन्तान नहुँदाको तनाव समेटिएको छ।

साथै ऋण र सरसापटले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा पूरा गर्न नसक्ने अभिभावकको चरम गरिबी टिजरमा समावेश छ। यश शेर्पाको डेब्यु निर्देशन रहेको कार्साङमा कथा पनि निर्देशक स्वयंले लेखेका छन्।

अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङको मुख्य भूमिका रहेको फिल्ममा सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पा, बाल कलाकार राशी लिम्बु, सोहन थापालगायतका कलाकारले अभिनय गरेका छन्।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्स्को व्यानरमा छाया“कार पुरुषोत्तम प्रधानद्वारा निर्मित फिल्ममा छायांकन निर्माता प्रधानकै छ।