पोर्चुगलका स्टार फुटबलर नानीले भने फुटबललाई अलविदा

1.79k
Shares

पोर्चुगलका स्टार फुटबलर नानी (लुईस कार्लस अलमैदा दा कुना) ले यही आइतबार उनको ब्यावसायिक फुटबल करिअरमा पूर्णविराम लगाएका छन् । पूर्व म्यानचेस्टर युनाइटेडका ३८ वर्षीय ‘फरवार्ड’ नानीले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘फुटबललाई अलविदा भन्ने बेला आएको छ । मैले आफ्नो व्यावसायिक फुटबल करिअरलाई अन्त्य गर्ने निर्णय लिएको छु।’

आफ्नो खेल करिअरमा भ्यालेन्सिया, लाजियो, ओल्र्यान्डो सिटी, भेनेजिया, मेलबर्न भिक्टोरी र अदाना डेमिरस्पोर जस्ता विश्वभरका १० वटा क्लबको जर्सी लगाएका नानीले सन् २००८ मा युनाइटेडबाट च्याम्पियन्स लिग र सन् २०१६ मा पोर्चुगलबाट युरोपियन च्याम्पियनसिपको उपाधि जितेका थिए । नानीले पछिल्लो समय घरेलु क्लब एस्ट्रेला दा अमादोराबाट व्यावसायिक फुटबल खेल्दै आएका थिए ।

नानीबारे केही तथ्यहरू :

-सन् २००७ मा म्यानचेस्टर युनाइटेडमा आबद्ध भए यता उक्त इंग्लिस क्लबबाट चार पटक प्रिमियर लिग जिते ।

-क्लब र अन्तर्राष्ट्रिय फुटबलमा कुल ७ सय म्याच खेले ।

-कुनैबेला युनाइटेडमा सहकर्मी क्रिस्टियानो रोनाल्डोको छाँयामा पर्ने गरेका नानीले पछि रोनाल्डोको अनुपस्थितिमा आफ्नो छुट्टै पहिचान बनाए ।

-पूर्व स्पोर्टिङ सिपीका खेलाडी नानीले सन् २०१०–११ सिजनमा युनाइटेडको जर्सीमा ९ गोल गर्दा १४ असिस्ट दिए । त्यही वर्ष उनले युनाइटेडको वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जिते ।

-यस सिजनमा उनको जन्मस्थानको क्लब एस्ट्रेला अमादोराका लागि पोर्चुगलको शीर्ष डिभिजन खेले ।

-एस्ट्रेलाबाट पछिल्लो महिना उनको पूर्व क्लब स्पोर्टिङ सीपीको विरुद्ध अन्तिम म्याच खेले ।

-पोर्चुगलका लागि ११२ क्यापमा २४ गोल गरेका उनी सन् २०१६ मा युरोपियन च्याम्पियनसिप जित्ने टोलीको सदस्य पनि थिए ।