काठमाडौं सीडीओको ढोका सधैं खुला

अब सीडीओ भेट्न चिट पठाउनु र घण्टौं कुर्नुपर्दैन


काठमाडौं ।

सधैं भीडभाड भइरहने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा अहिले खासै भीड हुँदैन । प्रमुख जिल्ला अधिकारीलाई भेट्न कुनै चिट लेखेर पठाउनुपर्दैन र कैयौं समय कुर्नु पनि पर्दैन । किनकि, काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जयनारायण आचार्यले आम सेवाग्राही र सर्वसाधारण जनतालाई लक्षित गरी उनीहरूलाई सहज पहुँच दिन आफ्नो कार्यकक्षको ढोका दिनभर खुला राख्ने निर्णय गर्नुभएको छ।

उहाँको यो निर्णयसँगै अहिले जोसुकै सेवाग्राहीले पनि सीडीओ आचार्यलाई तत्काल भेटेर आफ्ना गुनासा, समस्या र पीरमर्का राख्न सक्ने अवसर पाउन थालेका छन् । नागरिकलाई आफ्नो पीरमर्का र गुनासा सुनाउन सहज होस् भनेर प्रमुख जिल्ला अधिकारी आचार्यले कार्यालय समयभर आफ्नो कार्यकक्षको ढोका खुला नै राख्न थाल्नुभएको हो ।

७७ वटै जिल्लाका मानिसहरू बसोबास गर्ने काठमाडौंलाई७८औं जिल्लाका रूपमा पनि चित्रण गर्ने गरिन्छ । त्यसैले पनि काठमाडौं जिल्ला प्रशासनमा दैनिक हजारौं नागरिक विभिन्न काम, समस्या र गुनासा लिएर प्रमुख जिल्ला अधिकारीसमक्ष आउने गर्छन्। ती हजारौं नागरिकको गुनासो सुन्न र समाधान गर्न प्रमुख जिल्ला अधिकारी आचार्य आफ्नो कार्यकक्षको ढोका खुला राखी जुनसुकै बेला पनि तम्तयार भएर बस्ने गर्नुभएको छ। त्यसैले उहाँ यतिखेर काठमाडौंका जनताको वास्तविक सीडीओका रूपमा प्रशंसा बटुल्न सफल भइरनुभएको छ।

बिहीबार आचार्यको कार्यकक्षमा पुग्दा बाहिर खासै भीडभाड थिएन । सेवाग्राहीहरू कुनै रोकतोक आरामले सीडीओ आचार्य भएको ठाउँमा गएर आफ्ना पीरमर्काहरू राखिरहेका थिए। बाहिर कुनै भीड थिएन, न त सीडीओ साबलाई भेट्न भन्दै कुनै चिट लेखेर पठाउनुपर्ने बाध्यता नै थियो।

आचार्यले आम सेवाग्राही नागरिकका पीरमर्का र गुनासाहरू तत्काल सम्बोधन गर्न र पारदर्शिता कायम राख्न आफ्नो कार्यकक्षको ढोका दिनभर खुला राख्ने निर्णय गरेसँगै सेवाग्राहीले निकै सहज, राहत र आराम महसुस गरेका छन् । काठमाडौं सुन्धारा निवासी राममाया श्रेष्ठले आफूले सीडीओको कार्यकक्षमा आउनासाथ उहाँसँग आफूहरूको समस्या राख्न पाएको र सीडीओ आचार्यले समस्याहरू सुनेर तत्काल सम्बोधनको पहल थालेको बताउनुभयो।

‘पहिला पहिला सीडीओ साबलाई भेट्न निकै कुर्नुपथ्र्यो, ढोका लाग्थ्यो अहिले त उहाँको ढोका जतिखेर पनि खुला हुने रहेछ, हामीजस्ता सर्वसाधरणले पनि उहाँलाई सजिलै भेट्न पाउने व्यवस्था भएछ, यो हामीजस्ता सर्वसाधारण र सोर्सफोर्स लगाउन नसक्ने नागरिकका लागि निकै खुसीको कुरा हो’ –श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

कुनै बेला काठमाडौंका सीडीओलाई भेट्न मन्त्रीलाई भेटेजस्तै कठिन हुन्थ्यो। सीडीओको कार्यकक्षको बाहिर उहाँलाई भेट्न सर्वसाधारणको ठूलै भीड लाग्ने गथ्र्यो र घण्टौं कुर्नसमेत पथ्र्यो तर अहिले आम नागरिक र सेवाग्राहीहरू यो समस्याबाट मुक्त भएका छन् । कतिपयले त उहाँलाई ढोकाबाटै आफ्ना समस्याहरू राख्न सक्छन्। प्रमुख जिल्ला अधिकारी आचार्यको यस प्रकारको सेवाग्राहीमैत्री कार्यले विभिन्न काम लिएर सीडीओ कार्यालय धाउने सर्वसाधारणहरू मक्ख देखिन्छन्।

‘हामी जनताका सेवक हौं, जनताको गुनासो र पीरमर्का सम्बोधन गर्न जतिखेर पनि तत्पर हुनुपर्छ, त्यसैले जनताको सहज पहुँचका लागि मैले आफ्नो कार्यकक्षको ढोका सधैं खुला राख्ने निर्णय गरेको हुँ’ –काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यले नेपाल समाचारपत्रसँग भन्नुभयो । प्रजिअ आचार्यले सेवाग्राहीहरूले अब आफूलाई भेट्न कुनै चिट लेख्नु नपर्ने र कैयौं समय कुनुपर्ने बाध्यता नरहेको बताउनुभयो।

सीडीओ आचार्यको यो कार्य सुशासन र पारदर्शिताको दृष्टिले पनि नमूनायोग्य देखिन्छ । उहाँको कार्यकक्षको ढोका खुला नै रहने गर्दा उहाँलाई भेट्न आउने मानिसहरू कस्ता प्रकृतिका छन् भन्नेबारेमा अन्य जोसुकैले पनि थाहा पाउन सक्छन् । साथै, उहाँसँग भित्र हुने गरेका छलफल र कुराकानीसमेत पारदर्शी किसिमले हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी आचार्यको यो कदमले उहाँ पारदर्शी र सुशासन कायम राख्न दत्तचित्त रहने प्रशासकका रूपमा स्थापित हुनुभएको छ ।

आचार्य काठमाडौंको प्रमुख जिल्ला अधिकारीको रूपमा आउनुभएको ३ महिना पुग्दै छ । यो छोटो अवधिमा उहाँले काठमाडौं प्रशासनको मात्रै नभएर जिल्लाभरका सरकारी कार्यालयको सेवा प्रवाह प्रभावकारी बनाउन, समग्र जिल्लाको शान्ति सुरक्षालाई सुदृढ बनाउन तथा सुशासन कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्दै अगाडि बढ्नुभएको जनाइएको छ।

उहाँले हरेक महिनाको ५ गते जिल्लास्थित कार्यालय प्रमुखको बैठक राखेर अन्तरनिकायगत समस्या पहिचान गरी समाधानका पहलहरू थाल्नुभएको छ । यसका लागि आचार्यले जिल्लास्तरीय समस्या समाधान समितिलाई सक्रिय पार्नुभएको छ । यसै गरी आवश्यकताअनुसार जिल्ला सुरक्षा समन्वय समितिको बैठक राखेर जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सुदृढ पारिँदै लगिएको प्रजिअ आचार्यले बताउनुभयो ।

त्यसै गरी अहिले काठमाडौं प्रशासनले २०४६ साल पछिका पुराना अभिलेखलाई व्यवस्थित पार्ने काम गरिरहेको छ । गत असोजमा आएको विनाशकारी बाढीपहिरोका कारण काठमाडौंमा क्षति व्यहोरेकाहरूको घरपरिवारमा नै पुगेर तत्काल राहत उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । यसै गरी कालोबजारी गर्नेहरूविरुद्ध पनि विभिन्नखाले कारबाही थालिएको र जग्गा अतिक्रमण रोक्न विभिन्न उपायहरू अवलम्बन गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो।


हामी जनताका सेवक हौं, जनताका गुनासा र पीरमर्का सम्बोधन गर्न जतिखेर पनि तत्पर हुनुपर्छ, त्यसैले जनताको सहज पहुँचका लागि मैले आफ्नो कार्यकक्षको ढोका सधैं खुला राख्ने निर्णय गरेको हुँ ।

जयनारायण आचार्य
प्रमुख जिल्ला अधिकारी, काठमाडौं