लैण्ड फर फ्युचर (एल.ओ.एफ.) नामक वातावरण संरक्षणमा समर्पित युवाहरुको संस्थाले विश्व माटो दिवसको अवसरमा बिहीबार काठमाडौंमा एक अन्तर्कि्रयाको आयोजना गर्यो । एलओएफको पाचौं वार्षिकोत्सवको अवसरमा कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजित सो कार्यक्रमका बोल्दै मिस नेपाल २०२३ सृच्छा प्रधानले माटोमा जन्मेर, माटोमै खेलेर हुर्केका हामीले अहिले माटोको महिमा विर्सेको विचार राख्दै माटो संरक्षणमा युवाहरुले महत्वपूर्ण भूमिका खेल्नपर्ने आवश्यकता औंल्याएकी छन् । आफू वातावरण विज्ञानको विद्यार्थी भएर पनि विदेश गएर पढ्ने बेलामात्र माटोको महत्त्व बुझेको अनुभव सुनाउंदै उनले पूर्वीय दर्शनमा पंचतत्वमा गनिने हावा, पानी, माटो इत्यादि मध्ये माटोको महत्त्व अझ बढी भएको विचार व्यक्त गरेकी छन् ।
माटो र पानी मानिसको जीवनको आधार हो तर अहिले दुबैको स्थिति ह्रासोन्मुख छ, जसको कारण मानिसको जीवन जोखिमपूर्ण भएको छ, संस्थाका संरक्षक तथा पूर्व वातावरण मन्त्री सुनिल मानन्धरले औंल्याए । माटोको विनाशले वातावरण मात्र प्रदूषित गर्ने नभै खाद्य सुरक्षामा चुनौति थप्नुका साथै त्यसले जलवायु परिवर्तनको समस्या पनि निम्त्याउने हुँदा माटोको उचित संरक्षणमा सबैले आआफ्नो क्षेत्रबाट योगदान दिनपर्ने विचार व्यक्त गरे ।
पूर्व विज्ञानमन्त्री गणेश साहको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा एक प्रस्तुतीकरण दिनेक्रममा मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहायक प्राध्यापक अनुपमा श्रेष्ठले माटोका गुणस्तर वृद्धि गर्नमा माइक्रोअर्गानिज्मको धेरै महत्त्व रहेको चर्चा गर्दै वाली विरुवामा लाग्ने रोग नियन्त्रण गर्न जैविक प्रविधिको प्रयोग गर्नु उपयुक्त हुने धारणा राखिन ।
प्रतिक्रिया