काठमाडौं ।
भारतीय पूर्व क्रिकेटर शिखर धवन हाल नेपालमा पहिलो पटक भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा खेल्दैछन् । शिखर एनपीएलमा खेल्ने सबैभन्दा चर्चित खेलाडी समेत हुन् । कर्णाली याक्सबाट खेलेका शिखरले दोस्रो खेलमा शानदार खेल देखाए । पहिलो खेलमा खासै प्रभाव छाड्न नसकेको शिखरले दोस्रो खेलमा अर्धशतक प्रहार गरेर पुनरागमन गरेका छन् । यानि कि गब्बर इज ब्याक भएको छ ।
शिखरलाई गब्बर उपनामले चिनिन्छ । कीर्तिपुर मैदानमा पनि उनलाई समर्थकहरूले गब्बर गब्बर बोलाएको दृश्यले प्रमाणित गर्छ कि उनी गब्बर नामले लोकप्रिय छन् । हिन्दी चलचित्र जगतमा सर्वाधिक लोकप्रिय चलचित्र ‘शोले’ का एक पात्र गब्बर सिंहको उपनाम उनले पाएका हुन् ।
उनले गब्बर उपनाम पाएको बारे हालै एक अन्तर्वार्तामा बताएका थिए-म रणजी ट्रफी खेलिरहेको थिएँ । म सिल्ली प्वाइन्टमा फिल्डिङ गरिरहेको थिएँ । विपक्षी टिमका खेलाडीले ठूलो साझेदारी गरिरहेका थिए । अनि मेरो मुखबाट गब्बर सिंहको डायलग त्यत्तिकै निस्क्यो—बहुत याराना है शुअरके बच्चे ’ सबैजना गलल्ल हाँसे । यसपछि मेरा कोचले मेरो नाम गब्बर राखिदिनुभयो ।
अनि त सबैले मलाई गब्बर गब्बर भन्न थाले । क्रिकेट समर्थकले मलाई अहिले पनि विश्वमा गब्बर उपनामले चिन्छन् ।
यही उपनाम पाएका गब्बरको ब्याक भएको छ यस एनपीएलमा । कर्णाली याक्सबाट खेलेका शिखरको पहिलो खेलमा खासै राम्रो प्रदर्शन भएन । तर, दोस्रो खेलमा भने उनले ७२ रनको शानदार इनिङ खेले । पहिलो खेलको तुलनामा ४० वर्षमा टेकेका शिखरले ४ चौका र ५ छक्का प्रहार गर्न सफल भए ।
पहिलो खेलमा उनले ३ चौकाको सहयोगमा १४ रन जोडेका थिए । शिखरको आक्रामक ब्याटिङले भने कर्णाली याक्सलाई जित दिलाउन सकेन । कर्णालीले लगातार दुई खेलमा पराजय बेहोर्न परेको छ । एनपीएलमा सबैभन्दा कम लगानी गरेको टोली कर्णालीले १ सय ४९ रन बनाउँदा काठमाडौं गुर्खाजले ७ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो । यसअघि कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।
शिखरबारे केही जानकारी
—सबै फम्र्याटमा गरी भारतका लागि २६९ म्याच खेलेर १० हजार ८ सय ६७ रन बनाएको ।
—३४ टेस्ट म्याचमा ७ शतक र ५ अर्धशतकको सहयोगमा २,३१५ रन बनाएको ।
—१६७ वानडे म्याचमा ६,७९३ रन बनाएको । वानडेमा १७ शतक प्रहार गरेको ।
—६८ टी २० अन्तर्राष्ट्रिय म्याचमा १,७५९ रन बनाएको । यो फरम्याटमा शतक भने प्रहार गर्न नसकेको ।
—सन् २०१३ मा अस्टे«लियाबिरुद्ध टेस्टमा डेब्यु गरेको । पहिलो टेस्टमै ८५ बलमा शतक प्रहार गर्दै डेब्यु टेस्टमा छिटो शतक बनाउने रेकर्ड राखेको ।
—सन् २०१३ मा भारतले आईसीसी च्याम्पियनसिप ट्रफी जित्दा टोलीका महत्वपूर्ण खेलाडी ।
—फ्रेन्चाइजी प्रतियोगितामा २२२ म्याचमा सहभागी भएर ६,७६९ रन बनाएको ।
—इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेको । सन् २०१६ मा सनराइजर्स हैदराबादलाई आईपीएल उपाधि दिलाएको ।
प्रतिक्रिया