किन कुद्छन् कुकुर गाडीको पछाडि

1.6k
Shares

कुुकुर यस्तो जनावर हो जसले आफ्नो मालिकका लागि ज्यान दिन पनि तयार हुन्छ । कुुकुरहरू प्रायजसो आफ्नो क्षेत्रभन्दा बाहिर जाँदैनन् भने अन्य कुकुरलाई आफ्नो क्षेत्रभित्र प्रवेश गर्न पनि दिँदैनन् । यदि कुनै कुकुर झुक्किएर आयो भने त्यसलाई आफ्नो क्षेत्रबाट लखेटेरै छाड्छन् ।


कुकुरले आफ्नो क्षेत्र भन्दा बाहिर जांँदा सोचेर मात्रै जाने गर्दछ । कुकुरले मोटरसाईकल तथा स्कुटर, गाडीलाई लेखेटी रहेको देखिन्छ । कुकुरले किन सवारी साधनलाई लखेटिरहेको छ भन्ने बारेमा रोचक तथ्य फेला परेको छ । कुकुरले बिशेष गरी दुई पाङ्ग्रे सवारी साधनलाई लखेट्ने गरेको कारण दुर्घटना भएर मानिसको मृत्यु समेत हुने गरेको पाइन्छ । कुकुरले कुनै बेला त त्यस्ता सवारी साधनलाई धेरै परसम्म पिछा गरेर जाने गरेको पाइन्छ ।


आखिर किन कुद्छन् कुकुर गाडीको पछाडि ? विज्ञान भन्छ– कुकुरहरूको यस्तो व्यवहारका लागि तपाईँ जिम्मेवार हुनुहुन्न, बरू तपाईंको गाडीको टायर कुकुरको निसानामा पर्ने गरेको छ । कुकुरहरूले आफू बसेको क्षेत्रका रूखहरू र सवारी साधनहरूमा पिसाब गरेर आफ्नो क्षेत्र छुट्याउने गरेको पाइन्छ ।


कहिलेकाहीँ सवारी पार्किङ क्षेत्रमा अथवा कतै राखेको बेला कुनै कुकुरले टायरमा पिसाब गरिदिन्छ । कुकुरको सुँघ्ने शक्ति कडा हुने भएकाले त्यसरी पिसाब गरेको सवारी साधन आउँदा अन्य क्षेत्रका कुकुर आएको ठानेर लखेट्ने गरेको विज्ञहरूले बताएका छन् ।

अर्को कारण, कुकुरहरूलाई गाडीको बत्ती, आवाज, गाडीको घुमेको टायर मन पर्न सक्छ । उनीहरूलाई त्यसले आकर्षित गर्छ, त्यसैले गाडीको पछि कुदेका हुन सक्छन् । त्यस्तै केही सवारी साधनको ठूलो आवाजले कुकुरहरूमा डर पैदा गर्छ र त्यसलाई लखेट्छन् । त्यसैगरी कुनै सवारी साधनको पछाडि दौडँदै गर्दा उनीहरूको साथी घाइते भए वा उक्त सवारी साधनले किचिएर दुर्घटनामा मृत्यु भएको अवस्थामा पनि कुकुरहरूले सवारी साधन पछ्याउँछन् ।


यदि तपाईँको क्षेत्रमा सडकका कुकुरहरूले सवारी साधनलाई पछ्याइरहेका छन् भने सजिलै बुझ्न सकिन्छ यो गाडी तपाईंको क्षेत्रको होइन । यस्तो बेला मोटरसाइकल र गाडीलाई आवश्यकताअनुसार रोकेर बिस्तारै कुकुरलाई हटाउन सकिन्छ ।
एजेन्सीको सहयोगमा