काठमाडौं ।
नेपाल र भारतमा विभिन्न नामबाट धम्की दिँदै आएका हरिचन्द्र फुयाल र विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएका दुर्गा प्रसाईंबीच पटकपटक फोनमा कुराकानी हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाम लिएर विभिन्न व्यक्ति वा समूहलाई धम्की दिँदै आएका फुयाललाई प्रहरीले झापाबाट पक्राउ गरेपछि प्रसाईंको निर्देशनमा नै फुयालले उद्योगी तथा व्यापारीलाई धम्की दिएको पाइएको छ । भारतको तिहाड जेलमा रहेका विश्नोईको मान्छे भन्दै धम्की दिएर रकम असुल गर्दै आएका फुयाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी सार्वजनिक गरेको थियो ।
प्रहरीले उनीमाथि अनुसन्धान गर्ने क्रममा प्रसाईं र फुयालबीच दर्जनौंपटक कुराकानी र एसएमएससमेत गरेको तथ्य फेला परेको उक्त घटनाको अनुसन्धान गरिरहेका एक अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए। प्रसाईंकै योजनामा फुयालले व्यवसायी तथा उद्योगीहरुलाई फोन गरेर धम्की दिएको निष्कर्षमा प्रहरी पुगेको छ।
कहिले नवीन प्रधान, कहिले हरिचन्द्र फुयालको नामबाट धम्की दिने गरेको र भारतीय फोन नम्बर प्रयोग गरेर धम्की दिने गरेको भन्दै सीआईबीले थप अनुसन्धान अघि बढाएको थियो । फुयालले आफूले प्रसाईंको निर्देशनमा उक्त हर्कत गरेको दाबी गरेपछि उनीहरुबीचको सम्बन्धको बारेमा सीआईबीले अनुसन्धान शुरु गरेको थियो ।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले यो घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिनुभयो। आपराधिक पृष्ठभूमिका फुयाल यसअघि पनि पटकपटक पक्राउ पर्ने जेल जाने र छुट्दै आएका थिए।
प्रतिक्रिया