काठमाडौँ ।
उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले बिआरआईको विषयले सरकारमा समस्या नआउने बताएका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेशले शनिवार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले बिआरआईमा नेपाली कांग्रेस र नेकपा एमालेबीच फरक मत नरहेको बताएका हुन ।
अहिले देशको अर्थतन्त्रले थप ऋण धान्न सक्ने अवस्था नरहेको भन्दै उहाँले कांग्रेस अहिले अनुदानकै पक्षमा रहेको उनको भनाइ थियो । उपप्रधानमन्त्री सिंहले कुनै योजनामा ऋण लिएर काम गर्दा तिर्न सक्ने अवस्थामा ऋण लिन सकिने भएपनि अहिले नै ऋण लिइहाल्ने अवस्था नरहेको बताए ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा उठाउने विषयमा कांग्रेस– एमालेले संयुक्त रूपमा नै एजेण्डा तयार गरेको पनि उनले बताए ।
यसअघि चीनले दिने घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्ने पनि उनको भनाइ थियो ।
त्यस्तै उनले ओली सरकार ढल्छ भनेर अफवाह फैलाइएपनि त्यसमा सत्यता नरहेको दाबीसमेत गरेका छन ।
‘कांग्रेस सभापती शेरबहादुर देउवा बोलीमा इमानदार हुनुहुन्छ भन्ने कुरा सबैलाई थाहा छ । प्रधानमन्त्रीजीले सहमति अनुसार हस्तान्तरण हुने बताइरहनुभएको छ, सरकारमा समस्या छैन्’ उनले भने । राजनीतिक स्थायीत्व र स्थीरताको जगमा आर्थिक समृद्धि र विकासनै सरकारको प्रमुख प्राथमिकता रहेको पनि उपप्रधानमन्त्री सिंहले बताए ।
त्यस्तै, उहाँले संघियताको मर्मअनुसार तल्लो तहमा शक्ति हस्तान्तरण नहुँदा अहिले संघीयतामा नै प्रश्न उठेको जनाए । सिंहले संघीयतालाई बलियो बनाउन संविधानको व्यवस्थाअनुसार प्रदेश र स्थानिय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा उनको जोड थियो ।
असहज अवस्थामा देशलाई कांग्रेसले नै निकास दिएको चर्चा गर्दै अब पनि देशको आर्थिक समृद्धि र विकास कांग्रेसले नै गर्ने र त्यसका लागि सुदृढ र एकताबद्ध कांग्रेस बनाउनुपर्नेमा जोड थियो ।
प्रतिक्रिया