काठमाडौँ ।
मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा आफ्नो पक्षमा परिणाम निकाल्ने प्रयासस्वरुप संसदका ठूला राजनीतिक दलहरुले कीर्तिपुरमा शक्ति प्रदर्शन गरेका छन् । निर्वाचन प्रचार प्रसारको अन्तिम दिन बिहीबार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित दलका शीर्ष नेताहरु कीर्तिपुर केन्द्रित भएर शक्ति प्रदर्शन गरेका हुन् ।
कीर्तिपुरढोका नयाँ बजारस्थित लोकतान्त्रिक चोकमा नेपाली कांग्रेसले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएर चुनावी सभा गरेको छ । त्यस्तै नेकपा एमालेका शंकर पोखरेलले पाँवा दोवाटोमा अन्तिम चुनावी सभालाई सम्बोधन गरे भने नेकपा माओवादी केन्द्रले खासीबजार गरेको चुनावी सभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे । त्यस्तै उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे लगायतका शीर्ष नेताहरूको उक्त चुनावी सभालाई सम्बोधन गरेका छन् । सभालाई सम्बोधनका क्रममा सबै दलका नेताहरुले आफ्नो पक्षमा जनमत एकाकार भएको दाबी गरेका छन् ।
कीर्तिपुर नगरपालिकाको मेयरका लागि १६ मंसिरमा हुन लागेको चुनाववलार्ई दलहरूले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । कांग्रेसको तर्फबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर, माओवादीबाट शिवशरण महर्जन उम्मेदवार छन् । दल र स्वतन्त्र गरी यहाँ २० जना उम्मेदवार छन् । एकीकृत समाजवादीका भानु रिजालले माओवादीका उम्मेवारलाई र स्वतन्त्र उठेको नरेश श्रेष्ठले राजमान मानवलाई समर्थन गरेका छन् । स्वतन्त्र उम्मेदवार राजमानको पक्षमा धरानका मेयर हर्क साम्पाङले चुनावी सभामा सम्बोधन गर्दै आएका छन् ।कांग्रेसबाट मेयरका उमेदवार कृष्णमान डंगोलले मतदातासँग कीर्तिपुरलाई सांस्कृतिक सहर बनाउने वाचा गरेका छन् ।
यसअघिका मेयर स्वर्गीय राजकुमार नकर्मीले थालेका राम्रा काम सम्पन्न गर्ने र नयाँ काममार्फत नगरवासीको सेवा गर्ने उनले विश्वास दिलाए । डंगोलले स्थानीय तहको बजेटलाई अधिकतम उपयोग गरेर विकासमा लगाउने र अपुग बजेटका लागि संघ र प्रदेशसँग समन्वय गर्ने समेत बताएका छन् । ‘मेयरको काम नै जनतासँगै रहेर सेवा गर्ने हो’, उनले भने– ‘शिक्षा, स्वास्थ्य रोजगारीलाई प्रवर्धन गर्ने उद्देश्य राखेको छु । कीर्तिपुर आफैँमा सांस्कृतिक सहर हो । यसलाई सांस्कृतिक सहरकै रूपमा विकास गर्ने मेरो धोको छ । यसमा नगरवासीले साथ दिनुहुने छ भन्ने विश्वास लिएको छु ।’
उता एमालेका उमेदवार सुरेन्द्र मानन्धरले कीर्तिपुरलाई अपनत्वको महसुस गराउने बताए । विकासलाई समानुपातिक ढंगले वितरण गर्ने बताउदै उनले भने–‘अपनत्वको महसुस हुन सक्ने गरी अघि बढाउने छौँ । कुनै किसिमको विभेद हुने छैन । विकासलाई समानुपातिक वितरणमा लानेछौँ । हरेक कुरा समानुपातिक ढंगबाट जाने छ ।’ उनले यसअघि मेयर बनेका राजकुमार नकर्मीको निधनपछि समन्वयकारी अभिभावकको अभावमा जनप्रतिनिधिले काम गर्न नसकेको बताए । त्यस्तै नेकपा माओवादी केन्द्रका कीर्तिपुर नगरपालिका प्रमुखका उम्मेदवार प्राडा शिवशरण महर्जनले निर्वाचित भएमा भ्रष्टाचारमुक्त व्यवस्थित नगरपालिका बनाउने प्रतिबद्धता जनाएका छन् ।
नेकपा एसको समेत समर्थन रहेकाले उहाँ सझा उम्मेदवार हुनुभएको पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले दाबी गरे । ‘जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत हो, यो निर्वाचन’, उनले भने– ‘मलाई विश्वास छ, नेपाली जनता भ्रष्टाचारका पक्षमा हुन सक्दैनन्, भ्रष्टाचारका विरुद्ध छन् ।’ नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका पक्षमा रहेको भन्दै हेर्दा उपचुनाव भए पनि यथार्थमा भ्रष्टाचारका पक्ष र विपक्षको जनतमसंग्रहजस्तै भएको दाहालको दाबी छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले चुनाव जितेका ठाउँमा कांग्रेसले घोषणा पत्र नभई काम गरेको परिणाम पत्र लिएर जाने बताएका छन् । ‘जहाँ कांग्रेसको वडाध्यक्ष र मेयर जितेको छ, त्यहाँ कांग्रेसले प्रतिबद्धता पत्र वा घोषणा पत्र लिएर जाने होइन, त्यहाँ कांग्रेसले पाँच वर्ष गरेको कामको परिणाम पत्र लिएर जाने हो ।’ कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावको सङ्केत दिने उनले बताए ।
स्थानीय तहको निर्वाचनमा पार्टीका शीर्ष नेता देखि पूर्वप्रधानमन्त्री समेत गएर शक्ति प्रदर्शन गर्दा कार्यक्रम स्थलमा मतदाता भन्दा बाहिरबाट गएका नेता कार्यकर्ताहरुको सहभागिता बढी थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने बुधबार नै चुनावी सभा गरिसकेको छ । उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कीर्तिपुर नगरपालिकाको मेयरको चुनावमा तटस्थ बस्ने भएको छ । मेयरमा उम्मेदवारी नदिएको रास्वपाले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने बताउँदै आएपनि उपचुनावका कमाण्डर गणेश पराजुलीले कुनै एउटा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्न व्यवहारिक कठिनाइ आइपरेको बताए ।
प्रतिक्रिया