गाउँमा शान्ति कायम र स्कुल चलाउन  ज्ञान विज्ञान भगवत् सप्ताह 

6.2k
Shares

 बाजुरा। 

 जिल्लाको त्रिबेणी नगरपालिका वडा नं सता खिरपाटा स्थित नाटेश्वरी आधारभूत विद्यालय खिरपाटामा गत हप्ता देखि शान्तिपाठ सहित “श्री बडिमालिका नाट्श्वरी ज्ञान विज्ञान श्रीमद् भागवत महायज्ञ सप्ताह ”शुरु भएको छ । यही मंसिर एक गते देखि शुरु भएको उक्त महायज्ञमा गुरु नारायण प्रसाद सञ्ज्याल मुख्य कथावाचक रहेको टोलीले महायज्ञ सप्ताह सञ्चालन गरेको हो  ।  ज्ञान महायज्ञमा भागवत गिता वाचन,  प्रत्यक बेलुकी आरती गायन र विहान योग सिविर सहित सञ्चालन गरिएको छ। समाजमा पछिल्लो समयमा बिकृती विसंगतिजन्य अमानवीय क्रियाकलाप बढेर समाज विखण्डित हुंदै गएकोले समाजमा सद्भाव र भातृत्व जगाउन अभिप्रेरित  गर्ने अभिप्रायले  ज्ञान महायज्ञ सञ्चालन गरिएको हो ।  

    ज्ञान विज्ञान महायज्ञका आयोजक एवं नाटेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेमराज पाध्यायका अनुसार विशेषगरी २०७९ मंसिर चार गतेको निर्वाचनका दिन  नाटेश्वरी विद्यालयको मतदान केन्द्रमै गोली चल्दा दुईजना होनोहार स्थानीय युवा सञ्जीव अयडी र चेतनदिप अयडीले ज्यान गुमाएपछि उक्त विद्यालय मशानघाटमा परिणत भयो । गाउँमा सन्नाटो फैलियो । हप्तादिन सम्म लास उठेनन्  । स्कुलका झ्याल ढोका र बस्ने ब्यान्च टेवुल लगायत भौतिक सम्पति तोडफोड भयो । तोडफोडबाट विद्यालयको २५ लाख रुपैंया वारबरको क्षति भएको थियो । भौतिक तथा मानवीय क्षेती हुँदा  समाज दिनप्रतिदिन विखण्डीत भयो। 

दर्जनौं मानिस जेलनेल खेपीरहेका छन् ।  विद्यालयमा पछिल्ला दिनहरुमा पठनपाठन अवरुद्ध हुँदै आएको छ । विद्यालय  र समाज अस्तब्यस्त हुँदा पनि प्रदेश  र संघीय सरकारबाट क्षेतीपूर्ती सम्मपनि पाएको छैन ।  दिनप्रतिदिन विद्यालयको वातावरण बिथोलिँदै जाँदा वालवालिकाको भविष्य विग्रन थालेको छ । 

   विद्यालयको शैक्षिक वातावरण बिथोलिएसँगै  दैनिकजसो बालबालिका बिरामी पर्ने गरेका छन्।दैनिक सर्प देखिदा स्थानीयले नाटेश्वरीमा पूजा गरी भाकल गरेका थियौं । गाउँमा शान्ति र सद्भाव  कायम गराउने भाकल अनुसार नै ज्ञान महायज्ञको आयोजना गरेका हौं, प्रअ प्रमराज पाध्यायले भने ।

            राजनीतिक आस्थाकै कारण २०७९को निर्वाचनमा स्थानीय दुईजना युवाले अकालमा ज्यान गुमाउनु परेपछि सो क्षेत्र असुरक्षित बन्दै गएको थियो । राजनीतिक आस्थाकै कारण गाउँमा पानी वारारको स्थिति पैदा भएको छ ।  गाउँमा भागाभागको स्थिति छ । अरुलाई बनाउन कति आपसमा लड्ने ? आपसमा मिलेर बस्नका लागि  गाउँमा शान्ति कायम गर्नु नै  महायज्ञको प्रमुख ध्यय हो स्थानीय युवा खेम मिजारले भने । ज्ञान तथा आरती भजन रेडियो बडिमालिका बाट प्रत्यक्ष प्रसारण भैरहेको छ। यसले पक्कै पनि सकारात्मक सन्देश ल्याउने छ बिकको भनाई छ । 

महायज्ञको पाँचौं दिन सम्म १० लाख रुपैंया बराबरको चन्दा संकलन भैसकेको छ। तुला दान ,अन्न दान रुद्री पूजा भैरहेको छ । उठेको दानबाट गुरु दक्षिणा, यज्ञ ब्यबस्थापन गरी  र बचेको रकम विद्यालयको खातामा जम्मा गरिनेछ । विद्यालयको  आर्थिक अवस्था पनि कमजोर छ । संकलति रकम विद्यालयको विकास काममा खर्च गरिनेछ ,नाटेश्वरी आधारभूत विद्यालयका अध्यक्ष रङ्ग रावतले भने ।  

      आठ दिन सम्म चल्ने महायज्ञको उद्घान निवर्तमान सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले गरेका थिए । समाजमा चौतर्फी  सकारात्मक सद्भाव फैलाउन र विद्यालयको सर्वाङ्गीण विकासमा सुदूरपश्चिम प्रदेश सरकारले विशेष कार्यक्रम बजेट सहित लगानी गर्ने छ, बाजुरा प्रदेश “ख” सभा सदस्य एवं ज्ञान विज्ञान महायज्ञका विशिष्ट अतिथि पदमबहादुर शाहीले भने ।