धादिङ।
१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका गल्छी गाउँपालिका–८ का २९ वर्षीय पूर्ण बहादुर भन्ने दीपक तामाङलाई जिल्ला अदालतले ०८१ मंसिर ५ गते जबरजस्ती करणी मुद्दालाई बालविवाहमा परिणत गरेको छ ।
जिल्ला न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासले जबरजस्ती करणी मुद्दालाई बालविवाहमा परिण गरी कसुर ठहर गर्दै कसुरदारलाई मुलुकी अपराध संहिता २०७४ दफा १७३ को १ बमोजिम एक वर्ष ६ महिना कैद गरी १५ हजार जरिवाना गर्ने फैसला गर्नुभएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले बताए ।
बालिकालाई ० ८१ वैशाख १३ र १४ गते बलात्कार गरेको आरोप लगाइ पीडित पक्षले वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएकोमा सोही दिन प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।
प्रहरी अनुसन्धानपछि जेठ २० गते जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा मुलुकी अपराध संहिता २०७४ दफा २१९ को ३ ख अनुसार जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो । सोही मुद्दामा जिल्ला अदालतका न्यायधिस गोपाल प्रसाद बास्तोलाको जेठ २१ गतेको इजलासले आरोपित तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएका थिए । पीडितको वैशाख २९ गते धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।
जिल्ला अदालतले गरेको फैसलामा ०८१ वैशाख १९ गते साथीको घरमा गएकी पीडित बालिकाले कसुरदारसंग विवाह गरेकोले र फोटो समेत विवाहको भएको तथा बालिका वयस्कतर्फ उन्मुख भएकोले बलात्कार नभई बालविवाह भएको ठहर गरेको श्रेस्तेदार भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया